कस्तो सपना देख्न पुगेछु कमरेड !

कस्तो सपना देख्न पुगेछु कमरेड !

पल्टिएर आँखा चिम्म के मात्रै गरेको थिएँ अनायासै चाउएन लाई, निकिता ख्रुस्चेभ र हाम्रा ‘केपी बा’ बारे मनमा कुरा खेल्यो । कता–कता पढेको हो कि कसैले भनेर सुनेको हो, ठ्याक्कै थाहा भएन, जेसुकै भए पनि, उनीहरूबारे मनमा तर्कना चल्यो । कुरा के थियो भने, मलाई सम्झना भएसम्म, ख्रुस्चेभले चाउलाई एउटा भेटमा होच्याउने काम गरे । कुनै एउटा समारोहमा ती दुईको भेट भएछ ।

दह्रोसँग हात मिलाउँदै ख्रुस्चेभले भनेछन्– अहो कमरेड, तपाईं त धेरै धनी मान्छे, ठूलो पुँजीपतिको छोरो ! कसरी सर्वहारा वर्गको नेता ? कम्युनिष्ट पार्टीको सरकारमा प्रधानमन्त्री बन्न कसरी सम्भव भयो ? खासमा त मजस्तो साँच्चैको गरिब सर्वहाराको छोरो पो हुनुपर्ने हो, होइन र ? अनपेक्षित यस्तो प्रश्न सुनेर एकछिन त चाउ अल्मलिएछन्, नसोचेको र कुनै सरोकारै नभएको यस्तो नचाहिने प्रश्न किन गरे भनेर । तर, तत्कालै सहज तरिकाले जवाफ दिँदै भनेछन्– कुरा यस्तो हो कमरेड, मैले मेरो वर्गलाई धोका दिएँ र तपाईंले पनि आफ्नो वर्गलाई धोका दिनुभयो, बस् कुरा यत्ति हो । चाउको यस्तो जवाफ सुनेर ख्रुस्चेभ अलि असामञ्जस्यमा परेजस्तो गर्दै अरुतिर फर्के ।

ठ्याक्कै यहीबेला मनमा झल्याँस्स अर्को कुरा बिजुली चम्केजस्तो रफ्तारमा उठ्यो । हैन गाँठे मेरो अध्यक्ष पनि त वर्गबाटै आएको हो । जेल पर्दाताका चाडबाड परेको बेला कार्यकर्ताले कुखुराको भाले पकाएर भेट्न जान्थे, आफ्नो नेताले खान पाएका छैनन् कि भनेर । अत्यन्तै गरिब परिवारबाट आएका, चौध वर्ष जेलै बसेका तर आज अध्यक्ष धेरै अर्कै देखिन्छन् । लवाई, खवाई अर्कै छ । साथी र संगत पनि अलि हुनेखानेहरूको छ । कतै यिनले पनि चाउ र ख्रुस्चेभले जस्तै आफ्नो (हामी) वर्गलाई धोका दिएका त होइनन् ? यत्ति मात्रै के मनमा आएको थियो, भुसुक्कै निदाएछु । विपनाको योभन्दा अरू केही सम्झना छैन ।

सपना पनि कस्तो–कस्तो देखिने । विपनाकै जस्ता कुरा सपनामा पनि आउने ! यस्तो सपना देखेँ भनेर कसैलाई सुनाउन पनि अप्ठ्यारो । यो त भएकै कुरा हो, केको सपनामा यस्तो देखेँ भनेको होला भन्लान् र उडाउलान् भन्ने डर । निदाएको, कतिबेरमा सपना देखेछु थाहा हुने कुरा भएन । तर, जे–जस्तो सपना देखेँ त्यो भने गज्जबको थियोे, सपनामै पनि ब्युँझिन मन नलाग्ने सपना ! भनेपछि कस्तो सपना होला ल भन्नू त ?

यस्तो थियो सपना– मेयर सा’पले उहिल्यैको चुनावमा ल्याएको भन्दा डबल भोटले लिड गरिरहेका छन् । मतगणनास्थल बाहिर समर्थकको ठूलो भीड जम्मा भएर नारा लगाइरहेको छ । सबैजसो प्रतिद्वन्द्वी कालै नीलै छन् हारिने पक्का भयो भनेर । मीनेट मीनेटमा पानी खाइरहेका छन्, आत्तिएर । केही चुरोट सुक्र्याउँदै छन् र ओंठ कलेटी परेका छन् । केही त हारिने चुनावको मतगणनामा किन बस्नु भन्दै दिक्क मानेर अब सुत्न गइन्छ भनी घरतिर लागेका छन् ।

सपना पनि मीनेटमै फेरिने, क्या गजब के ! आहा, ब्रह्मनाल त वास्तवमै अति सुन्दर, सुतुँसुतुँ लाग्ने । घरतिर फर्किनै नपरे हुँदो हो जस्तो हुने । यता हेरे पनि आगो बलेको छ, उता हेरे पनि आगै बलेको छ र मान्छेहरू मुख छोपेर तापिरहेका छन् । साँच्चिकै घर त फर्किनै मन नलाग्ने । सफासुग्घर पनि उस्तै तहको, त्यसैमा राष्ट्रिय गान नै बज्ने । यस्तो भएपछि घर फर्किन मन लाग्ला त कसैलाई ? देशैभरि एमालेका उम्मेदवारहरूले जितेर विजय जुलुस निकालिरहेका । नारा पनि यस्तो कि निरन्तर भट्याइरहुँजस्तो, वी लभ यु, आइ लभ यु, यस्तै के के हो के के, मनै प्रफुल्ल हुने । योभन्दा बढी सपना देखिएन । यो सपना टुंगिए पनि निद्रा भने खुलेन । लगत्तै अर्को सपना पो दख्न शुरु गर्छु ।

सपना पनि कस्तो भने अध्यक्षलाई भेटेरै अहिलेको चुनावमा हासिल भएको उपलक्ष्यमा बधाई दिनुप¥यो भनेर पिएलाई फोन गरिरहें । पिएलाई के भन्दो रहेछु भने, ‘जिल्लाको कार्यकर्ता हुँ, मलाई भेटको निम्ति समय मिलाइदिनुस् ।’ निजी सचिवले पनि पहिलो घण्टीमै फोन उठाउँछन् त बा ! सपनामै चित खाएँ (दिनकै कुरो सपनामा देखिन्छ भन्छन्, हो जस्तो लाग्यो) । लालसलाम कामरेड के भन्न भ्याएको थिएँ पिए कमरेडले तत्काल जवाफ दिए, हुन्छ नि ! ३ बजेतिर आउनुहोस् भेट हुन्छ । उनको जवाफपछि मैले धन्यवाद भनेर फोन काटेछु ।

अब म अध्यक्षको घरतिर लाग्छु । कतिखेर ३ बज्ला भन्दै घरनजिकै पुगेर यताउता हेर्दै टहलिन्छु । घरिघरि घडीमा पनि हेर्छु कति बजेछ भनेर । ठ्याक्कै २ के बजेको थियो मेरो मोबाइलमा घण्टी बज्यो, नम्बर हेरेको उनै पिएको रहेछ, उठाएर हजुर कमरेड भनेँ । उताबाट पिएले भने, सुन्नुस् त कमरेड, आज खासमा मान्छे धेरै छैनन् । अलिअलि थिए ती सबै गइसके । अध्यक्ष कमरेड आराम गरेर पनि उठिसक्नुभएको छ, तपाईं दुई बजे नै आउनुहोस्, तपाईंलाई पनि फर्केर टाढा जान ढिला होला । ढिला नगर्नुहोला । मैले हवस् भनेर फोन काटेको मात्रै के थिएँ, ब्युँझिहालेँ । ब्युँझिँदै मनमा पीर परिसकेको रहेछ ।

यस्तो हालत त हुनै सक्दैन हाम्रो महान् पार्टीका शक्तिशाली अध्यक्षको । मैले सपना जे देखेँ त्यो सपना मात्रै हो, यथार्थ होइन भनेर चित्त बुझाएँ किनभने अध्यक्ष मात्र होइन, उपाध्यक्ष, महासचिव जोसुकै कमरेड कतै निस्किँदा वा एयरपोर्ट जाँदा वा एयरपोर्टबाट कतै होटलतिर आराम गर्न जाँदा स्वागत गर्ने कार्यकर्ताको ताँती देखिरहेको मैले यस्तो झुटा सपना पत्याउने कुरा पनि भएन ।

ह्या यस्तो झुर सपना देखेछु भनेर यस्सो कोल्टे फेरेको त फेरि भुसुक्कै भएर सपना देख्न शुरु गरिसकेछु । त्यो दिन त एकैरातमा कतिथरी सपना देखेछु कि सपनामै सपना देखेर थाकिरहेको म त । विशाल हल रहेछ । मञ्चको बीच, साधारण कुर्सीमा अध्यक्ष र वरिपरि प्लास्टिकका कुर्सीमा वरिष्ठतम् कमरेडहरू बसेका । र, तल फ्लोरमा टनाटन मान्छेहरू, एउटै कुर्सी पनि खाली छैन ।

अध्यक्षले हौसिँदै माइकबाट बांगो चोरी औँलोले देखाउँदै भनिरहेका कि हो यस्तो हुनुपर्छ कार्यकर्ताको जोश र जाँगर ! पार्टीको एक आह्वानमा यसरी हजारौँ संख्यामा उपस्थित भएर मनोबल बढाउने काम गर्नुपर्छ । तपाईंहरूको यो उपस्थितिले मलाई थप ऊर्जा मिलेको छ । यो उपस्थिति विपक्षीका निम्ति दह्रो झापट हो । यसले उनीहरूको मनोबल गिर्नेछ । म खुशी पनि धेरै र छक्क पनि अति नै परेको छु कसरी यो उपस्थिति सम्भव भयो भनेर ।

गाउँ–गाउँमा गएर कमरेडहरूले घण्टी बजाउनु भयो कि ? कि कटुवालेले डाँको हालेछन् ? तपाईंहरूको यो उत्साहजनक विशाल किसिमको उपस्थितिले गज्जबसम्म हौसिएको छु । मलाई थाहा छ तपाईंहरू ढाटा–ढाबाट आउनुभएको छ । उकालो ओरालो हिँडेर आउनुभएको छ । मलाई थाहा छ तपाईंहरूमध्ये धेरै साथी चुनावमा खटेर पनि थाक्नुभएको छ । मैले तपाईंहरूलाई छुट्टै नयाँ कुरा भन्नुपर्ने त्यस्तो केही छैन । सबै पुरानै हुन् । त्यसकारण कसैलाई आँखा चिम्लिन वा निदाउन मन लागेको छ थाकेको कारणले भने साथीहरू आँखा चिम्लिन वा निदाउन सक्नुहुन्छ । निदाउनुस् ढुक्कले । यस्तै–यस्तै बोल्दै हुनुहुन्थ्यो, मेरो त निँदै खुल्यो ।

सपना पनि अर्थ न बर्थका देखिने, कहिलेकाहीँ त र झ्वाँकै चल्ने ! अर्को के हो हो तर गज्जबकै थियोे सपना । सपनामै थिएँ अचानक घन्द्रयाङको आवाजले निँद खुल्यो । तल गएर हेरेको त भोलिको निम्ति चिया खान भनेर फ्रिजको माथि राखेको दूधको भाँडो चोर बिरालोले घोप्ट्याउँदा ताप्के खसेर पो छन्द्रयाङको आवाज आएको रहेछ । यस्सो भित्तामा झुन्डिएको घडी हेरेको, बिहानको साढे चार बजिरहेको रहेछ ।

छेउमै राखेको अम्खोराबाट पानी खाएर फेरि सुतेँ तर निद्रा भने लागेन । बरु मनमा सपनाको कुरा सम्झेर साँच्चैको पीर पो लाग्यो । सपनामा देखेका कुरा र अहिलेको यथार्थबीच के कति तालमेल मिलेको छ त भनेर सोचेँ । कतै केही पनि मिल्दैन, पूरै फरक छन् । पशुपति क्षेत्र उस्तै फोहोर छ, कांग्र्रेसले धेरै ठाउँमा जितेको छ ।

नेताहरूका कार्यक्रममा मान्छे कम उपस्थित हुन थालेका छन्, आएका पनि हाई काढ्ने र निदाउने गर्छन् । भेट्न भनेर घरमा मान्छेहरू आउन छाडेका छन् । असहमतिको आवाज सुन्न मात्र होइन, सहन छाडिएको छ । यस्तो चालाले पार्टीलाई कहाँ पु¥याउने होला भनेर चिन्ता लाग्नु स्वाभाविक हो । पार्टीबाट केही पनि आशा नराख्ने म जस्तालाई त यस्तो चिन्तित बनाएको छ भने धेरै आशा राखेकाहरूको हालत त झन् के होला ? धन्यवाद, लालसलाम !

टिप्पणीहरू