आज बढुवा, भोलिपल्टै सरुवा र घटुवा

आज बढुवा, भोलिपल्टै सरुवा र घटुवा

मन्त्रिपरिषद्ले सहसचिवलाई सचिव बनाउँछ,मन्त्री बेखबर ! अनि, सचिव भइसकेका कर्मचारीले सहसचिवकै रुपमा सरुवा हुनुपर्ने बिडम्बना छ ।

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीले यसरी सचिव भएका आफ्नै कर्मचारीलाई सहसचिवका रुपमा सरुवा गरेका हुन् ।
गोकर्णमणि दुवाडी अघिल्लो दिन मन्त्रिपरिषद्को निर्णयानुसार सचिवमा पदोन्नत भए, भोलिपल्टै सहसचिवका रुपमा सरुवा भए ।

बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयको सचिवका रुपमा कार्यरत उनीसहित मानबहादुर बिक र विष्णु नेपालहरु सचिव बन्ने लाइनमा थिए । बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा रहेका दुवाडीलाई हिजै मात्र मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्यो ।

तर,सोमबार बिहान मात्र मन्त्री त्रिपाठीले सहसचिवको रुपमा उनको सरुवा गरेका थिए । यसरी सरुवा भएकाहरुमा दु्वाडीसहित दीपक काफ्ले,भूमिराज शर्मा,शङ्करप्रसाद खरेल,शेषनारायण पौडेल र डा.हरिप्रसाद लम्साललगायत छन् । मन्त्रालय स्रोतका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक काफ्लेलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयतिर पठाइएको छ ।

भूमिराज शर्मालाई अर्थ मन्त्रालयमा तानिएको छ । उनी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय,प्रदेश नम्बर ५ का सचिव शङ्करप्रसाद खरेललाई सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम पुर्याइयो । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेषनारायण पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ल्याइएको छ । सुदूरपश्चिमका सामाजिक विकास सचिव डा. हरिप्रसाद लम्साल भने मुख्यमन्त्री कार्यालय हेटौडा पुगेका छन् ।

टिप्पणीहरू