विष्णुको नाम सुन्दा विद्या विरक्त

विष्णुको नाम सुन्दा विद्या विरक्त

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको दपेटाईमा परेका नेता–कार्यकर्ताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटलाई प्राथमिकता दिइरहेका छन् । पार्टी सदस्यता नवीकरण गराएर राजनीतिमा फर्किने तयारीमा रहनुभएकी तर अध्यक्षको ‘स्वागत’को पर्खाइले तत्काल रोकिनुभएकी विद्याले सबैलाई सहज पहुँच दिएपछि चपलीस्थित उहाँको निवासमा पछिल्लो समय भीडभाड बढेको छ । जिल्ला–जिल्लाबाट काठमाडौँ आएका कार्यकर्ता बालुवाटार छिर्न नपाए पनि पूर्वउपाध्यक्षलाई भेटेर आफ्ना कुरा सुनाउन पाएकोमा दंग पर्दै फर्किने गरेका छन् । 

स्रोतका अनुसार प्रायः सबै भेटघाटमा विद्याले आफू धेरै नबोली कार्यकर्ताको कुरा सुन्ने गर्नुभएको छ । पदाधिकारी तहका नेताहरूसँग अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउने गर्नुभएकी उहाँले जिल्ला तहका कार्यकर्तालाई बोलाएर उनीहरूको मनस्थिति बुझ्न खोजेको अर्थमा हेरिएको छ । अर्को वर्ष मंसिरमा अर्ली महाधिवेशन गरेर निर्विरोध अध्यक्ष हुने र पार्टीमा निर्विकल्प रहेको सन्देश दिने रोडम्यापसहित ओली अघि बढेको चर्चाका बीच तल्लो तहका कार्यकर्ताले पूर्वराष्ट्रपति निवासमा ‘एक्सेस’ पाउनु राजनीतिक हिसाबले आफैँमा अर्थपूर्ण छँदैछ । 

भनिन्छ, भीम रावललगायत फरक मत राख्नेहरूलाई यसबीच पार्टीबाट निकालिसक्ने र प्रधानमन्त्री छँदै महाधिवेशन गरेर अध्यक्ष भैछाड्ने ओलीको ठूलो रहर छ । सौराहा महाधिवेशनमा पनि निर्विरोध अध्यक्ष हुने चाहना राख्नुभएका उहाँलाई रावलले बाधा हालेपछि अन्तिममा बाक्सा थाप्नुपर्ने अवस्था आइलागेको थियो । विरोधीशून्य पार्टी चलाइरहनु भएका उहाँ यसपटक त्यस्तो अवस्था नआओस् भन्नेमा सतर्क हुँदाहुँदै विद्याको सम्भावित आगमनबाट त्रसित रहेको बुझिन्छ । 

विद्याको भित्रभित्रैको सक्रियता यसैतर्फ लक्षित रहेको एकथरी एमाले नेताहरूको अनुमान छ । नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधि नै निर्णायक रहने भएकाले तल्लो तहका कार्यकर्तासँगको भेटघाटलाई उहाँले महत्व दिएको नेताहरू बताउँछन् । 

निकटहरूसँगको कुराकानीमा पूर्वराष्ट्रपतिले ओलीको उत्तराधिकारीबारे पनि चासो राख्ने गर्नुभएको छ । महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई अध्यक्षद्वारा उत्तराधिकारीमा सिंगार्न खोजिएकोप्रति उहाँको असन्तुष्टि प्रष्ट शब्दमा व्यक्त हुने गरेको चपली पुगेर फर्किनेहरू बताउँछन् । हालै भेट्न पुगेका लुम्बिनीका एक नेताले यसबारे चासो राख्दा ‘विष्णु रिमाल विष्णु रिमाल नभन्नु के तपाईंहरू, बाहिर पार्टीको इमेज बिग्रेकै उनको कारणले हो’ भन्ने जवाफ दिनुभएको थियो । शंकरको हकमा पनि ‘संगठन चलाउन ढंग पुगेन’ भन्ने गर्नुभएको छ । 

तर, एमालेमा अहिले अध्यक्ष ओलीविरुद्ध कोही पनि बोल्न सक्ने स्थिति छैन । अनौपचारिक संवादमा भने ‘केपी कमरेडले शंकरलाई अघि बढाउन खोज्नुभएको हो भने त हुँदैन’ भन्नेमा अधिकांशको मत रहेको पाइन्छ । ओलीको आफ्नै चाहना चैँ आफू सर्वसम्मत अध्यक्ष भएर नेतृत्वमा निर्विकल्प रहेको सन्देश दिने र शंकरलाई अघि सार्ने नै हो । त्यसो हुँदा आगामी महाधिवेशनमा शंकरले अध्यक्षबाहेक रोजेको पद पाउने छन् । आफू उपाध्यक्ष बसेर उनले विष्णु रिमाललाई महासचिव बनाउने सम्भावना देख्छन् नेताहरू । किनभने बाँकी दुई उपमहासचिवमा अध्यक्ष ओलीसँग घनिष्ट सम्बन्ध नभएका पृथ्वीसुब्बा गुरुङ्गलाई आफ्नै एउटा अभिव्यक्तिले अहिले रक्षात्मक बनाएको छ । प्रदिप ज्ञवाली पनि पछिल्लो समय अध्यक्षको रोजाईमा छैनन् भनिन्छ । 

‘विद्याको चुरो कुरा चैँ ओलीले सर्लक्क छोडिदिए तत्काल आउने नै हो । तर प्रतिस्पर्धा गर्ने कुरामा चाहिँ अझै द्विविधामै रहेको बुझिन्छ’, निकट स्रोत भन्छ, ‘बाहिर केपी ओली र विद्या भण्डारीबीच हार्दिक सम्बन्ध छ भन्ने बुझाइ रहे पनि वास्तवमा अहिले त्यति ठूलो निकटता र हार्दिकताको अवस्था भने छैन ।’

यता, काठमाडौँ महानगरका मेयर बालेन साहसँग प्रधानमन्त्री ओलीको अहिले चलिरहेको शीतयुद्धमा उहाँको सचिवालय टिमको भूमिका एमालेभित्र आलोचनामा परेको छ । बालुवाटारमा बसेर ल्यापटपमा निकालेको हिसाब अध्यक्षलाई देखाउँदै पार्टी र राजकीय सत्तामा लगातार अवसर पाउँदै आएका विष्णुको नेतृत्वमा अस्गर अली, किरण पौडेलहरूको सचिवालय टिम छ । तर, तथाकथित विज्ञता प्रदर्शन गर्दै बारम्बार बालुवाटार प्रवेश पाइरहेका विष्णुहरूले बालेनसँगको झगडामा अध्यक्षको बचाउ गर्न नसकेको भन्दै आलोचना भएको हो । 

केपी ओलीको फेसबुक पेज ‘अनफलो’ गर्न बालेनले गरेको एउटा आह्वानमा एकै दिन एक लाख फलोअर घट्यो । दुई दिनमा एक लाख पुर्‍याउने युवा संघका अध्यक्ष क्षितिज थेवेले फेसबुक ग्रूपमा सर्कुलर जारी गरे पनि बढेको छैन । यस्ता हावादारी कुरामा नेता–कार्यकर्तालाई लडाई गर्न प्रेरित गर्ने चैँ विष्णु नै हुन् । सामाजिक सञ्जालको प्रयोग बढाउन जोड दिँदै उनले यसअघि अध्यक्ष ओलीको स्टाटसमा लाइक र कमेन्ट गर्न कार्यकर्तालाई निर्देशन नै दिएका थिए । सामाजिक सञ्जालबाट लोकप्रिय होइने यस्तो आइडिया अहिले एमालेका लागि भारी पर्दैछ । उपमहासचिवले अध्यक्षको लाइक बढाएर बालेन र हर्कहरूलाई माथ खुवाउनु पर्यो भनी प्रशिक्षण दिएको वर्ष दिन नपुग्दै ‘एमाले फेसबुकबाट उदाएको पार्टी हैन’ भनी बचाउ गर्दै हिंड्नु परेको स्थिति छ । 

बालेनले लेखेको पोष्टमा एक घण्टामा लाखौँ कमेन्ट र शेयर हुन्छ तर, प्रधानमन्त्री ओलीको स्टाटसमा दिनभरमा हजार कमेन्ट पुग्दैन । यसअघि रवि लामिछानेको हकमा यस्तै हुन्थ्यो । पाँच वर्षअघि प्रेस काउन्सिलले कारवाही शुरु गर्न लाग्दाखेरि उनले हत्तपत्त ‘निकितासँग नयाँ जीवन शुरु गर्दैछु’ भनेर बिहान ९ : ४५ बजे स्टाटस लेखे । आधा घण्टाभित्र १६ हजार लाइक र कमेन्ट आयो । त्यसमा आधाभन्दा बढी महिला थिए । ‘श्रीमतीलाई धोका दिएर अर्को महिलासँग बिहा गर्न लाग्दैछु’ भन्ने आशयको स्टाटसमा क्याबात भनेर कमेन्ट लेख्ने अधिकांश महिला नै थिए । 

समाजमा नेता र राजनीतिक दलप्रति चरम वितृष्णा बढिरहेका बेला प्रधानमन्त्री र सत्ताधारी पार्टीका नेता–कार्यकर्ता सामाजिक सञ्जालमा ‘लाइक र कमेन्ट’ गनेर बस्ने कि जिम्मेवार ढंगले प्रस्तुत हुने ? एकजना एमाले नेता भन्छन् ‘विष्णु रिमालहरूको एकै दिनमा धोति फुस्काइदिए । अध्यक्षले हाम्रा युवा काम लागेनन्, बेकारका भए भनी बैठकमा कराएर पनि अब हुनेवाला केही छैन ।’ हुन पनि हो अवस्था कस्तो छ भने ओलीको समर्थनमा कसैले लेखे फेसबुकमै गाली खानुपरेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू