राप्रपाले उपचुनाव एक्लै लड्ने, केन्द्रीय नेता 'चुनावी कमाण्डर'

राप्रपाले उपचुनाव एक्लै लड्ने, केन्द्रीय नेता 'चुनावी कमाण्डर'

पूर्वपञ्चहरुको पार्टी राप्रपा आसन्न उपनिर्वाचनको तयारीमा जुटेको छ । एकल प्रतिष्पर्धामा उत्रने निर्णय गरेको राप्रपाले केन्द्रीय पदाधिकारीको कमाण्डमा तयारी अघि बढाएको हो । 

निर्वाचन प्रचार प्रसारलाई गति दिन स्थानीय तहसम्मै पदाधिकारी खटाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले कीर्तिपुर नगरपालिकालाई मुख्य प्राथमिकतामा राखेर उपचुनाव हुने अन्य स्थानीय तहमा पनि परिणाम हात पार्ने रणनीति बनाएको छ । 

कीर्तिपुरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाएको राप्रपाले त्यहाँ प्रवक्ता ज्ञानबहादुर शाहीलाई चुनावी कमाण्डर तोकेको छ । त्यस्तै, दैलेखको महाबु गाउँपालिकमा महामन्त्री कुन्ती शाही खटिने छिन् । त्यहाँ अध्यक्ष पदमा उपचुनाव हुँदैछ । 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा महामन्त्री प्रल्हाद साह खटिने छन् । उनलाई सुनसरीको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष जिताउने जिम्मासमेत दिइएको छ । 

झापाको कन्काइ नगरपालिका–६ मा वडाध्यक्षका लागि हुने उपचुनावमा भक्ति सिटौला खट्ने छन् । कोषाध्यक्ष शोभित उप्रेतीलाई दोलखाको गौरीशंकर गाउँपालिकाको जिम्मा दिइएको छ । त्यहाँ रिक्त उपाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । 

जाजरकोटको नलगाड नगरपालिकामा सहमहामन्त्री शौरेन्द्रबहादुर शाह र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा महामन्त्री धवलशमशेर जबरालाई खटाउने राप्रपाको निर्णय छ ।  

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष जिताउने जिम्मा महामन्त्री राजेन्द्र गुरुङले पाएका छन् । काठमाडौं महानगर–१६ मा सहमहामन्त्री प्रकाश रिमाल खटिने छन् ।

राप्रपाले यीबाहेक अन्य ठाउँमा भने अझैँ उम्मेदवार छनोट गरेको छैन । प्रवक्ता श्रेष्ठले अबको केही दिनमै सबै उम्मेदवार टुंगोमा पुर्याउने बताएका छन् । 

मङ्सिर १६ गते विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी रिक्त ४४ पदमा हुने उपचुनावका लागि मंसिर २ गते मनोनयन दर्ताको मिति तोकिएको छ 

सो समयसीमा नजिकिएसँगै दलहरु उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

टिप्पणीहरू