हिजो आत्महत्या गरेकी खेलाडीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

हिजो आत्महत्या गरेकी खेलाडीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ । आज बिहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

हिजो बिहान ललितपुरको लुभुमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर बाँके लगिएको छ । बाँकेको राप्तीसोनारी ३, बेलासपुरमा रहेको घरमा आज चौधरीको शव अन्तिम श्रद्धाञ्जलीको निम्ति राखिएको छ । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुग्नुभएका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको हो ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक विजेता चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरमा बस्दै आएकी थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी हिजो बिहान मृत अवस्थामा भेटिएकी हुन् ।

उनको आफ्नै गृहनगरमा आज धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको छ ।

टिप्पणीहरू