रेखा र कुन्तीपछि ओलीकोमा राजेन्द्र लिङ्देन सुटुक्क

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज उहाँको निवास बालकोट पुग्नुभएको छ । ओली र लिङ्देनबीच बिहान भेटवार्ता भएको राप्रपा स्रोतले पुष्टि गरेको छ ।
‘आज बिहान हाम्रा अध्यक्षले केपी ओलीलाई उहाँकै घरमा भेट्नुभएको हो,’ स्रोतले भन्यो । अस्ति कुन्ती शाही र रेखा थापाले पनि ओलीलाई बालकोट पुगेर भेटेका थिए । ‘रेखा थापा एमालेमा जाने सम्भावना छ,कुन्तीहरुले राप्रपा छाडेर राप्रपा नेपाल ज्वाइन गर्ने निश्चित छ,’ एक जना नेताले बताए ।
लिङ्ग्देनलाई आज बिहान ओलीले यसअघि कमल थापालाई जस्तै दिलैदेखि स्वागत नगरेको चर्चा पनि हुन थालेको छ । पछिल्लो समय ओली र लिङ्देनबीच विभिन्न विषयमा घोचपेच चल्दै आएको थियो ।
यस्तो भेटघाट बाक्लिएपछि यता माओवादी नेताहरुले आगामी चुनावमा वाम गठबन्धन नहुने अवस्था देखेर ओलीले गैरवामपन्थी दलहरुसँग गठबन्धन गर्न खोजेको विश्लेषण गरेका छन् । तर राप्रपा नेपालका केन्द्रीय नेताहरु भने
राजेन्द्र लिङ्देन २०७४ सालमा जस्तै आफूलाई झापाबाट सुनिश्चित विजयी तुल्याउन ओलीलाई भेट्न गएको बताउँछन् ।राप्रपा नेपालका अध्यक्ष कमल थापा केही साताको बेलायत भ्रमणपछि भोलि स्वदेश फर्कंदैछन् । उनले पर्सि केन्द्रीय समितिको बैठक डाकेका छन् ।
यता राप्रपाबाट चार जना नेता राप्रपा नेपालमा गएपछि कमल थापाको विरोध गर्ने समूह सानो भएको दाबी गरिएको छ । दिलनाथ गिरी,श्याम तिमिल्सिना,केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारी साउन ३ गते राप्रपा नेपाल प्रवेश गरेका हुन् । उनीहरुले राप्रपाको ठूलो समूह आगामी भदौ ४ र ५ गते आयोजना गरिने कार्यक्रममा राप्रपा नेपाल प्रवेश गर्ने दाबीसमेत गरेका छन् ।
टिप्पणीहरू