बुटवलबाट पोखरा लैजाँदै गरिएको लागुऔषध बीच बाटोमै समातियो

बुटवलबाट पोखरा लैजाँदै गरिएको लागुऔषध बीच बाटोमै समातियो

प्रहरीले स्याङ्जामा ६४ एम्पुल लागुऔषधसहित दुई जनालाई पक्रेको छ । गल्याङ नगरपालिका १ राम्दीबाट उक्त परिमाणको लागुऔषधसहित उनीहरुलाई आज प्रहरीले समातेको हो ।

पोखरा महानगरपालिका १२ बस्ने २० वर्षीय अभिषेक सुनार र १३ नम्बर वडामा बस्ने १९ वर्षीय विमल थापा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल, डाइजेपाम २१ एम्पुल बरामद गरेको छ ।

साथै, उनीहरुको साथबाट दुई थान सिरिञ्ज पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । बुटवलबाट उनीहरु ना.४ ख ३८९४ नम्बरको बस चढेर पोखरा जाँदै थिए । सोही क्रममा राम्दी चेक पोइन्टमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू