एलन मस्कको कम्पनीलाई जवाफ दिनुअघि सरकार आन्तरिक छलफलमा
विश्वकै सर्वाधिक धनी एलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि अनुमति मागेको छ ।
नेपालमा इन्टरनेट सेवा शुरु गर्ने इच्छा जाहेर गर्दै स्टारलिंकले सहज वातावरण बनाइदिन सरकारसँग सहयोग मागेको हो । कम्पनीको प्रतिनिधिमण्डलले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर इन्टरनेट सेवाको डेमोसमेत देखाएको बुझिएको छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले स्टारलिंकका डिभाइस, टुल्स र तिव्रताबारे चासो राख्नुभएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार भेटमा स्टारलिंकका प्रतिनिधिले तीव्र गतिको इन्टरनेटले नेपाली नागरिकको दैनिक गतिविधिलाई सहज बनाउने विश्वास प्रधानमन्त्रीलाई दिलाएका थिए । साथै, भविष्यमा अन्य सेवाहरु शुरु गर्ने उनीहरुको योजना छ ।
प्रधानमन्त्री ओलीले सरकारले आन्तरिक छलफल गरेर ठोस जवाफ दिने बताउनुभयो । प्रधानमन्त्री कार्यालयका ती कर्मचारीले सुनाए, ‘उनीहरुको कुराबाट यो सामान्य प्रविधिको बिजनेस जस्तो देखिए पनि धेरै कुराहरु जोडिएका हुन्छन् । यसमा विशुद्ध व्यवसाय मात्र नभएर भूराजनीति पनि गाँसिएको हुन्छ । सायद त्यसैले होला, प्रधानमन्त्रीले तत्कालको लागि कुनै ठोस निर्णय दिनुभएको छैन ।’
ती कर्मचारीका अनुसार भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सहभागी हुनुहुन्थ्यो । उहाँले कम्पनीको रणनीति, सेवा विस्तार भएका देशमा इन्टरनेटको स्तर, प्राविधिक सुरक्षालगायतको बारेमा स्पष्ट नहुँदासम्म सरकारले अनुमति दिन नसक्ने बताउनुभएको थियो ।
स्मरण रहोस्, स्टारलिंक स्पेसएक्स अन्तर्गतको एक कम्पनी हो । अहिले नेपालमा प्रयोग हुँदै आइरहेका वर्ल्र्डलिंक, भाइबर नेट, सिजी नेटजस्तै स्टारलिंकले विभिन्न देशमा आफ्नै स्याटेलाइटमार्फत् इन्टरेनट सेवा विस्तार गरिरहेको छ ।
संसारकै सबैभन्दा तीव्र गतिको इनटरनेट भएको समेत स्टारलिंकको दावी छ ।
टिप्पणीहरू