उपचुनावमा तालमेल गर्ने प्रमुख दलको तयारी

उपचुनावमा तालमेल गर्ने प्रमुख दलको तयारी

नेकपा एकीकृत समाजवादीले आसन्न उपनिर्वाचनमा सत्ता गठबन्धनमा नभएका दलहरुसँग तालमेल गर्ने भएको छ । यसअघि एक्लै चुनाव लड्ने दाबी गर्दै आएको उसले स्थानीय अवस्थालाई हेरेर तालमेल गर्ने रणनीति लिएको हो । 

महासचिव घनश्याम भुसालले चुनाव हुने स्थानीय तहमा पार्टीको स्थिति, विभिन्न उम्मेदवारहरुको अवस्था र अन्य दलसँग तालमेल गर्न सकिने वा नसकिने सम्भावनाबारे तथ्यपरक विश्लेषण गर्न तल्लो तहका कमिटीहरुलाई निर्देशन दिएका छन् । कात्तिक २५ गतेसम्म  उम्मेदवार टुंगो लगाउने तयारीका साथ सो पार्टीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वमा 'उपनिर्वाचन परिचालन कमिटी' गठन गरेको छ । उक्त कमिटीले उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएकाे छ । 

मङ्सिर १६ गते विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ पदमा हुने उपचुनावका लागि मंसिर २ गते मनोनयन दर्ताको मिति तोकिएको छ । सो समयसीमा नजिकिएसँगै दलहरु उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका छन् । 

तर, एकीकृत समाजवादीले भने एक्लै चुनाव लड्ने कि तालमेल गर्ने भन्ने निर्णय गर्न नसक्दा उम्मेदवारको नाम टुंगो लगाउन सकेको छैन । सो पार्टी स्रोतका अनुसार माओवादी केन्द्रसँग तालमेल गरेर १० पदमा मात्रै उम्मेदवारी दिने र परिणाम पक्षमा पार्ने आन्तरिक तयारी छ । उपमहासचिव जगन्नाथ खतिवडाले पनि माओवादीसँग मिलेर चुनाव लड्ने सम्भावना रहेको बताए । 

एकल चुनावी प्रतिस्पर्धामा जाँदा परिणाम सुखद नआउने भएकाले तालमेलको तयारी गरेको उनी बताउँछन् । ‘उपनिर्वाचनमा सकभर कसैसँग तालमेल नगर्ने भन्ने नै थियो । हामीले भर्खर–भर्खर पार्टीलाई जीवन दिन थालेका छौँ । यस्तोबेला जनमत परीक्षणको अवसर आएको छ । तर, पनि हामी माओवादीसँग चुनावी एकता गर्न सक्छौँ’, उनले भने । 

उपनिर्वाचनका लागि गत भदौमा सो पार्टीले जित्न सक्ने ठाउँ पहिचान गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो । त्यसअघि महासचिव भुसालले निर्वाचन मिति घोषणाअगावै गत निर्वाचनमा छुटेका मतदाताको नामावली अध्यावधिक गर्नसमेत सर्कुलर गरेका थिए । 

महासचिवको उक्त सर्कुलरअनुसार प्रदेश र स्थानीय तहका कमिटीहरुले केन्द्रमा जानकारी पठाइसकेको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘पार्टी महासचिवको निर्देशन र सर्कुलरअनुसार प्रदेश र स्थानीय तहका समिटीहरुबाट प्राप्त जानकारीका आधारमा कुन–कुन क्षेत्रमा एकल उम्मेदवारी दिने भन्ने निर्णय पार्टीले गर्छ,’ उनले भने, ‘प्राप्त जानकारीका आधारमा कहाँ–कहाँ तालमेल गर्नेबारे निर्णय हुन्छ । यदि हामीले चुनावी तालमेल गर्नुपर्ने देखिएको क्षेत्रमा आवश्यकता अनुसार माओवादीसँग तालमेल हुनसक्छ ।’ 

एकल उम्मेदवारी दिने वा तालमेल गर्नेबारे कात्तिक २५ गते टुंगो लगाउने उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले बताए । एकीकृत समाजवादी मात्र होइन, एक्लै चुनाव लड्ने निर्णय गरेका प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र पनि तालमेलकै मुडमा देखिएका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले 'स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन हुनसक्ने' भन्दै तालमेलको बाटाे खुला राखेको छ । 

उपचुनाव हुने कीर्तिपुर नगरपालिकाको मेयरसहित दुबै वडाध्यक्ष पदमा उम्मेदवार तय गरेको उसले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा भने अहिलेसम्म चयन गरेको छैन । कीर्तिपुरमा एकीकृत समाजवादीले सघाए काठमाडौँ-१६ छोड्न सकिने माओवादी केन्द्रका एक नेताले बताए ।    

यता, सत्ता सहकार्यमा रहेका कांग्रेस र एमाले पनि माओवादीको प्रभाव क्षेत्र रुकुम-पूर्वमा तालमेलको तयारीमा रहेको बताइन्छ ।

टिप्पणीहरू