भ्रष्टाचारीका खबर दिनहुँ, आज ६ जना

भ्रष्टाचारीका खबर दिनहुँ, आज ६ जना

डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृतसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत भरतबहादुर बुढथापासहित छ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो ।

अधिकृत बुढथापालगायत सब इञ्जिनियर गोरसिंह बढुवाल, डिभिजन वन कार्यालय मुगुका तत्कालीन असिस्टेन्ट सब इञ्जिनियर रविन्द्र शाही, काछदेखि छोटासम्म पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरीबहादुर शाहीविरुद्ध अख्तियारले मुद्दा हालेको छ ।उनीहरुले सोरु गाउँपालिका १ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको बढी मूल्याङ्कन गरी नक्कली विवरण र बील पेश गरेर सरकारी कोष हिनामिना गरेको आरोप आयोगले लगाएको छ ।

अख्तियारले फिल्डमा कामै नगरी उनीहरुले आठ लाख ८७ हजार छ सय ५३ पैसा ७७ नगद भ्रष्टाचार गरेको ठहर गरेको छ । उनीहरुलाई कैद र जरिवानासहित उक्त हिनामिना गरेको रकम अख्तियारले मागदाबी गरेको हो ।

टिप्पणीहरू