कोरोना कहर : मृत्युलाई जित्ने मान्छेको रहर !

पछिल्लो केही समययता विश्वमा एक किसिमको नयाँ भाइरस फैलिएको विज्ञानले बताएको छ, जसलाई कोरोना (कोभिड १९) नाम दिइएको छ । यसकै कारण अहिले करिब चार महिनामै विश्वभर तीन लाख भन्दा बढी मानिसको मृत्यु भएको समाचार सार्वजनिक छ । समाचार अनुसार यसबाट संक्रमित दशौं लाख मानिस उपचाररत छन् भने लाखौंजन निको पनि भइसकेका छन् ।

एक मानिसबाट अर्काेमा दु्रत गतिमा यो संक्रमण फैलिने र मृत्युसमेत गराउन सक्ने कारण विश्व नै भयभीत छ । बच्ने एउटै विकल्पका रुपमा सबैजसो देशमा बन्दाबन्दी गरिएको छ । नेपालमा पनि लकडाउन भएको दुई महिना हुनै लाग्यो । अहिलेसम्म ठूलो हताहतीको स्थिति त नेपालमा छैन तर दिनप्रतिदिन संक्रमित बढेको स्वास्थ्य परीक्षणले देखाइरहेको र हालै केही मृत्यु समेत भएकोले हामीकहाँ पनि त्रास बढ्दैछ ।

यो भाइरसबाट जोगिन भीडभाडमा जान नहुने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, पटक–पटक साबुनपानीले मिचीमिची हात धुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षाको उपाय विश्वव्यापी रुपमै अवलम्बन गरिएको र गर्न लगाइएको छ । मानिसका यावत् उपायहरुले कोरोनाबाट त बच्न सकिएला, कुनै पनि हालतमा मृत्युलाई जित्न भने असम्भव छ । मान्छेको असाध्य रहर हो मृत्युलाई जित्ने तर मृत्यु त अजय छ । अहिले जति पनि मानिस मरेका छन् यो भाइरसबाट । त्यो त एउटा बहानामात्रै हो कोरोना ।

मर्नु त एकदिन सबैले छँदैछ । हरेक मृत्युको एउटा एउटा निहुँ हुन्छ नै । यस धर्तीमा जीवित रहने मिति सकिएपछि बस्दाबस्दै, बोल्दाबोल्दै, खाँदाखाँदै, खेल्दाखेल्दै पनि मृत्यु हुन्छ । सडक दुर्घटना होस् या रोग । सतहमा कुनै कारण देखिने मात्र हो, रहस्य त अद्भूत नै छ जीवन–मरणको । जसरी वरदान सरी आफ्सेआफ् मिलेको जीवन हो, त्यसैगरी मरणलाई पनि हाम्रो चाहना वा बलबुताले रोक्न वा डाक्न सकिँदैन ।
प्रकृतिको वशमा छ हाम्रो जीवन । यो संसार नै प्रकृतिको चालमा चलेको छ । प्रकृतिलाई मानिस वा विज्ञानले कहिल्यै जित्न सक्दैन । प्रकृतिकै देन हो विज्ञान । अब कोरोनाको औषधि बन्ने, नबन्नेमा प्रकृतिकै हात प्रधान हुन्छ, वैज्ञानिक त सहायक हुन् । यस धर्तीमा कसलाई जन्माउने वा मार्ने कुरा प्रकृतिकै चाहना वा आवश्यकतामा निर्भर छ ।

मृत्यु अवश्यम्भावी छ, जहाँ जतिबेला जो पनि मर्न सक्छ । त्यैपनि अहिले किन यतिविघ्न भयत्रस्त छ मानिस ? भाग्यमा यदि बाँच्नु छ भने कोरोनाको दाल गल्दै गल्दैन तर कोरोनाकै कारण मर्नु छ भने जस्तोसुकै औषधि आएपनि त्यसले बचाउन सक्दैन । केही विश्वप्रसिद्ध भनाइहरु समेटिएको एक पुस्तकमा डाक्टरबारे अरस्तुको भनाइ लेखिएको छ, ‘डाक्टरले उपचार गर्दछन्, प्रकृतिले निको पार्दछ ।’ त्यस्तै गेलेन भन्छन्, ‘डाक्टर प्रकृतिको सहायक मात्र हो ।’ हामी पनि मानौं, प्रकृतिकै खेल हो यो जीवन–जगत ।

प्रकृतिको इच्छाविना हाम्रो केही सीप चल्दैन । हामी त खालि एउटा प्राणी न हौं, अरु धेरै प्राणी र पदार्थलाई चलाउनुछ प्रकृतिले । हामी नरहे पनि प्रकृति रहन्छ, जसरी डाइनासोर नरहेर प्रकृतिको गति रोकिएको छैन । तर प्रकृति नरहे हामी रहँदैनौं, न कुनै विज्ञान नै रहन्छ । त्यसैले मृत्युदेखि डराउनु बेकार हो । समयको आफ्नै गति छ, हामीले धकेलेर धकेलिँदैन । दिनलाई धकेलेर रात पार्न वा रातलाई सारेर दिन ल्याउन नसकिए जस्तै जन्म–मृत्युलाई पनि अघि–पछि धकेल्छु भन्ठान्नु निरर्थक हो ।

हुन त ‘सावधानी हटी, दुर्घटना घटी’ भनिन्छ । सावधानीले नै सबैथोक हुने भए चुरोट, सुर्ती, जाँडरक्सी खाँदै नखाने पनि क्यान्सर लगायत विभिन्न रोगको शिकार भएकै छन् तर खाने पनि बचेकै छन् । गाडी स्पिडमा चलाउनेमात्रै होइन, बिस्तारै ड्राइभ गर्ने पनि दुर्घटनामा परेकै छन् । आफूले साइडमा बिस्तारै चलाइरहँदा पछाडिबाट अर्काेले ठोकेर मरेका पनि त छन् नि ¤ त्यसैले धर्म तथा भगवान मानेर मनमा शान्ति लिएजस्तै हो हामीले सावधानी अपनाएर दुर्घटनाबाट बच्छौं भन्ने कुरा ¤ रुखले जति कोसिस गरेपनि झर्ने पातलाई कहाँ बचाउन सक्छ र ? भोलि हावाबाट सर्ने र तुरुन्तै मर्ने रोग आयो भने के गर्ने ?

हावाहुरी, वर्षा, चट्याङ, भुइँचालो जस्तै यस संसारमा बेला–बेलामा विभिन्न संक्रमण आइरहन्छ, त्यसले जहाँ–जहाँ जे–जति क्षति पु¥याउनुपर्ने हो, पु¥याएरै छाड्छ । कुनै मानिस वा विज्ञानको तागतले छेक्न सक्दैन । जस्तै अहिले कोरोनाबाट विज्ञानप्रविधिले सु–सम्पन्न विकसित राष्ट्रहरुमा ठूलो क्षति भइसक्दा पनि हाम्रो जस्तो कमजोर विकासशील देश अहिलेसम्म ठूलो नोक्सानीबाट बचेकै छ ! एउटै रोग लाग्दा पनि कोही बाँच्ने र कोही मर्ने भइरहेको छ ¤ भोलि के हुन्छ, त्यो प्रकृति नै जानुन् ।

कसैको जन्म जमिनदार परिवारमा, कोहीको सुकुमवासी घरमा । कोही जन्मिँदै लुलोलङ्गडो, कोही हुर्कंदै–बढ्दै जाँदा आफ्नो–अर्काको कारणबाट शारीरिक–मानसिक रोगी । कसैकी श्रीमती जति कुट्दा पनि छोडेर जान्नन्, कोहीकी पत्नीचाहिँ असाध्यै माया गर्दा पनि अर्कैसँग टाप कस्छन् । त्यसैले रोग, भोक, शोक पनि हाम्रो हातको कुरा होइन । जस्तो कि जीवन–मरण, अतः यसबीच हुने सबै–सबै गतिविधि पनि प्रकृतिकै इसारामा सञ्चालित छ भन्न सकिन्छ ।

टिप्पणीहरू