डाक्टर बाठो हुँदा…

मन्त्रीको बद्नियतका कारण कतिपय क्षेत्र धराशायी बनेका उदाहरण छन् । त्यस्तै गरेको खुलासा छ, अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री बनेलगत्तै दुई वर्षअघि बिमा समितिका कार्यकारी अध्यक्षलाई बोलाएर तत्काल बिमा कानुनलाई आवश्यक संशोधन गर्ने प्रस्ताव तयार गर्न युवराजले आदेश दिए ।

समितिले हतार हतारमा प्रस्तावित संशोधन मस्यौदा विधेयक मन्त्रालयमा बुझायो । तर, मन्त्रीले तीन वर्षअघि नै धितोपत्र बोर्डका अध्यक्ष आफूपछिको केन्द्रीय बैंकको गभर्नर बनेको पनि देखेका थिए । सोहीबमोजिम छोरी–ज्वाइँलाई समितिको अध्यक्ष बनाउने र आगामी महिना खाली हुने गभर्नर पदमा नियुक्त गराउने प्रपञ्च रच्दै प्रस्तावित विधेयकलाई तोडमरोड गरिदिए । विधेयकको अन्त्यमा रहेको ‘खारेजी तथा बचाउ’ दफामा विद्यमान सञ्चालक समितिको सट्टा नयाँ सञ्चालक समिति बनाउने बुँदा थप्न लगाए र स्वीकृतिका लागि संसद्मा पठाइदिए । यसरी विधेयकको अन्त्यमा थपिएको दफाको रहस्य ‘राष्ट्र बैंकमा रहेका ज्वाइँ रामशरण खरेललाई समितिको अध्यक्ष बनाउने र दुई वर्षपछि उपनिर्देशकबाट सोझै गभर्नर बनाउने योग्यता पु¥याउने रहेको थियो’ स्रोतको दाबी छ ।

तर, तत्कालीन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराबाट नियुक्त समितिका अध्यक्ष पनि शक्तिकेन्द्रका नजिक थिए । चिरञ्जीवी चापागाईंलाई हटाउने अर्थमन्त्रीको कुटिल चाल बुझेपछि आफैंले नियुक्त गरेका व्यक्तिलाई रोक्न सभामुख महराले उक्त विधेयकलाई घर्रामै थन्क्याइदिए । अहिले दुई वर्षपछि उक्त विधेयक फेरि अर्थ समितिमा छलफलको लागि पठाइएको छ । मन्त्रीले आफ्नो कार्यकालमै उक्त विधेयक लागू गर्न प्रक्रिया अघि बढाइएको भनिए पनि समितिका अध्यक्षको जोडबलमा नयाँ सभामुखले प्रस्तावित संशोधन विधेयकलाई अर्थ समितिमा पठाइएको बुझिएको छ ।

डाक्टरी हिसाब
अर्थमन्त्री युवराज खतिवडाको विज्ञता बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारणमा हो । सामान्यतयाः विश्वभरका अर्थमन्त्रीको विज्ञता सरकारी वित्तमा हुने गरेको छ । तर, हाम्रो सन्दर्भमा भने ब्याजदर विज्ञले नै केन्द्रीय बैंकदेखि योजना आयोग र अर्थ मन्त्रालय सबै हाँके । खतिवडा गभर्नर हुँदा तत्कालीन समस्याग्रस्त ग्राण्ड बैंकलाई प्रभु बैंकमा गाभ्ने प्रक्रिया शुरु भयो । प्रभुले ग्राण्डलाई प्राप्ति गर्ने क्षणलाई तत्कालीन गभर्नरले पनि केही प्राप्तिको अवसर छोपे ।

विश्वमा अहिलेसम्म नगरिएको सूत्र प्रयोग गरेर ब्याजदर विज्ञले प्रभु बैंकको शेयरको भाउ १२० रुपैयाँ तोकिदिए । ग्राण्डको भने ६५ रुपैयाँ । त्यसबखत प्रभुको शेयरको भाउ १ सय रूपैयाँ तोकिदिएको भए ग्राण्डको शेयरको भाउ ४५ रूपैयाँ मात्र हुन्थ्यो । करोडौं कित्ताको शेयर कारोबारमा ६५ रूपैयाँको चलखेल भएपछि त्योबेलै डाक्टरी गणितको नयाँ व्याख्याले बजार राम्रै चर्चा पाएको थियो ।

टिप्पणीहरू