पूर्वराजाले किन होला पछुताउनु परेको ?

पूर्वराजाले किन होला पछुताउनु परेको ?

जनताको त के कुरा भयो र ! ‘टेकन फर ग्राण्टेड’ भनेजस्तै छ जनताको अवस्था । जनतालाई मनको कुरा भने पनि, जनतासँग संवाद भने पनि वा जनतासँग वार्ता भने पनि ती सबै एकतर्फा हुनेछन् । जनताले एकोहोरो तिनको मात्रै कुरा सुन्ने हो । जनता त्यस्ता कुरा पनि सुन्न अभिसप्त भए जुन कुरा न तिनको कल्पनामा थियो न ती कुरा जनताको दिमागमै थियो । यस्तो सपनामा समेत देख्न सम्भव नभएको र पूरा हुन सक्दैनसक्ने कुरा पनि जनतालाई दिन्छु भनियो ।

तुइनको समेत व्यवस्था नभएको देशमा, भत्किएको राजमार्ग मर्मत गर्न नसकेकाले नारकीय सडक यात्रा गर्न बाध्य जनतालाई पोखराबाट छुटेर बाग्लुङ हुँदै कुश्मा स्टेशनमा पुगेर रोकिने चुच्चे रेल चलाउने, देशको राष्ट्रिय झण्डा फहराएर डुंगा नअट्ने नदिनालामा पानी जहाज चलाउने भनेर हमजाएगाले भन्दा चर्को ठट्टा गरेर जनतालाई बेवकुफ बनाउने र अपमान गर्ने काम भयो । देशलाई समृद्ध बनाउने गफ, देशलाई स्विटजरल्याण्ड बनाउने गफ, प्याट्ट थिचेर ग्यास बाल्ने गफ, सबैले दुईछाकै खान पाउने गफ, सडक बालक हटाउने गफ, मगन्ते हटाउने गफ त यति धेरै सुनाए कि अहिले ती भनाइले ती भन्नेहरू स्वयंलाई गिज्याइरहेका छन् । यिनका कुरा सुन्दा त देशमा समाजवाद आइसकेको हो कि भन्नेसम्मको भान हुन्छ । गफको अन्त्यहीन श्रृंखला चलिरहेकै छ । 

घुस खान्न र खान पनि दिन्न भनेको, भ्रष्टाचार हुन दिन्न भनेको, समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको मलाई लाग्छ पहिलो शपथग्रहण खाएकै दिनमा हो सायद । सुशासनका कुरा, कृषिको विकासका कुरा, रोजगारीका कुरा, विकासलगायत यावत् कुरा पनि दिनदिनैजसो, एकोहोरो र लगातार सुनिरहिएकै छ तर त्यसमा अमल भएको पाइन्न । एउटा घतलाग्दो भनाइ छ ‘पानीलाई लठ्ठीले पिट्ने’ वा ‘पानीमा लठ्ठी बजार्ने’ । पानीमा लठ्ठी जतिसुकै जोडले बजार्दा पनि पानी फाट्दैन र लठ्ठी पनि भाँचिन्न । हामी जति कराए पनि, जति रिसाए पनि हाम्रो अवस्था पानीमा लठ्ठी बजार्नुजस्तै छ । दुःखजिलो गरेर बल्लतल्ल खाना जुटाउनमै जनताको जिन्दगी बितिरहेको छ । नेता र नेतृत्वको निम्ति जनताको गुनासो काग कराउँदै छ पिना सुक्दै छ जस्तै हो, न सुन्नवाला कोही छ न त यसमा अमल गर्नुपर्छ भन्ने नै कोही छन् । 

०४६ साललाई पहिलो साल मानेर हिसाब गर्ने हो भने अहिले ०८१ साल चलिरहेको छ र यो भनेको सालले हिसाब गर्दा ३५ वर्ष हो भने महिनाको हिसाब गर्दा साढे ३४ वर्षमा । यसमा ज्ञानेन्द्रको ‘कू’ ताकाको समयलाई घटाउने हो भने कांग्र्रेस, एमालेलगायत अन्य वामपन्थी दलले यो देशमा आलोपालो गरेर वा मिलेर शासन चलाएको लगभग ३३ वर्ष भएको छ । ३३ वर्षदेखि यिनै दलको यिनै नेताले कहिले को कहिले को गरेर तर अकण्टक शासन चलाइरहेका छन् । यति लामो समयदेखि यो वा त्यो तरिकाले शासनमा रहेको प्रधानमन्त्री युएन जनरल असेम्ब्लीको कार्यक्रममा भाग लिन जाने क्रममा वितरण गरिएको जानकारीमा भनिएको छ ‘प्रधानमन्त्रीले त्यहाँ रहँदा विश्वका अति कम विकसित राष्ट्रहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ । ‘यो सुनेर मेरो मनमा जे प्रतिक्रिया उत्पन्न भयो सोही प्रकारको प्रतिक्रिया अन्य नेपालीको मनमा पनि उत्पन्न भयो होला भन्ने लाग्छ मलाई ।

हाम्रो देशको प्रधानमन्त्रीले संसारको सबैभन्दा अग्लो मञ्चमा गशगर यस्तो अति कमविकसित मुलुकको सदस्य बनेर तिनीहरूको बैठकको अध्यक्षता गरेर विश्वसामु प्रस्तुत होस् ?

मेरो मनमा उत्पन्न भएको प्रतिक्रिया भन्नुभन्दा पहिला हामीले सोचौं त त्यहाँ भाग लिन आउने डिग्निटरिजले के सोचे होलान् ? हाम्रो प्रधानमन्त्रीलाई कसरी हेरे होलान् ? आफूले जेलनेल खाएर, हजारौंको बलिदानबाट आफूले भने अनुसारको शासन व्यवस्था ल्याएर, अन्तर्राष्ट्रिय समुदायबाट भरपुर समर्थन र सहयोग लगातार पाइनै रहेर पनि आफ्नो मुलुकलाई विकासको मार्गमा लैजान नसकेका मात्रै होइनन् कि अति कमविकसित राष्ट्रको स्तरमा राखिरहेको देखेर के सोचे होलान् । जनताको जीवनस्तर माथि उठाउन नसकेको, अशिक्षा, बेरोजगारी हटाउन नसकेको, स्वास्थ्य प्रणाली राम्रो बनाउन नसकेको र अझै पनि विकास गर्न झोली फैलाउँदै गरेको देखेर के सोच्दा हुन् । के हामी नेपालीले डिजर्भ गर्ने विषय हो यो कि हाम्रो देशको प्रधानमन्त्रीले संसारको सबैभन्दा अग्लो मञ्चमा गशगर यस्तो अति कमविकसित मुलुकको सदस्य बनेर तिनीहरूको बैठकको अध्यक्षता गरेर विश्वसामु प्रस्तुत होस् ? तर यस्तो विषयमा कतैबाट पनि जवाफ पाइन्न । मेरो मनमा उठेको प्रतिक्रिया के हो भने कुन गर्वका साथ कुन फुर्तिका साथ हाम्रो प्रधानमन्त्रीले संसारकै अति कमविकसित मुलुकको बैठकको अध्यक्षता गर्लान् र विकास नहुनुको दोष कोमाथि थोपरेर बच्ने रास्ता खोज्लान् भन्ने हो । 

जनताको समस्या के हो भन्नेबारे जनता स्वयंले कति बुझेका छन्् भन्ने कुरा त केही समय पहिले ऋषि धमलाले एक ट्रक चालकसँग लिन खोजेको अन्तर्वार्ता र ती ड्राइभरले ऋषि धमलालाई उल्टै गरेको प्रतिप्रश्नले प्रष्ट पार्छ । त्यसकारण अब राजनीतिक नेतृत्वले, प्रधानमन्त्रीले कसैले पनि जनताले केही पनि बुझेका छैनन् त्यसकारण जनतालाई जेभन्दा पनि हुन्छ भनेर मनमा नसोच्दा हुन्छ । जनताले बुझ्नुपर्ने कुरा धेरै राम्रोसँग बुझेका छन् । फेरि यो नेतृत्व, प्रधानमन्त्री, मन्त्रीहरू के भ्रममा बाँचेको देखिन्छ भने ५० कटेका मतदाता जो यो राजनीतिक नेतृत्वको संघर्षबारे थोडाबहुत जान्दछन् तिनीहरू आफ्नो पक्षमा रहेकाले तिनका घरपरिवार सदस्यहरू पनि तिनीहरूकै पक्षमा छन् । त्यसकारण तिनीहरू हाम्रै भोटर हुन् भन्ने भ्रममा देखिन् । आजको जेनेरेशन जी अहिलेको राजनीतिक नेतृत्वको पक्षमा होइन विपक्षमा छ । रवि, बालेन, हर्क, गोपालहरू जेनेरेशन जीको च्वाइस् हो, तपाईंहरूले यो यथार्थलाई मान्नुस् या नमान्नुस् ।

रवि या एक–दुईजना बिग्रिनु अर्कै कुरा हो र यसले यो पुस्ताको मनलाई फरक पार्दैन । यो पुस्तालाई चाहिएको आफ्नो भविष्यको सुनिश्चितता हो । यो पुस्तालाई रोजगारी चाहिन्छ, छिटो चल्ने इन्टरनेट चाहिन्छ, राम्रो बाटो चाहिन्छ, जाम नहुने यातायात प्रणाली चाहिन्छ, बिना घुसबाट लाइसेन्स बनाउने सिष्टम चाहिन्छ, क्याफेमा बसेर कफीको चुस्की लिँदै घरमा गर्न बाँकी रहेको आइटीको काम गर्नसक्ने वातावरण चाहिन्छ । यो पुस्ता तपाईंंहरूको योगदानलाई देश लुट्न प्रयोग भएको होइन, इतिहासको पानामा सफासँग राम्रो अक्षरमा लेखिएको देख्न चाहन्छ । त्यसकारण यो भ्रमबाट मुक्त हुनुस् कि जेनेरेशनजी तपाईंंहरूको पक्षमा छ वा तपाईंंको गरिबी बढाउने अजेण्डालाई यो पुस्ताले इण्डोर्स् गर्छ भनेर । अरु त अरु हामी ५० कटेको पुस्तासमेत पनि जो पञ्चायतलाई व्यहो¥यौँं, बहुदललाई व्यहोर्‍यौँ, ज्ञानेन्द्रलाई व्यहोर्‍यौँ, जनयुद्धलाई बेहो¥योैं र लोकतान्त्रिक गणतन्त्रलाई व्यहोरिरहेका छौं पनि तपाईंंहरूको हामीलाई गरिबका गरिब राखिरहने र तपाईंंहरू भने क्रोनी गभर्नमेन्ट चलाइरहने चाल, चरित्र र चेहराको विरोधमा छौँ ।

यहाँ ठोकुवा गरेर भन्न सकिन्छ कि यदि यस्तै हर्कत जारी रहिरहने हो भने हाम्रा छोराछोरी, जसलाई हामी जेनेरेशनजी भनिरहेका छौं, ले हामीलाई कसम ख्वाएर तपाईंंहरूको बिरुद्धमा उभिन बाध्य पार्नेछन् । तपाईंंहरूको दललाई भोट हाल्नबाट रोक्नेछन् । टुँडिखेलमा नारा लगाउने, कन्सर्टमा नारा लगाउने र अझ सीधा बुझ्नेगरी भन्नुपर्दा बंगलादेशको तख्तापलटमा मुख्य भूमिका खेल्ने यही जेनेरेशनजीहरू हुन् । हामीलाई पनि आफ्ना सन्तानको भविष्यको चिन्ता हुने नै भयो । तिनले आफ्नो भविष्यको निम्ति तपाईंंहरूको विरुद्धमा निर्णय गरे भने हामीले तिनैलाई साथ दिनुपर्ने हुन्छ । उनीहरूको निर्णयको अगाडि तपाईंंहरूको मजाकी शासनसत्ता केही पनि हुने छैन भन्नेकुरा मनमा बाँधेर राख्नुहोस् । 

देशमा एक देश एक शिक्षा जनताको अधिकार हो कि होइन ? एक देश एक स्वास्थ्य प्रणाली हाम्रो अधिकार हो कि होइन ? देशभित्रै रोजगारी पाउने हाम्रो अधिकार हो कि होइन ? राम्रो बाटो हाम्रो अधिकार हो कि होइन ? बाटोको अवस्था कस्तो छ भन्नुपर्ला र ? जनताको सास्तीको असली मापन त दशैंको छुट्टीमा जनता घर फर्किने बेलामा हुने नै छ । के सडकको कारणले जनताको जिउज्यान तलमाथि भयो भने त्यसको जिम्मेवारी लिन सरकार तयार छ ? सुशासन हाम्रो अधिकार हो कि होइन ? यी सवालमा घोत्लिनुहोस् । ज्ञानेन्द्र अहिले पछुतो मान्दै छन् भन्ने सुनिन्छ । शेख हसिना पनि तीन तिहाइ बहुमत हुँदाहुँदै पनि भाग्न बाध्य भएको कुराले पछुताइरहेको हुनुपर्छ । तर, राजनीतिमा पछुतोको स्थान छैन । हिन्दीमा भन्छन् नि चिडिया चुक गई । 

पुछारमा दुई लाइन 

आमजनताको धारणा के बनेको छ भने सीमित इन्टेलेक्च्युअल्स्, उच्चपदस्थ कर्मचारी, पलिटिकल एलिट्स्, औद्योगिक घराना र ठूला ठेकेदार र बिचौलियाबाहेक अरुको निम्ति यहाँ बाँच्न सजिलो छैन । एयरपोर्टमा भीड यसै कारणले लागिरहेको छ । पानी नाकभन्दा तल मुख–मुखसम्म आउँदासम्म पनि डुबेको मानिन्न । तर नाक डुबेपछि टाउको डुब्नुपर्दैन, तिन सेकेण्डमा मरिन्छ । योभन्दा धेरै भन्ने ठाउँ छैन, बुझ्ने नबुझ्ने आफ्नो कुरा ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू