ठगीको नयाँ तरिका : कुरियरको नाममा काम तमाम

ठगीको नयाँ तरिका : कुरियरको नाममा काम तमाम

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा एउटा गिरोहलाई समातेको छ । समातिनेमध्ये एक जना नेपाली र अरु सबै भारतीय नागरिक हुन् । उनीहरुले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने क्रिस्ट्रोफर पिल्भिर नाम बताएर ठगेका थिए ।

मिनबहादुर थापा, फेनिकुमार जेडी, हेमन्त भुद्धगिरी र भाष्कर नायकले हाम्रो बजार डटकममा बिक्रीका लागि राखिएका ल्यापटप, मोबाइल, क्यामेरालगायत सामानहरु आफ्नो साथीलाई उपहार दिने भन्दै खाता नम्बर लिएर ठगेको प्रहरीले जनाएको छ ।

सामान कुरियर गरिदिएवापत पाँच हजार रुपैयाँ छुट्टै दिने भनि विक्रम थापाको नाममा आँखा अस्पताल, त्रिपुरेश्वरमा पुर्याउन लगाएका थिए । गिरोहले फोन नम्बर ९८०३४०८३०८ मा उक्त ल्यापटप कुरियर गर्न लगाएका हुन् ।

कुरियरपछि रकम बैंक खातामा पठाउने उल्लेख गर्दै उनीहरुले कम्पनीका सञ्चालकलाई आश्वस्त तुल्याएका थिए । त्यसपछि नियमानुसार ट्याक्स तिर्न तथा स्विफ्ट कोडको निम्ति एनआईसी एसियाको बैंक खाता नम्बर ०६१५७–२०१४४७८००१ मा ७० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिन आएको हो ।

उनीहरुको साथबाट प्रहरीले एक थान क्यानोन कम्पनीको क्यामरा, तीन थान ल्यापटप, एक थान ट्याब्लेट, एक थान स्माट वार्च, एक थान गितार, एक थान बुद्धको मूर्ति र एक लाख ६५ हजार रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धानको निम्ति आज जिल्ला प्रहरी कार्यालय, काठमाडौं चलान गरिएको छ ।

टिप्पणीहरू