सरकार कोरोना नियन्त्रण गर्ने कि विप्लव ?
देशमा यतिबेला कोरोनाले के सास्ती छ र जनतालाई । जति भोक र कालोबजारीले सास्ती छ, भ्रष्टाचारले सास्ती छ । त्योभन्दा ठूलो सास्ती त नेतालाई छ । गुट राजनीति टिकाउने र सत्ताको स्वाद जोगाउने मोहले जति सताएको छ नि त्यति त कोरोनाले पनि नेपालीलाई सताएको छैन । नेताहरूको रातारात गुट फेरिन्छ, रातारात गुट यसरी फेरिन्छ कि महोत्तरीमा उधारोमा किनेको बिरालो सिंहदरबार उक्लन नसकेपछि छेउतिर म्याउँ गर्छ र राजनीति प्रतिशोधको तरबार उज्याएर रमिता देखाउँछ । मे ५ मा माक्र्सको फोटोहरू मुहार पुस्तिकामा प्रदर्शन भएको थियो । माक्र्सवादको आत मरेकाहरूको यो रमिता त्यतिबेलाको हो जतिबेला दुनियाँमा अमेरिकाजस्तो समृद्ध देशले जाबो नाक, मुख छोप्ने दुई इञ्चको टालो(मास्क) समेत लुटेर लैजानु परेर रमिता देखिएको बेला थियो ।
वैशाख २२ गते यानप्रसाद गौतम आलोकको स्मृतिमा सामाजिक सञ्जाल तातेको थियो । आलोकबारे पुनर्मूल्यांकनको बहस उठिरहको पाइन्थ्यो । अझै रोचक थियो आलोकको मृत्युमा मासुभात लतार्नेहरू फेसबुकमा गोहीको आँसु झार्दै गरेका तर्कहरू । बुद्ध जयन्तीको छेउछाउमा नयाँ सत्ताका केही सारथिसमेत आलोकभित्र केही गुण त पक्कै थियो भन्न थाले बुद्धत्व मिल्यो यसपटक ? हिजो पार्टी कमाण्डका कारबाहीको भयले ढुंगाभन्दा साह्रो भएका ती पूर्वमाओवादीहरू जे वर्तमान सत्ताधारीसमेत छन् तिनलाई यो पटक आलोक बिझायो । चेग्वेभाराको कंकाल देखेर डराउने अमेरिका र आलोकको छाया देखेर डराउने काँतर पूर्वमाओवादीहरू आज पनि बजारमा छ्यापछ्याप्ती छन् । तर, प्रधानमन्त्री केपी ओलीकै भाषामा त्यस्ता निम्छराहरूको अहिलेको रुवावासीको अर्थ भने कम होला ।
अझै रोचक थियो अर्को चर्चा ओलीको बफदार मानिएका ७० करोडको झट्काले सञ्चारमन्त्री गुमाएका गोकुल बाँस्कोटाले समेत ट्वीटरमा लेख्दै थिए । म सोच्छु यानप्रसाद कमरेडलाई कसले र किन बेपत्ता बनायो । उनको बारेका भएको चाहिँ के थियो ? लिनप्याओ भन्ने आरोप लागेको थियो रे सुन्थे उबेला । न सहिद न गद्धार कस्तो मृत्यु हो कोही त बोल यो बोल सम्झना यस्तो लाग्यो मलाई त । उनको त्यो भनाइमाथि सामाजिक सञ्जालमा गोरे श्रेष्ठको प्रतिवाद गज्जव मीठो थियो सुखानी झापा आन्दोलन र दासढुंगा हँुदै जाँदा उपयुक्त होला । राजनीतिभित्रको यस्तो अपराधको सत्य नालीबेली उत्रिएको छैन आजसम्म । गद्धार प्रचण्ड बाबुराम कि आलोक ? अनिल शर्माको आलेख ०७० सालमा लेखिएकाले पुनः सामाजिक सञ्चारमा चर्चा छाएको थियो । २३ गते बिहान अनिल शर्मा चितवनमा पक्राउ परे । पछिल्लो समय पक्राउ पर्ने नेकपाको उच्च तहको नेता हुन् उनी । यो घटना प्रकरणसँगै ओली सरकार र विप्लव नेकपाको खेलो र कोरोनाको राजनीतिमा नयाँ रूपमा देखिन खोजेको हो त भन्ने एक छनक मिलेको देखिन्छ । नेकपामाथि सरकारी प्रतिबन्धको एक वर्ष फागुन पूरा भएर दोस्रो वर्ष चल्दै छ । यहाँसम्म हेर्दा न प्रतिबन्ध लगाउनेहरूले प्रतिबन्धको औचित्य पुष्टि गर्न सकेको छ न त विद्रोहीले सत्ता पल्टाउने प्रयास नै भए÷गरेको पाइन्छ । प्रायः मामिलाहरूलाई अदालबाट निरुपण गराउने प्रयास भएको पाइन्छ । पछिल्लो नजिर एनसेलको मुद्दामा हेमन्तवलीलाई दिएको अदालती सफाइलाई लिन सकिन्छ । त्यसो हो भने मौजुदा कानुन नै काफी छ त किन प्रतिबन्ध ? त्यो प्रेरणाको स्रोत खोजी गर्न एमसिसिको लगनगाँठो र अमेरिकाले मानवअधिकारको नाममा जारी गरेको ३ प्रतिवेदन र घरेलु आतंकवाद शब्द साइनोको अर्थ नखुटाई प्रष्ट हुन्न ।
०७६ चैत २२ गते विप्लवले विज्ञप्ति जारी गरेर प्रतिरोध कारबाही स्थगन गरेको घोषणा गरेका थिए । यो एकतर्फी युद्धविराम घोषणाजस्तो थियो । त्यो विज्ञप्तिमा उनले कोरोना महामारी नियन्त्रणका लागि १६ बुँदे सुझाव ओली सरकारलाई दिएका थिए । उता, भने ६ बुँदे पार्टी र कार्यकर्तालाई प्रतिबद्धता निर्देशन थियो । ०७७ वैशाख १७ गते बर्दियामा पूर्वकेन्द्रीय सदस्य हिमाल पक्राउ परेका थिए । १९ वैशाखमा रातोपाटीमा विप्लवले राजनीति केन्द्रित अन्तर्वार्ता दिएर केन्द्रीय राजनीतिमा जानकार रहेको हमला गरे । ओली सरकार विरुद्धको आन्दोलनको मोर्चा कस्ने पनि संकेत गरे । त्यो अन्तर्वार्ता देखाएर कुन(कुन गुट सत्ताको खिचडी पकाउन कुदेको थियो भन्ने उनै जानुन् । तर, जो आए पनि बगरेहरूको चरित्र भनेको खुडा उज्याउने हो भन्नेचाहिँ हप्ता नबित्दै थाहा परेको छ । वैशाख २२ गते इलामबाट १३ जना नेकपा कार्यकर्ता गिरफ्तार भएका थिए ।
हेमन्त ओलीको पक्राउपछि ०७६ भदौमा केन्द्रीय समिति बैठकबाट तरंग दिने निर्णय गरेको नेकपा महिना दिन पनि नटिक्दै पश्चिम कमाण्ड इन्चार्ज वीरजंग पक्राउ परे र महत्वपूर्ण सूचना विरोधीको हात परेको भन्दै नेकपा तंग्रन सकेको थिएन । ०७६ पुसमा मेचीकोसी ब्युरो इन्चार्जसमेत रहेको केन्द्रीय सदस्य उमा भुजेल पक्राउ परेकी थिइन् । ०७६ कात्तिक ५ गते चितवनमा पक्राउ परेका गुणराज लोहनीले कारबाही परेको स्वतन्त्र बसेको बिरामी मान्छे भन्दै प्रहरीबाट उम्किएर आए पनि राजधानीतिर संयुक्त आन्दोलनको मोर्चा कसेको भन्दै माघ ७ गते पक्राउ परेर रिहा भएपछि पोकापन्तुरा बोकेर बाटो लागे कि नौनाडी गलेर आएछन् कुन्नि लगभग बेपत्ता छन् ।
सरकार र विप्लवको वार्ता राजनीति हल्ला बेलाबखत जारी थियो । पछिल्लो बार्ता सबाल ०७६ फाल्गुन २९ गते कान्तिपुर दैनिकमा सरकारी वार्ता टोलीको प्रमुख सोमप्रसाद पाण्डेले खुलासा गरेका थिए उनले धमेन्द्र बास्तोला र अनिल शर्मा भेटेको बताएका थिए । नेकपाले बालुवाटार काण्डको पीडित सुकुम्बासी सरकारी नेकपा महासचिव विष्णु पौडेलको सफाया गर्ने सन्सनी सरकारीवृत्तमा मच्चिएपछि सोमप्रसादलाई ओलीले विप्लव खोज्न अह्राएको हल्ला थियो । सोमप्रसादले विप्लवको नेता भेटेको प्रमाणस्वरूप फोटो खिचेर ल्याउने र त्यो फोटोसहितको विवरण भने ओली र बादललाई बुझाउने गरेको चर्चा थियो । सोमप्रसादले ०७६ चैत ३ गतेको अनलाइन खबरलाई अनिल शर्मालाई भेटेर छलफल गरेको बताएका थिए । उनले सरकारी र विद्रोही दलको सम्पर्क सेतुको रूपमा उनी रहेको प्रचार गरेका थिए । २३ वैशाखमा अनिल शर्मा पक्राउपछि सोमप्रसाद जुस बोकेर जालान् कि अब सरकारले वार्ता संवादको त्यो ढोका बन्द गरेको होला त ? अथवा दम छ भने आऊ एक लट कुस्ती खेलाँै भन्ने निम्तो दिएकै होला त ?
नेपाली राजनीतिमा राजनीतिक प्रतिशोधमा सत्ताको दुरुपयोग हुने गरेका धेरै घटना छन् । हिजो राजनीतिक सत्ताको र आज प्रशासनको दुरुपयोग भएको व्यथा ठूलो छ । एक इमान्दार माओवादी नेता लोकेन्द्र विष्टले सामाजिक सञ्जालमा गरेको टिप्पणी थियो युवा पुस्ताको जिउदा मान्छे हुन विरही । त्यो राजनीति अर्थमा सही नै थियो जस्तो लाग्छ लास जिउँदो हुनु र सास मात्रै हुनु होइन होला राजनीतिमा जिउँदो रहनुको अर्थ । विप्लव विरही र चितवनको राजनीतिभित्र गज्जबको महाभारत कथा छ । त्यो अहिले वर्णन गर्न सक्ने पण्डित म होइन र त्यो जरुरी छैन । तर, केही किस्सा भने सम्झनलायक छ । माओवादी विभाजनका बेला चितवनमा ठूलो धक्का लागेको थियो । चाहे प्रचण्डहरूसँग किरण बादल छुट्टिँदा होस् कि किरण बादलसँग विप्लव विरहीहरू छुट्टिँदा । एकीकृत पार्टीको चितवन जिल्ला इन्चार्ज थिए विरही । चितवन टुक्र्याउने षड्यन्त्रविरुद्ध संयुक्त आन्दोलनका सहयात्री । शान्तिप्रकिया पछिको राजनीतिमा भने विरही जहाँ पुगे पनि उनले के बोल्छन् र के गर्छन् भन्ने कुराले राजनीतिमा एक अर्थ लाग्ने गरेको थियो चाहे रसुवा नुवाकोट होस् कि चितवन ।
यतिबेला सामाजिक अभियन्ता रहेका महादीप पोखरेलको सामाजिक सञ्जालमा प्रश्न थियो बादल पथिक गुटले चितवन पार्टी कार्यालय बिक्री प्रकरणको रिस उतारेका हुन् कि ? माओवादी राजनीतिभित्र पोखरा बैठकमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार र उपयोगको बहसभित्रका रामकहानी र बादलसमूहको चुनवाङकै स्तरमा भएको दोस्रो प्रचण्ड विलयको कथाका नालीबेली बुझेपछि मात्रै छर्लंग हुन्छ धेरैलाई त्यो कथा ।
विप्लव र वैद्यको संगठनात्मक आधार थियो । देशभर बलियो भएको जिल्ला ठानिन्थ्यो चितवन । किरण विप्लव विभाजनको बेला गुणराज लोहनी थिए चितवनको सेक्रेटरी त्यहाँ पनि विद्रोही राजनीतिक सत्ता नै हाबी भयो । त्यो राजनीति उभारमय छ कि रसातलतिर पुग्यो कस्को के नियत थियो कि नियति कुनै सवालमा बहस उठ्नेछ होला । त्यसबेलासम्म भने त्यो समीक्षा र संश्लेषण गर्ने जिम्मा राजनीतिका ठेकेदारहरूलाई नै दिऊँ ।
गिरफ्तारीको घटना हेर्दा गुणराजदेखि विरहीसम्म पुग्दा भने क्षणिक रूपमा बादल पथिकगुट सफल भएको आत्मरतिमा होलान् । किनकि लालगद्धार भन्दै रत्नपार्कमा उफ्रेर मतपेटिका फुटाउने र झ्यालबाट सिंहदरबारतिर उक्लेका बादललाई चुनावी राजनीतिमा टेक्ने जमिन चितवनमै चाहीएको छ । छायागृहमन्त्रीजस्तो हर्ताकर्ता रहेका सूर्य सुवेदी पथिक त ७० सालको चुनाव बहिष्कारदेखिको इगो फेर्ने बकुल्लाले माछा ढुकेजस्तो मौका पर्खेर बसेका थिए अहिलेसम्म । प्रहरी मुख्यालय र गृह मन्त्रालयमा २३० जना विप्लव कार्यकर्ताको नेमलिस्टसहितको डायरी बोकेर भोजभतेर किन चलाउँदै छन् होला उनी भन्ने अर्थ प्रष्ट हुन एक किस्सा सम्झिए मात्रै काफी छ । निर्वाचन बहिष्कारको बेला कांग्रेस(एमालेको पैसा खाएर प्रचण्ड हराउन घुँडा धसेर लागेका थिए उनी मंसिर ३ गते राति कार्यकर्तालाई प्रत्यक्षमा भोट हाल्न र समानुपातिकमा बहिष्कार गर्ने एसएमएससमेत गर्न भ्याएका थिए । त्यो घटनाको अनिल शर्माले विज्ञप्तिमार्फत प्रतिवाद गरेपछि मेरो राजनीति सकियो भन्दै रुवाबासी गरेकाहरू यतिबेला हुस्की चयर्स गर्दै होलान् ।
त्यतिबेला किरण विप्लव विभाजनको अन्तिम निमित्त कारण र तातो रिस भने चितवनको कृष्णपुरमा रहेको पार्टी कार्यालयको बिक्री प्रकरण बादल र विप्लवको अलग विज्ञप्ति थियो, पार्टी भने एउटै । यतिबेला रहेको प्रचण्ड बादलको पार्टी एक अलग(अलग गुटको झगडा भने धुर्मुस(सुन्तली रंगशाला प्रकरणदेखि प्रहरी अधिकृत दानबहादुर मल्ल सरुवा र बदर गर्नेसम्मको चर्चा पछिल्लो दसी हो भने कोरोना अस्पताल चितवनको तातो राजनीति हो । साख जोगाउन प्रचण्डलाई पनि आपत छ, चितवनमा कांग्रेसले बोके, विक्रम पाण्डेले खेद्न त्यता अस्थायी युद्धविराम गरे बादल पथिकले हैरान पार्ने । यस्तै खेलोका बीचमा चितवनको पछिल्लो तातो बहस चलेको थियो कोरोना अस्पतालको । ७२ घण्टमा बनेको भनेर चर्चित चिनियाँ मोडललाई माथ खुवाउने हल्लाको धोती त्यति बेला फुस्कियो जतिबेला त्यो कोरोना अस्पताल आफैं कोरोना लागेर भ्यान्टिलेटरतिर पुग्यो र त्यसको सामग्री चोरी गरेको भिडियो बाहिरियो । जहाँ चितवनका दर्जन संघसंस्थाले विज्ञप्ति निकालेर सो काण्डको छानबिनको माग गरेका थिए । त्यसपछि त्यो असन्तुष्टिमा विप्लवको चितवन जिल्ला पार्टी नारायणी ब्युरो हँुदै केन्द्रतिर लागेको थियो राजनीतिको यात्रा भन्ने छनकचाहिँ रातो खबर अनलाइनतिर प्रष्ट देख्न सकिन्छ । जनार्दन शर्माले रुकुमको चौरजहारी र आठबिसकोटको जति नमुना अरूले किन गर्न सकेनन् होला । करोडौंको राज्यकोष भने स्वाहा भएकै छ । तिनै जनार्दन शर्मा जतिको बुद्धि नहुनेहरूले किन गरे होला चीनलाई लडाउन सक्ने गरी यो हल्लाको राजनीति ?
कोरोना अस्पतालको चोरीकाण्ड दुनियाँलाई छले र काइते कुरा गरे पनि सिसिटिभीले सत्य बताउनुलाई ढाकछोप गर्न हो कि चितवनमा कमजोर रहेको ओलीगुटको मेलोमा प्रचण्ड बादल गुटको भाले भिडन्तको खेलोका शिकार त भएनन् घाइते अनिल शर्मा अथवा अरु कुनै छिर्के खेले होला ? बादल पथिकहरूविरुद्ध विप्लवका कार्यकर्ता लडाउने प्रचण्ड सपनामा कतै विरही त बाधक देखिएका थिएनन् । यो बेला देखिएको चितवनको दृश्य अलि कारुणिक थियो । सुगरको इन्जेक्सनले धानेको शरीरमा आधा दर्जन रोग बोकेर लर्खराएका अनिल शर्मा करङको हड्डी तीन ठाउँमा भाँचिँदासमेत झ्याइँकुटी पार्दै अस्पतालको शøयाबाट उठाएर अदालतको दैलोमा तेर्सो पार्नेहरूको नियत ख्यालमा खेल खत्तम पार्ने बदलाको नियतिसँग साइनो थियो कि बुद्धिजीवी कामरेडका श्रीमती गृहमन्त्रीको दैलोमा पसारो परेजस्तो अनिलका सन्तानलाई एकपटक पार्ने उद्देश्यबाट ओतप्रोत थिए भन्नेचाहिँ उही चितौनेहरू जानुन् योचाहिँ बेलाबखत देखेको सत्य कुरा हो ।
केही यक्षप्रश्न भने यो छ कि चितवनमा विहरी समातिएको दिन ठूलो दसैका बेलादेखि थारै बसेको रेणु दाहालको त्यो रातो खसी यो सानो दसैंपछि काटिएर भोज चल्यो होला कि त्यो खसी बेचियो होला ? जनता जान्न चाहन्छन् है विप्लव कामरेड ? त्यो ७० सालको चितवन काण्डले आ(आफ्नो बाटो तताउन पुगेका थिए उसबेला कमरेडहरू । यो बेला भने वैशाख २५ गते विप्लवको विज्ञप्ति आएको थियो । हेमन्त ओली, माइला लामा, चन्द्रबहादुर चन्द वीरजंग, उमा भुजेल हँुदै अनिल शर्मा गिरफ्तारीको चरणमा आइपुग्दा विप्लवको विज्ञप्तिको लयमा लय मिलेको एक सवालचाहिँ के हो भने त्यो कडा प्रतिरोध, कडा संघर्षजस्तो शब्दमा हो । परन्तु गम्भीर प्रश्नचाहिँ जनताको भुइँछाप्रो तिरबाट हेर्दा के देखिन्छ भने पार्टी फुटाएदेखि नै हो यस्तो लय आएको एक साहित्यकार मित्रको शब्द सापटीमा भन्दा नाडी निमठ्नु, देखाइदिन्छु भन्दै पाखुरा खैचनु र सर्टको टाँक नै उछिट्टिने गरी छाती फुलाउनेजस्तो गर्नु र अन्त्यमा चिसै पानीले नुहाउनु । अब पनि के गर्लान् त कामरेडहरूले त्यस्तै, उस्तै अथवा अलग ? अथवा इटको जवाफ पत्थरले दिन भन्दै हाँडीमा हान्दा अनाडीतिर लागेजसरी लाग्ला कि नलाग्ला ? त्यो भने हेर्न बाँकी, देख्न बाँकी दृश्य हो यो राजनीतिको ।
देश दुनियाँभर हाहाकार मच्चाएको कोरोना महामारी नियन्त्रणको काम छाडेर काम पाइनौ बुहारी…. भनेजस्तो गरी लाग्ने सत्ताको मात लागेकाहरूको चाहिँ चलामाला के हो भन्ने गम्भीर सवाल छ । आजको प्राथमिकता के हो ? स्वास्थ्य सामग्री नभएर देशमा कोरोना परीक्षण अलपत्र छ यस्तो बेला औषधि खोज्ने कि विप्लव ? सरकारले जनतालाई भरोसा दिन सकेको छैन, टिभीमा फोन गरेर खान पाइनँ भन्दै रुने गरिब जनताका लागि खाद्यान्न सामग्री किन्ने कि, गुट बलियो बनाउन भेडाबाख्राजस्तो संसद किन्ने ? देशभर भ्रष्टाचार नियन्त्रण गर्ने कि भ्रष्टाचारविरोधी अभियान गर्नेहरू नियन्त्रण गर्ने ? सरकार यो आपतमा कोरोना महामारी नियन्त्रण गर्ने कि विप्लव नियन्त्रण गर्ने उपायमा लाग्ने ? जवाफ दिन जरुरी छ ।
माक्र्स, एंगेल्सले कम्युनिष्ट घोषणपत्रमा लेख्नुभएको थियो । १८आंै शताब्दीमा युरोपमा एक भूत घुमफिर गरिहेको छ, साम्यवादको भूत । यस भूतलाई धपाउनका निम्ति युरोपका सारा सत्ताधारी एकजुट भएका छन् । आजभन्दा २०० वर्षअघिको यो दृश्यजस्तै यतिबेला हामीसामु भने त्यही १८औं शताब्दीमा जस्तो । सत्ताधारीहरू सबै काम छाडेर विप्लवविरुद्ध एकजुट भएको किन होला ? त्यतिबेला युरोपलाई साम्यवादको भूतजस्तो सरकारलाई विप्लवको भूत किन लागिरहेको छ ? यो विप्लव नामको नेत्रविक्रम चन्दको उपनाम मेटाउने ध्येय हो भने सोच्नुहोस् त्यो केबल मूर्खता हो । आजको सबाल यो नाम मात्रैको विप्लवको मात्रै कदापि होइन । त्यो त नेपालको राजनीतिक इतिहासमा अलिकाति खुटाउने प्रयास गर्नुभयो भने प्रशस्त फेला पर्छ होला । नेपालमा किन जन्मिरहन्छ विप्लवहरू र विद्रोही परिघटनाहरू जवाफ साधनले होइन साध्यबाट खोज्न तयार हुने हो भने आधा विद्रोहको आगो आफैं ठण्डीको न्यानोमा बदलिन्छ । तर, कम्युनिष्टको बर्को ओढेकाहरूको यो लालसत्ता त्यो सवालमा किन रुचि राख्दैन होला ? के हो समाजशास्त्रीय धारणा के हो ? के हो यसको दर्शन आफू १४ वर्ष जेल बसँे भनेर अरूलाई २८ वर्ष कोच्ने मात्रै हो ? सवाल नेकपा भन्न रुचाउने सरकारले भन्नुपर्छ, आफूले जस्तै गरेर सत्तामा आउने र उक्लने अधिकार किन छैन भनेर तथ्य र तर्क दिनुपर्छ नत्र मालिकहरूको निगाहमा महलमा उक्लेको गल्लीका कुकुरहरूले गल्लीतिर उही प्रजातिकाहरू देख्दा मात्रै बार्दलीबाट भुक्नुको कुनै अर्थ छैन ।
यो ती माक्र्स जन्मेको २०२ वर्ष भएको यो बेलामा नेपाली माक्र्सवादीको एक चित्र हो । त्यो नेपाली जंगबहादुरलाई बेलायती कुकुर भन्ने ती माक्र्स यी नेपाली लालजंगबहादुरलाई देखेको भए के भन्थे होला भन्दै मदारी शीर्षकमा कवि निभा शाह कवितामा भन्दै थिइन् यो आँखाले अब भुसले आगो बोकेको हेर्न बाँकी छ भन्दै, हेरौ उनको कविता अंश :
यहाँ बादरहरू
भाष्मासुरे युद्ध लडेजस्तो गर्छन्
यहाँ बादरहरू
महाकाली युद्ध लडेजस्तो गर्छन्
यहाँ रामलीला मैदानमा
बाँदरहरू चाहे राता हुन् कि सेता
सबै बाँदर मदारीको चप्पल चाट्न
वक्युद्ध लडेजस्तो गर्छन्
कहिलेकाहीँ कुस्ती खेलेजस्तो पनि गर्छन्
यो रामलीला हो सीते
जहाँ बादरहरू
मदारीको तलुवा होइन, चप्पल चाट्छन्
यो रामलीला हो सीते
जनता भोट दिए
र हेर्छन्
तिमी महारानी भएर हेर
जनता यो तमासा भोको पेट हेर्छ
तिमी यो तमासा मिष्ठान्न खाएर हेर
टिप्पणीहरू