किशोरी आमाको स्वीकारोक्ति: प्रेमीसँग सहमतिमै सहवास, शिशु रोएकाले हत्या

किशोरी आमाको स्वीकारोक्ति: प्रेमीसँग सहमतिमै सहवास, शिशु रोएकाले हत्या

दाङमा एक नाबालिगले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । राप्ती गाउँपालिका–३ मसुरीयाकी नाबालिगले आज बिहान शिशुको हत्या गरेकी हुन् ।

१५ वर्षीया अविवाहित उनले आज बिहान ४ बजे शिशुको हत्या गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । शिशुको हत्या गरी आफ्नो बच्चा मृत भेटिएको भन्दै उनले आफैँ प्रहरीलाई खबर गरेकी थिइन् । आफू बिहान शौचालय गएको बेला बच्चा हराएको र खोजी गर्नेक्रममा सेफ्टी ट्याङकीमा फेला पारेको भन्दै खबर गरेको प्रहरीको भनाइ छ ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफैले हत्या गरेको र सेफ्टी ट्याङकीमा फालेको स्वीकार गरेकी हुन् । प्रहरीका अनुसार बच्चा रोएकाले अरुले थाहा पाउलान् भनेर हत्या गरेको उनले बयान दिएकी छन् ।

विवाह गर्ने शर्तमा प्रेमीसँग सहमतिमै शारीरिक सम्बन्ध राखेकी किशोरीले गत जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन् । उनका प्रेमी भने रोजगारीको सिलसिलामा मुस्ताङ छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

टिप्पणीहरू