भन्सार छलेर भारततर्फ रक्सी लैजान धनुषा रोजियो
धनुषाबाट अवैध आयात निर्यात बढ्न थालेको छ । पछिल्लो पटक भन्सार छलेर भारत लैजाँदै गरिएको सोफी नामको रक्सी बरामद गरिएको छ । प्रहरीले नगराईन नगरपालिका ४ स्थित जकपुर–तुलसियाही सडकबाट भारततर्फ जाँदै गरेको पिकअप र रक्सी बरामद गरेको हो ।
गस्तिमा खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा २३ वर्षीय नुरे आलम शेषले चलाएको ज.१ च. १२६८ नम्बरको पिकअपमा तीन सय कार्टुन रक्सी फेला परेको हो । प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन र अवैध रक्सीको भ्याट बिल भिडाउँदा गाडी नम्बर फरक परेको हो ।
बिलमा ना.२ च.३३१९ नम्बरको गाडी भारततर्फ जान लागेको भनिएको थियो । उक्त रक्सीको मूल्य २७ लाख ५८ हजार रहेको बताइएको छ । अहिले सोफी रक्सी र सवारी साधन आन्तरिक राजश्व कार्यालय जनकपुरधाम पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
टिप्पणीहरू