त्रिभुवन विमानस्थलमा १५ अर्ब खर्च गरिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रातको समयमा दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे विस्तारसहित विमानस्थल स्तरोन्नतिका लागि उडान अवधि कटौती गरेको हो ।
त्रिभुवन विमानस्थल हिजोसम्म दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको थियो । आगामी चैतसम्म राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द गर्न लागिएको छ ।
हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको पूर्वतर्फ ह्याङ्गर एप्रोन, दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सीवे, उत्तरतर्फको इन्टरनेशनल एप्रोन विस्तार गर्न लागेको छ । त्यसनिम्ति राति १० देखि बिहान ८ बजेसम्म आन्तरिक तथा वाह्य उडान कटौती गरिएको प्राधिकरणलले जनाएको छ ।
विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार सुरक्षामा खतरा उत्पन्न हुन नदिन उडान बन्द गरिएको हो ।
आयोजनाका अनुसार विमानस्थलको स्तरोन्नति पूरा गर्न १५ अर्ब खर्च अनुमान गरिएको छ । आजभन्दा करिब चार वर्ष पहिले विमास्थलको धावनमार्ग विस्तार गरिएको थियो । त्यतिबेला हरेक दिन बेलुकी ६ देखि बिहान ६ बजेसम्म उडान बन्द थियो ।
टिप्पणीहरू