काठमाडौंमा क्रिप्टोकरेन्सी कारोबार खुलमखुल्ला, तीन जनाले गरे ६७ करोडको व्यापार
प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीन जना समातिएका छन् । काठमाडौँ उपत्यकामा क्रिप्टोकरेन्सीको कारोबारमा सक्रिय रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौंको सोह्रखुट्टे बस्ने झापाको विर्तामोड नगरपालिका ९ घर भएका २२ वर्षे अनुप मिश्र, क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भएका २४ वर्षे दिपेश थापा र बाफल बस्ने २७ वर्षे राहुल चचान हुन् ।
उनीहरूले हालसम्म ६६ करोड ७९ लाख ७९ हजार नौ सय ८३ रूपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ ।
क्रिप्टोकरेन्सी, बिटक्वाइनलगायतका विभिन्न करेन्सीहरुको अवैध कारोबारमा सक्रिय उनीहरूलाई प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट क्रिप्टोको कारोबारमा प्रयोग गरिएको विद्युतीय उपकरण समेत बरामद गरिएकोे छ । पक्राउ परेका सबैलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयले बताएको छ ।
टिप्पणीहरू