पर्सा लागूऔषध कारोबारीको पनि नाका बन्दै
वीरगञ्ज र समग्र पर्सा जिल्ला भारतीय लागूऔषध कारोबारीको निम्ति अखडा बनेको छ । योसँगै भारतीयहरुको बढी आवतजावत हुने मुख्य नाका वीरगञ्जमा प्रहरीले निगरानी बढाएको हो ।
प्रहरीले सीमानाकामा कडाइ गरेसँगै लागूऔषध ओसारपसारमा सक्रिय भारतीयहरु दिनहुँ पक्राउ पर्न थालेका छन् । सोही क्रममा आज झण्डै तीन क्विण्टल गाँजासहित दुई जना भारतीय समातिएका छन् । पक्राउ परेकामा बिहार घर भएका विजेशकुमार यादव र धर्मेन्द्र यादव हुन् ।
पर्साका डिएसपी प्रल्हाद कार्कीका अनुसार भारतीयहरु गाँजा ओसारपसारमा सक्रिय रहेको सूचना पाएपछि प्रहरीले भारतीय ट्रकलाई रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा एउटा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइएको अवस्थामा दुई सय ७० केजी गाँजा फेला परेको हो ।
गाँजा ओसारपसारमा प्रयोग भएको ट्रक र पक्राउ परेका उनीहरुलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले बताए । यसअघि वीरगञ्जबाटै ९० केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । जसमा ३० वर्षीय रविकान्त भारती र २८ वर्षीय सुनिल भारती थिए ।
टिप्पणीहरू