सडक बालबालिकाको मिर्गौला बेच्ने गिरोह समातियो

सडक बालबालिकाको मिर्गौला बेच्ने गिरोह समातियो

सडक बालबालिकाको मिर्गाैला झिकेर बेच्ने आराधिक गिरोह समातिएको छ । लाखौँ रुपैयाँ कमाई हुने प्रलोभन देखाई फकाएर भारत पुर्याउने र मिर्गौला बेच्ने गरेको सुराकीका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५, घर घई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५, बस्दै आएका २८ वर्षीय विधान, हिमाल भनिने धनबहादुर रोका र गुल्मीको तम्घास नगरपालिका–२, घर भई काठमाडौंको गौशाला बस्दै आएका ३१ वर्षीय विजय कुँवर हुन् ।

त्यस्तै, दोलखाको चामुण्डा विन्द्रासयनी नगरपालिका–६, घर भई काठमाडौंको कालोपुल बस्दै आएका २८ वर्षीय धुपेन्द्र शाही, काठमाडौंको चाबहिल बस्दै आएका ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ घर भई थिमि बस्दै आएका २१ वर्षीय छोटे भनिने आशिष तामाङ पनि पक्राउ परेका छन् ।

ब्यूरोका प्रवक्ता दानबहादुर मल्लका अनुसार उनीहरुले काठमाडौंका सडक बालबालिकालाई निसाना बनाएर विभिन्न लोभमा भारत पुर्याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट खुलेको हो ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाहीका निम्ति थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू