केबलकार शिलान्यासपछि हानाहान, चारजना सिकिस्त
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार शिलान्यासका क्रममा ढुंगा हानाहान हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
फुङलिङ नगरपालिका–१० स्थित पाथीभरा केबलकार शिलान्यासको विषयमा दुई पक्षबीच उत्पन्न विवादले उग्ररुप लिँदा कुटाकुट भएको बताइन्छ । घटनामा स्थानीय चन्द्र मादेन, दामोदर अधिकारी, कुमार शेर्पा र अर्जुन लिम्बु घाइते भएका छन् ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि मादेनलाई त्यहाँबाट अन्यत्र रिफर गरिएको छ । अन्य दुई जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपका क्रममा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रदर्शनकारीले पर्यटन प्रहरीको भवनमा तोडफोड गरेको बताइन्छ ।
‘त्यहाँ एक पक्ष केबलकार बनाउनुहुन्न भन्नेमा रहेछन् । शिलान्यास गरिसकेपछि उनीहरु विरोधमा उत्रिए । ढुंगामुढापछि हामीले प्रहरी बोलायौं, तर पनि झडप भयो । गम्भीर घाइते भएका चार जनामध्ये एक डिस्चार्ज भइसकेका छन् । अन्यको उपचार भइरहेको छ । सुरक्षाकर्मीहरु पनि घाइते भएका छन् । पर्यटन प्रहरीको भवनमा तोडफोड गरिएको छ,’ उनले भने ।
नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाका अनुसार अहिले स्थिति सामान्य भइसकेको छ । पुनः झडप हुन सक्ने भएकाले प्रहरी घटनास्थलमै खटिएको छ ।
‘पहिचानवादीहरु कतिबेला हामीहरु आउँछौं भनेर अग्लो ठाउँमा बसिरहेका रहेछन्,’ उनले भनिन्, ‘त्यहाँ पुग्नेबित्तिकै ढुंगाले हान्न थाले । अहिले अवस्था सामान्य भइसकेको छ । पुनः झडप हुन सक्ने देखिएपछि प्रहरी टोली त्यहीँ खटिएको छ ।’
टिप्पणीहरू