दाइजो नपाएको रिसले श्रीमती मारेर भागेका अन्सारी चार वर्षपछि पक्राउ
दाइजो कम ल्याएको भन्दै पत्नीको हत्या गरेर भागेका एक युवक चार वर्षपछि समातिएका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ घर भएका ३३ वर्षीय अच्छन अलि अन्सारी श्रीमती मारेको अभियोगमा पक्राउ परेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले हिजो बाँकेको जमुनाहास्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
२०७५ असार ३१ मा दाइजो थोरै ल्याएको विषयमा निहुँ खोजी विवादको क्रममा अन्सारीले श्रीमती रुवीलाई शारीरिक र मानसिक यातना दिनुका साथै लाठी र भालाले कुटेका थिए । कुटपिटबाट गम्भिर घाइते रुवीको साउन २१ गते भारतको लखनउमा मृत्यु भएको सिआइबीले जनाएको छ ।
अन्सारीविरुद्ध २०७७ चैतमा अदालतले २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
पक्राउलगत्तै उनलाई बाँके अदालतमा उपस्थित गराइएको छ ।
टिप्पणीहरू