दिनहुँ क्विण्टलका क्विण्टल गाँजा तस्करी

दिनहुँ क्विण्टलका क्विण्टल गाँजा तस्करी

मकवानपुरमा पछिल्लो समयमा दिनहुँ तस्करी गर्न लागिएको अवस्थामा गाँजा फेला पर्न थालेको छ । कतिपय अवस्थामा प्रहरी सम्बन्धित व्यक्तिलाई समेत पक्रन सफल भएको देखिन्छ भने, कहिलेकाँही गाँजा मात्रै पक्रेको पाइनछ ।

हिजो पनि जिल्लाका फरक फरक स्थानमा गरेको चेकजाँचका क्रममा ठूलो परिमाणको गाँजासहित सवारी साधन र सम्बन्धित व्यक्तिलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

जिल्लाका प्रहरी नायव उपरीक्षक जयईश्वर रिमालका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र हेटौँडा १ स्थित चौकीटोल प्रहरी चौकीका प्रहरीको संयुक्त टोलीले सवारी जाँच गर्दा दुई सय केजी बढी गाँजा समातिएको छ ।

भीमफेदी गाउँपालिकाको भैँसेबाट वागमती प्रदेशको राजधानी हेटौँडा जाने क्रममा प्र ३–०१–०२३ च ५६४० नम्बरको पिकअप भ्यानबाट एक सय ६५ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाडी चालक हेटौँडा उपमहानगरपालिका १३ बस्ने अरबिन्द नेपाली र पिक अप भ्यानलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

हिजो बिहान पौने ३ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथर खोला हुँदै खयरघारीतर्फ शंकास्पद रुपमा पिठ्युँमा भारी बोकी हिँडिरहेको अवस्थामा एक सय केजी गाँजा र चार जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा धादिङको रोराङ्ग गाउँपालिका २ बस्ने वर्ष ३० को मानबहादुर चेपाङ, ३९ वर्षीया सन्तबहादुर चेपाङ, मकवानपुरको मनहरी गाउँपालिका ३ बस्ने वर्ष ५३ को वुद्धिबहादुर थिङ र चितवनको राप्ती नगरपालिका ११ बस्ने वर्ष ५५ को सञ्चबहादुर थिङ हुन् ।

उनीहरुले बोकेको भारीबारे सोधखोज गर्दा गाँजा फेला परेको थियो । पक्राउ परेकाहरुसँग आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

टिप्पणीहरू