नागरिकतापछि राष्ट्रपतिको चासो टीआरसीतिर

नागरिकतापछि राष्ट्रपतिको चासो टीआरसीतिर

नागरिकता विधेयकमा सरकार र सत्तारुढ गठबन्धनसँग टसल परिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा पेश भएको शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयकप्रति पनि चासो राख्नु भएको छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरकार र सत्ता गठबन्धनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक’ फास्टट्रयाकबाट पास गर्ने तयारी गरेपछि शीतल निवासको चासो बढेको हो ।

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको टीआरसी विधेयकलाई लिएर प्रमुख प्रतिपक्ष एमालेलगायतका कतिपय राजनीतिक दल, सरोकारवाला र पीडित पक्षले असन्तुष्टी जनाएका छन् । एमाले अध्यक्ष खडकप्रसाद शर्मा ओलीले त विधेयक च्यातिदिने चेतावनीसमेत दिनुभएको छ । शान्ति प्रक्रिया टुंग्याउनेजस्तो आम चासो र सरोकारको विषयमा समेत दलहरुबीच मतैक्यता हुन नसकेका बेला कानुनमन्त्री गोविन्द बन्दीलाई हिजो शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले यसबारे डेढ घण्टा कुराकानी गर्नुभएको हो ।

बताइएअनुसार शान्ति प्रक्रियालाई तत्काल टुंगोमा पुर्याउन राष्ट्रपति पनि सकारात्मक हुनुहुन्छ । तर,पीडित र सरोकारवाला पक्षको चासो सम्बोधन हुनुपर्ने र अन्तर्राष्ट्रिय मापदण्ड मिच्न नहुनेमा उहाँको सुझाव रहँदै आएको छ । हिजोको भेटमा पनि त्यसैमा केन्द्रित रहेर छलफल भएको बताइन्छ ।

छलफलका क्रममा उहाँले सबै दलको सहमतिमा विधेयक पारित गर्न कानुनमन्त्रीलाई सुझावसमेत दिनुभयो । राष्ट्रपतिले चासो राखेपछि मन्त्री बन्दीले विधेयकबारे ब्रिफिङ गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई एक ठाउँमा उभ्याउन राष्ट्रपतिको भूमिकाको अपेक्षा गर्नुभयो ।

पीडितलाई न्याय दिलाएर शान्ति प्रक्रिया टुंगोमा पुर्याउन विधेयक संशोधन गर्न लागेको प्रष्ट्याउँदै मन्त्री बन्दीले राष्ट्रको अभिभावकका रुपमा यस प्रक्रियामा सहयोगी भूमिका खेलिदिन गरेको आग्रहलाई राष्ट्रपति भण्डारीले सकारात्मक जवाफ दिनुभएको बताइन्छ ।

यता,नागरिकता विधेयकमा राष्ट्रपति संविधान प्रतिकूल निर्णय गर्ने मनस्थितिमा नरहेको शीतल निवास स्रोतले बताएको छ । ‘उहाँले उठाएका चासो राष्ट्रियसभाबाट आंशिक भएपनि सम्बोधन भए प्रमाणीकरण गर्न सजिलो हुन्थ्यो भन्ने कुरासम्म हो, त्यसबाहेकका चर्चा सबै अनुमान मात्रै हुन् । संविधानको पालक र संरक्षकका नाताले उहाँले आफूलाई त्यहि भूमिकामा प्रस्तुत गर्नुहुन्छ’, स्रोतले भन्यो ।

टिप्पणीहरू