लदीपूजा अर्थात् भाञ्जाले मामाको पूजा गर्दै माझी समुदाय
उदयपुरका माझीहरुले प्रसिद्ध कमला नदीको किनारमा साँस्कृतिक पर्वको रुपमा रहेको लदिपूजा सम्पन्न गरेका छन् । परापूर्वकालदेखि नै शिवरात्रीका दिन माझि समुदायले यो पर्व मनाउँदै आएका हुन् । साँस्कृतिक पहिचानको रुपमा रहेको लदिपूजा दैवी विपत्तिबाट सुरक्षित रहनको लागि मनाउने प्रचलन छ ।
यो पर्वमा नदी, खोलामा पूजा गर्ने, कला र संस्कृति झल्कने झाँकी समेत प्रदर्शन हुने गर्छ । हराउँदै गएको साँस्कृतिक प्रचलनलाई जोगाउन उदयपुरका माझीहरूले आज सामूहिक रुपमा यो पूजाको आयोजना गरेका हुन् । माझी भाषामा नदीलाई लदि भनिन्छ ।
जनजाति समुदायको रुपमा रहेको माझीहरुको जीवन नदीजन्य उत्पादनसँग जोडिएको छ । उनीहरुको परम्परागत पेशा माछा मार्ने रहँदै आएको छ । त्यसैले उनीहरु देवको रुपमा नदीको पूजा र प्रार्थना गर्छन् ।
माझीहरु उदयपुरको कमला, सुनकोशी नदी र तावा खोलाको किनारमा बस्दै आएका छन । र, माझी समुदायले नदीलाई मामा र माझिलाई भाञ्जाको नातासम्बन्धको रुपमा लिने चलन छ । त्यसैले पनि उक्त समुदायमा यो पर्वको विशेष महत्व छ ।
नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसायनै मुख्य पेशा भएकाले उनीहरुले आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । सो समुदायले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्ने मूल उद्देश्यका साथ यो पर्वको सामूहिक आयोजना गरिएको नेपाल माझी उत्थान संघ कटारीका संयोजक राजकुमार माझीले बताए ।
टिप्पणीहरू