भोकमरीबाट बच्न आत्मनिर्भर कृषि
आज विश्वनै कोरोना भाइरसको महामारीबाट प्रताडित छ । विकसित भनिएका देश नै रोकथाम, परीक्षण र बिरामीको अस्पतालीकरणमा असफलजस्तै देखिएका छन् । हाम्रो देशमा पनि उच्च सर्तकताका साथै पूरै देश दुई सातादेखि बन्दाबन्दी छ । यातायात, आयात निर्यात, स्कुल र विश्वविद्यालय, उद्योग कलकारखाना, होटल तथा कम्पनी, फर्महरु पनि बन्द छन् । कोरोनाको कहरले विश्व मानव समुदायका साथै नेपालका हामीलाई पनि केही महत्वपूर्ण पाठ सिकाएको छ । हाललाई वैशाख ३ सम्मको बन्दाबन्दी अझ कति लम्बिने हो थाहा छैन । तर यातायात र आयात बन्द हुँदा हामीमाझ बाध्यताकै रुपमा भए पनि देशकै किसान र कृषि क्षेत्रमै भर पर्नुपर्ने अवस्था सृजना भइसकेको छ । बन्दाबन्दी लम्बिएमा मुख्य गरी साना किसान र आत्मनिर्भर कृषि नै नेपाली जनताको बाँच्ने प्रमुख आधार हुनेमा दुईमत छैन ।
हेयमा कृषि कर्म र किसान वर्ग
हामीमाझ छर्लङ्ग कुरा हो केही समयदेखि कृषि पेशा रोजाइको होइन विकर्षणको क्षेत्र बनेको छ । त्यसैले पनि ग्रामीण आत्मनिर्भर किसानलाई नपढेका, अन्य सिप भएका, रोगजारीका लागि विदेश जान लगानी गर्न नसकेका र विकल्प नभएका व्यक्तिहरूकै रुपमै हेरिन्छ । मुख्यगरी जीवन निर्वाह वा पारिवारिक गुजाराको लागि खेती गर्नेलाई त किसानकै रुपमा हेरिँदैन । नेपालका नवउदारवादी कृषि नीति र त्यस्तै एजेण्डा बोकेका नीति–निर्माता र कर्मचारीतन्त्रका कारण लगभग ८०% संख्यामा रहेका (कृषकको जम्मा संख्या मध्ये) र दुईतिहाइ बढी उत्पादनमा योगदान गर्ने जीवीकोपार्जनका लागि खेती गर्ने किसानलाई राज्यका लगभग सबै अनुदान, ऋणका साथै अन्य महत्वपूर्ण सुविधाबाट वन्चित गरिएको छ ।
स्पष्ट कुरा दर्ता प्रमाणीकरण तथा निवेदन र प्रस्तावनाकै आधारमा सेवा सुविधा वाँडफाँड गरिन्छ । त्यसैले व्यापारिक केही किसान मात्र त्यस्ता सेवाका लागि योग्य ठहरीन्छन् । कृषिका समस्या, बढ्दो परनिर्भरता, कृषि भूमिको क्षयीकरण तथा बाझिनेक्रम र कृषिबाट विकर्षणलाई हेर्दा सजिलै यी नितीकै कारण कृषि क्षेत्र विकास भन्दा पनि विनाशकै दिशामा अघि बढेको मान्न सकिन्छ ।
आधुनिक, व्यापारिक र औद्योगिक किसानका समस्या
मुख्य गरी आधुनिक, व्यापारिक र औद्योगिक कृषि (जुन हाम्रो देशको वस्तुस्थिति र जनचाहना नबुझी पुँजिवादी देशबाट नक्कल गरी माथिबाट किसानमा जर्वजस्ती लादियोे भनी कृषि पर्यावरणकर्मी भन्दछन्) अहिले बन्दाबन्दीका कारण समस्यमा छन् । हुन त चाहे त्यो नाकाबन्दी होस् या अहिले जस्तो महामारी होस् या नेपाल बन्दका श्रृंखला, आदी सवैले यस्तो कृषि बढी प्रभावित हुन्छन् । यसको कारण विभिन्न छन् । दाना नभई गाई फार्म, कुखुरा फार्म चल्न सक्नैनन् । त्यसमा काम गर्ने बाह्य श्रमीक पनि चाहिन्छन् । बजारीकरणका लागि यातायात आवश्यक हुन्छ । यी फर्महरु बजारमा निर्भर रहन्छन् र उपभोक्ताका लागि उत्पादन गर्दछन् ।
यिनीहरु बाह्य वस्तुको प्रयोगमा धेरै निर्भर हुन्छ । यस्ता फार्मले प्राय एकै प्रकारको वस्तु उत्पादन गर्दछन् । जस्तो दूध, अण्डा, मासु, टमाटर या च्याऊ । अझ सबै कृषि फर्मले खाद्य पदार्थ उत्पादन गर्दैनन् जस्तो कि रेशम खेती वा घ्युकुमारी खेती । त्यसैले आधुनिक, रासायनिक, औद्योगिक खेती यो संकटमा चल्न हम्मे हम्मे पर्ने छ । आनुवांशिक र ठिमाहा बीउ, रसायनिक मल, त्यसका लागि आवश्यक विषादी, हाार्मोन र भिटामीन, औजार उपकरण, प्राविधिक सहायता, बाह्य श्रमिक आदीको उपलब्धताको कठिनाईले गर्दा अहिलेको अवस्थामा यस्तो उत्पादन कठिन छ । अनि अर्को सत्य यस्तो कृषिले जनताको खाद्यको विविध मागलाई पुरा गर्न कठिन पर्दछ किनकि हामी खानामा दाल, भात तरकारी, मरमसला सहीत विविध परिकार लिने गर्दछौं तर यस्तो कृषिमा प्राय एक उत्पादन गरिन्छ ।
साना किसान र आत्मनिर्भर कृषि नै किन ?
हामी यहाँ किसानकै रुपमा नलिइएका तथा सधै गुजारामुखी भनेर अपहेलित कृषिको महत्व के छ भन्ने चर्चा गर्न खोज्दै छौं । यो खासमा आत्मनिर्भर कृषि हो । पर्यावरणीय कृषि । अव सोचौं अहिलेको महामारीको परिवेश । कृषिलाई अत्यावश्यक सेवा र प्राथमिक क्षेत्रको रुपमा घोषणा गर्न दवाव आइरहेको छ र त्यो हुनैपर्दछ । सवैतर्फबाट किसानलाई राहत र छुटका कार्यक्रमको माग आइरहेको छ र त्यो पनि होला । तर यस्तो माहामारी फैलदै जाँदा तथा अझ कडाइका साथ बन्दाबन्दीहुँदा पूर्वको उत्पादन पश्चीम पु¥याउन तथा त्यसमा आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाउन कति कठिन होला हामी अनुमान गर्न सक्दछौं । यो त दोस्रो कुरा भयो । यस्तै अवस्था लम्बिँदा आउने परिस्थीतीमा व्यवसायिक फर्महरुले आफ्नो उत्पादन कठिनाइबिना गरिरहन सक्लान् र ? यो निकै गम्भिर सवाल छ । तर हामीसँग विकल्प पनि छ । ठूलो जनसंख्या आत्मनिर्भर जसलाई जीवन निर्वाहमुखी वा गुजाराप्रणाली खेती पनि भनिन्छ, यस्तो कृषिमा छन् । यही नै हाम्रो बाच्ने ठूलो आशा र आधार बन्न सक्छ ।
गुजारामुखी कृषि कसरी हाम्रो आशा बन्यो ?
सत्य हो । आत्मनिर्भर कृषि, बहुवाली प्रणाली, पर्यावरणीय कृषि तथा पारिवारिक कृषि नै अव हाम्रो बाच्ने आधार हो । । बहुसंख्यक नेपाली किसान आफुलाई आवश्यक मुख्य खाद्यान्न आफै उत्पादन गर्दै छन् । यी किसान लामो समयदेखि आत्मनिर्भर भई संभव भएका सवै वालीनाली तथा खाद्यान्न उत्पादन गर्दैै आएका छन् । त्यसकारण बन्दाबन्दीले त्यो कृषि प्रणालीको चक्रमा खासै प्रभाव पर्दैन । तथापी यो साँचो हो की तीमध्ये नै धेरै सिमान्तीकृत, विपन्न, वर्षभरी खान नपुग्ने समुदायमा पर्दछन् । तर यी किसानलाई सिध्याएर अर्कै कृषि लाद्नेलाई भने अव यो कृषिको महत्व भान भएको हुनुपर्छ । अव बन्दाबन्दी बढ्ने हो भने ती किसान बाहेक अन्य विकल्प छैन । ती किसानलाई प्रर्वर्धन, सम्मान र प्रोत्साहन गरेमा उत्पादन बढाउन तथा स्थानीय माग अनुसारकै उत्पादनमा लगाउन सकिन्छ । नेपालमा खाद्य सम्प्रभुताको संविधानीकरणले पनि स्थानीय खाद्य प्रणाली र पर्यावरणीय कृषिको प्रत्याभुत गर्दछ । त्यसैले संकट र महामारीमा मात्र कृषि क्षेत्र र साना किसानलाई सम्झने होइन । अव यो कुरा बुझ्न आवश्यक छ की चलीआएको मिश्रीत बहुवाली पारिवारिक कृषि, पशुपालन, फलफूल र मसलाखेती हाम्रो बाच्ने मात्र होइन अर्थतन्त्रको बलियो आधार हो र यसलाई बढावा दिने अवसर मिलेको छ ।
त्यसो भए अबको बाटो कुन ?
नआओस् । तर लामो समय बन्दाबन्दीमा देश र विश्व बस्नुपरेमा अनेकन संकटमध्ये भोकमरीको महामारी नआउला भन्न सकिन्न । विदेशिएका केही गाउँ फर्केका छन् र अरु पनि केही आउलान् । आयात ठप्प छ । के थाहा अव बाझिएका खेत वारी कोतर्ने दिन आउन सक्छ । अब दर्ता गरेका वार्खा पाल्ने वा च्याउ खेतीगर्नेलाई मात्र किसान मानेर पुग्नेवाला छैन । आत्मनिर्भर विविधवालीको खेती गरेका किसानलाई अझ बढी उत्पादन गर्न प्रोत्साहन गर्ने तथा समुदायमा खाद्यान्न विउविजनको आदानप्रदानले समुदायको आवश्यकता परिपूर्ति गर्नुपर्ने छ । उत्पादन शहरकै आसपास पनि भएको छ । त्यसबाट नजिकका उपभोक्ताको माग धान्न सकन्छि ।
अनि आत्म निर्भर कृषि र व्यवसायिक कृषिको उदेश्य र लक्ष एउटै हो र हुनुपर्छ । हाम्रा निति निर्माणकर्ताले नबुझेको के भने कृषि आत्मनिर्भर बन्दै व्यवसायिक हुने हो । यहीँनिर हाम्रो विधि प्रकृया उल्टो भयो । माथिबाट तल वा लादिएको विकास । कुन किसान होला जो कृषिबाटै आम्दानी र रोजगारी सृजना गर्ने सोच नभएको होस् । त्यसैले यहाँ कृषि विकासको आन्तरिक, स्थानीय, दिगो र तलबाट माथि जाने प्रकृयाको कुरा हुँदै छ । एकल खेती प्रणाली होइन पारिवारिक र मिश्रीत खेतीबाट पनि उत्पादकत्व बढाउने, लागत घटाउने तथा बढी फाइदा लिन सकिन्छ भन्न खोजेको हो । त्यसैले परम्परागत कृषिलाई कृषिपर्यावरणीय, विशिष्टीकृत र उद्यमशील बनाउर्दै आम्दानी र रोजगारीको माध्यम बनाउन आवश्यक छ । व्यवसायिक कृषिको कुरा गर्दा कृषि उद्यमशीलता, मागका आधारमा आपुर्ति, मुख्य श्रृंखला तथा कृषिबाट आम्दानीको कुरा गर्न आवश्यक छ नकी नाफा ।
विगतका गल्ती नदोहो¥याँऔं
नेपालको कृषिमा आधुनिकीकरणको शुरुवात् हरित क्रान्तिबाट भयो । त्यसको निरन्तरता उदार नीति तथा हालका आनुवांशिक क्रान्तिका नाममा हुँदै छ । यसरी परम्परागत कृषिलाई विस्तापन गर्ने तथा हामीलाई पूर्ण रुपमा परनिर्भर बनाउने कामको सुरुवात् भयो । त्यसै गरी कृषिको व्यापारिकरण गर्ने, नीजि लगानीकर्ता वा कम्पनीहरुलाई कृषिमा भित्राउने तथा कृषिलाई पनि अन्य उद्योग सरह विकास गर्ने नाममा कृषिको नवउदारीकरण तथा बहुदेशिय निगम तथा कम्पनीहरुलाई भित्राएर भयङकर मेशिन उपकरणको प्रयोग गरी खेती गर्ने ठुला ठुला कुरा गरि सम्पुर्ण व्यक्तिहरु झुक्याउन थालियो । त्यसैले आधुनिकीकरण नाममा यहाँको स्थानीय स्रोत, ज्ञान र विविधता विस्तापन गर्न दिइनुहुँदैन । व्यावसायिकताको नाममा किसानमाथि रिण थोपार्ने र धेरै लागत लाग्ने खेती लाद्ने र परनिर्भरता बढाउने कार्य सरासर गलत छ ।
कृषिबाटै देशको समृद्धि संभव
कृषि नै बहुसंख्यक जनताको जिवीकोपार्जनको आधार रहेकोे संदर्भमा कृषि क्षेत्रलाई आम्दानी र रोजगारीको स्रोत बनाउन सके जनताको जीवनमा तत्काल सकारात्मक परिवर्तन ल्याउन संभव छ । यसको मतलव ति सवैलाई कृषि पेशामा लगाउने वा कृषि बाहेकका विकल्प छैनन् भन्ने होइन । कृषिमा आश्रीत जनसंख्या घट्दो छ र पेशामा विविधता हुनु बलीयो अर्थतन्त्रको आधार पनि हो । तर स्थानीय रुपमा कृषिको विकास हुँदै गर्दा कृषि उद्यम र मुल्य श्रृङखलामा ठूलो जनसंख्याको संलग्नता हुँदै जान्छ । यससँगै सम्वन्धीत उद्योग, पर्यटन लगायतका क्षेत्रको पनि विकासको हुन्छ । हाम्रो देशमा जडीवुटी, पशुपालन, फलफुलखेतीका अनेकन संभावना छन् । त्यसकारण पहाडी कृषि, आत्मनिर्भर बहुवाली मिश्रीत र पारिवारिक कृषि नेपालको लागि समस्या होइनन् संभावना हुन् । हाम्रा संस्कार, चाड र परम्परागत संस्थाले कृषिको विकासलाई सहज बनाउछ । कृषिको विकासका लागि ठुला योजना, अरवौ लगानी वा विदेशी कम्पनी खोज्ने होइन नेपालको कृषिलाई आत्मनिर्भर र सम्प्रभुताको दिशामा लग्नुपर्दछ । यदि साचो अर्थमा कृषिलाई आत्मनिर्भरता तर्फ लग्नेबारे सोच्ने हो भने प्रतिस्पर्धामा गएर भारत र चीनलाई उत्पादन र नाफामा उछीनेर नाफा कमाउने भनी किसानलाई दवाव दिनुको साटो तुलनात्मक लाभका बस्तु उत्पादन गर्ने तथा यहाँको विविधताबाट फाइदा लिने तर्फ सोच्नुपर्दछ । आत्मनिर्भर कृषिले पनि नेपालको अरवौं व्यापार घाटा कम गर्न सक्छ । त्यहि आरबौंबाट देशको विकास र जनताको समृद्धि सम्भव छ ।
अब जीवननीर्वाहमुखी होइन आत्मनिर्भर र पर्यावरणीय कृषि भनौं । अहिले नेपालका तमाम परिवारको लागि खेती गर्ने किसानलाई सम्मान गर्ने बेला हो । अब पनि कृषि क्षेत्र र मुख्य गरी जीवननीर्वाहमुखी खेतीलाई हेयको दृष्टिले हेर्ने गरेमा आज सम्म संकटमा मात्र सम्झने यी वर्ग फेरि अर्को संकटमा लोप भईसक्ने छ । आशा गरौं गाउँका बाझिएका खेतबारी फेरि जोतीने छन् । आत्मनिर्भर कृषिबारे हाम्रो दृष्टिकोण बदलिने छ । कृषि अव पर्यावरणीय हुने छ । स्थानीय खाद्य प्रणाली मार्फत खाद्य सम्प्रभुताको दिशामा हामी अघि बढ्ने छौं ।
(पोखरेल किसान अधिकारकर्मी तथा कृषिको समाजवादी रुपान्तरण पुस्तकका लेखक हुन्)
टिप्पणीहरू