शिवपुरीको फेदमा चितुवाको छालाको व्यापार
काठमाडौंको टोखा नगरपालिकामा हिउँ चितुवाको छाला किनबेच भएको छ । किनबेचमा संलग्न तीन जना समातिएका छन् । टोखा नगरपालिका १०, गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका २, झार्लाङका ४८ वर्षीय खार्पा तामाङ, गंगाजमुना गाउँपालिका ६, आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र ४१ वर्षीय सूर्यबहादुर घले हुन् । सो क्षेत्रमा आखेटोपहार ओसारपसार भइरहेको सूचनाको आधारमा महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त छाला बरामद गरेको हो ।
प्रहरीका अनुसार उनीहरुलाई खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाइएको अवस्थामा चितुवाको छाला फेला परेको हो । तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।
टिप्पणीहरू