मन्त्रिमण्डलको आकस्मिक बैठक, ४ डिआइजीको उध्दार

मन्त्रिमण्डलको आकस्मिक बैठक, ४ डिआइजीको उध्दार
सुन्नुहोस्

सशस्त्र प्रहरी बल नेपालबाट पदावधि पूरा गरेर आजदेखि घर जान लागेका चार जना डिआइजीको म्याद थप्न लागिएको छ ।  कमल गिरी, गणेश ठाडामगर,कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको आज साँझ ७ बजे बस्न लागेको क्याबिनेट बैठकले म्याद थप्ने तयारी छ ।

गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख,नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन् । डिआइजीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुअघि सबैको एक वर्ष थप्न लागिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी नियमावली–२०७२ मा आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप्न  सकिने व्यवस्था छ । यसो हुँदा एआइजीमा बढुवा र एक जनालाई आगामी नेतृत्व गर्न अवसर जुर्छ । 

यसबाट उनीहरुको म्याद थप्न नहुने लबिङमा हिँडेका सिसँ–२ का एसएसपी दीपेन्द्र कुँवर अन्ततः पछाडि परेको अवस्था छ । 

आफूभन्दा सिनियर ब्याचका र स्टाफ कलेज उत्तीर्ण अधिकृतलाई पछि पार्न उनी देउवा परिवारसङ्गको नाता जोडेर कुदिरहेका थिए । भदौदेखि रोकिएको दुई डिआइजीको बढुवा हालसम्म रोकिनुमा उनैको हात रहेको आरोप लगाउनेहरु पनि छन् । यता, चार जनाको म्याद थप नहुँदा र भदौको दुई दरबन्दीसमेत जोड्दा छ सिटमा बढुवाको लागि आफू सशक्त उम्मेदवार हुने उनको जोड घटाउ थियो । तर,आज दिउँसो गृहमन्त्री रमेश लेखकले चार जनाको एक वर्षे म्याद थप्ने जनाउ दिएपछि उनी बाध्य भएर हच्किएका छन् ।

कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज तथा निजी सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन् । यसअघि कुँवरलाई बढुवा गर्न सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो । एसपीमा चार वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुनसक्ने प्रावधानले अप्ठेरो पारेपछि नियमावली संशोधन गराएर उनी २०७९ साउनमा बढुवा भएका थिए ।

टिप्पणीहरू