सिद्धार्थनगरका सबै वडामा पाँच दलीय गठबन्धन हुने

सिद्धार्थनगरका सबै वडामा पाँच दलीय गठबन्धन हुने

रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ । आज नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको गठबन्धनमा आबद्ध पाँच दलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै सोका लागि नगर र वडातहसम्म तालमेल गर्ने निर्णय गरेको हो ।

सिद्धार्थ नगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने नेपाली कांग्रेस नगर सभापति कोसिस बहादुर खड्काले बताए । ‘नगरपालिकाको १३ वटै वडामा चुनावी तालमेल हुन्छ,’ उनले भने । सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको नगरस्तरीय संयुक्त बैठकले चुनावी संयन्त्र निर्माण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको खडकाले बताए ।

बैठकपछि कांग्रेस नगर सभापति खड्का, माओवादी केन्द्रका नगर इन्चार्ज फैज अहमद खाँन, एकीकृत समाजवादीका नगर अध्यक्ष रामबहादुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन गर्ने जानकारी गराएका हुन् । विज्ञप्तिमा गठबन्धनमा आबद्ध दलबीच गठबन्धनको मर्म र भावनाअनुरूप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै स्थानीय तहको निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने उल्लेख छ ।

बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ नगर नगरपालिकाका सबै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए ।

गत स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरमा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । नगरपालिकामा बलियो उपस्थिति रहेको राप्रपा तेस्रो हुँदा काँग्रेस दोस्रो र माओवादी चौंथो भएको थियो । १३ वटा वडा रहेको नगरपालिकामा कांग्रेस र एमालेले समान ६-६ वडा जित्दा तत्कालीन संघीय समाजवादी फोरमले एउटा जितेको थियो ।

टिप्पणीहरू