आफूलाई नपरी चेत्दैन मान्छे !

विश्वमा कोरोना संक्रमण दिनदिनै बढेको बढ्यै छ । मानिसहरु मरेको म¥यै छन् । तर संकट जसलाई प¥यो, प¥यो जस्तो ! हुन त मान्छेको स्वभाव नै यस्तो कि आफू स्वयम्लाई नपरेसम्म चेत्दैन । यस्तै भइरहेछ नेपालमा । खासै धेरै जनामा संक्रमण फैलिइसकेको छैन । तर केही दिन अघिको स्थितिलाई हेर्दा तुलनात्मक रुपले संक्रमितहरु यहाँ पनि बढ्दैछन् । जे भएपनि नेपालमा अहिलेसम्म कोभिड १९ ले नै कसैको ज्यान गएको पुष्टि भइसकेको छैन ।

त्यसैले कैयौं मान्छेहरु निष्फिक्री हिँडिरहेको देखिन्छ । दिनहुँ लकडाउन उल्लंघन गरेबापत् सयौं मानिसहरु प्रहरी कारबाहीमा परेको घटनाले देखाउँछ कि हामीले कोरोनालाई कति हल्का रुपमा लिएका छौं ? मुख्य सडक, बजारतिर नजानेहरु पनि गाउँघर तथा टोल–छिमेकमा खुलेआम हिँडिरहेको पाइन्छ । परस्परमा कायम राख्नुपर्ने दूरीको कुनै मतलब नै छैन ! मानिसहरु वल्लो घर–पल्लो घर निर्वाध रुपमा आउजाउ गरिरहेका छन् । पसलहरुमा भीडभाड उत्तिकै देखिन्छ, ठेलामा तरकारी आउँदा मानिसहरु झुम्मिएकै छन् । एकै ठाउँमा भेला भएर गफिनु, तास, क्यारेम लगायत खेल खेल्नुलाई मानिसहरुले सामान्य ठानिरहेका छन् ।

स्यानिटाइजरको त कुरै छाडौं मास्क पनि भो पर्दैन जस्तो गरिरा’छन् । नढाँटीकन भनौं त हरेक दिन पटक–पटक साबुनपानीले हात मिचीमिची धुनुपर्ने कुरा कतिले व्यवहारमा उतारेका छौं ? नेपालमा पछिल्लो समय देखिएको कोरोना रिपोर्ट र मान्छेहरुको लापरबाहीपूर्ण गतिविधि हेर्दा यसले भोलिको दिनमा महामारीको रुप नलेला भन्न सकिँदैन । अनि जुन दिन आफ्ना परिवार र आफू स्वयम् कोरोना संक्रमित हुन्छन्, आफन्तको मृत्यु हुन्छ, त्यतिखेर नै मानिसको चेत खुल्ने हो कि !

विश्वमा करिब सवा लाख मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ । मृतकका परिवार शोकाकुल छन् । लाखौं जन संक्रमित भएर जीवन–मरणको दोसाँधमा छटपटाइरहेका छन् । संक्रमितहरु बढ्दै गएपछि नेपालमा पनि लकडाउन थपिँदै गएको यसावस्थामा कैयौं मानिसलाई रोगकासाथै भोकसँग पनि जुध्नुपर्ने परिस्थिति खडा भएको छ । साँच्चै निम्न वर्गीय परिवारका मानिसहरु अहिलेको स्थितिमा साह्रै मर्माहत छन् । राज्यस्तरबाट वितरण भएको १०/१५ किलो चामलले कति दिन थेगिएलान् ? तर हुने खानेहरुले मीठो मसिनो खाएकै छन् । धनीको घरमा मासु पाक्न छोडेको छैन । लकडाउनले काम ठप्प भई खर्च सकिएर राजधानी लगायतका ठाउँबाट मान्छेहरु ३/४ दिन, ५/७ दिन वा अझ बढी पैदल हिँडेर आफ्नो गाउँ–घर गइरहेका छन् । त्यसरी हिँड्नेको व्यथा अरुलाई के थाहा ? वल्लो घरमा मान्छे मरेर किरिया बसिरहँदा पल्लो घरमा बिहेको भतेर चलिरहेको हुन्छ । यस्तो छ हाम्रो समाज, जसलाई प¥यो, प¥यो !

अरु त अरु पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको दिन मासु पकाएको भिडियो भाइरल भयो । हुन पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय विपद्को यस घडीमा प्रचण्ड जस्तो नेताले मासु पकाएर खानु सुहाउँदो कुरोचाहिँ होइन । सुनिएको कुरा, पहिलेका कुनै राजा जनताको धुरीबाट धुँवा ननिस्केसम्म खाना खाँदैन थिए रे ! तर अहिलेका नेताहरु जनता भोकभोकै मरेपनि चौरासी व्यञ्जन हर्सुन छोड्दैछन् । संकटको बेला समेत भ्रष्टाचार गरेको सुन्नुपर्छ । त्यसैले गणतन्त्रप्रति पनि जनताको वितृष्णा बढ्दैछ । हुन त नेता पनि मान्छे नै हुन्, आफूलाई नपरी कहाँ चेत्छन् र ? जसरी पूर्वराजा ज्ञानेन्द्र जनताबाट गलहत्याइएपछि नै आफ्नो कुकर्म सम्झेर पछुताए होलान् !

टिप्पणीहरू