सक्कली नभेटिएपछि अख्तियारका नक्कली इन्सपेक्टरहरु सीमानामा

सक्कली नभेटिएपछि अख्तियारका नक्कली इन्सपेक्टरहरु सीमानामा

महोत्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली निरीक्षकहरु समातिएका छन् । जलेश्वर नगरपालिका–१२ को सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभाष झा र २१ वर्षीय हमिद राईन हुन् । प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टका अनुसार तीनै जनालाई हिजो साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमा नाकाबाट पैसा असुलिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बलको बिओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट दुई हजार दुई सय भारु,एक हजार नेपाली रुपैयाँ र दुई थान मोटरसाइकल बरामद गरेको छ । तीनै जनालाई आवश्यक अनुसन्धानको निम्ति जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

टिप्पणीहरू