तरकारी कस्तो खाने, कसरी खाने ?

तरकारी कस्तो खाने, कसरी खाने ?

विभागीय मन्त्रालयले नछोड भन्ने, कोभिड नियन्त्रण कार्यदलले ‘एकछिन पनि नरोक’ भन्ने । फलतः ती गाडीहरु नागढुंगा नाका हुँदै भित्रिए । अन्दाज छ, कम्तिमा पाँच हजार । साँच्चै नै उपत्यकामा त्यस्ता पाँच हजार गाडी भित्रिएका हुन् भने २५ हजार भारतीय नागरिक काठमाडौंभित्र छन् ।

कोरोना संक्रमणबाट तराईको तुलनामा केही सुरक्षित मानिने काठमाडौंवासीका लागि दुःखको खबर छ, तराईतिरको दुःख यता सर्दैछ ।
कोरोना संक्रमणको पछिल्ला जटिलता हल गर्न जेठ १ गतेदेखि नयाँ व्यवस्था लागु भयो । सम्पूर्ण सवारी पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला आवत–जावतमा पूर्णतः रोक लगाइनेजस्ता व्यवस्थापछि विश्वास गरियो, भारतबाट आउने संक्रमण कम्तिमा काठमाडौं भित्रिन पाएको छैन । तर,यो कुरा सत्य होइन रहेछ ।

सरकारको निर्णलयलगत्तै भारतबाट नेपाल छिर्ने विभिन्न नाकाबाट आइरहेका ढुवानीका गाडीहरु जहाँ–जहाँ थिए, त्यहीँ–त्यहीँ रोकिए । काकडभिट्टा, जोगवनी, वीरगञ्ज, सुनौली, रुपैडियाबाट खाद्यान्न, तरकारी तथा फलफूल आयात गर्ने ट्रक तथा कन्टेनरको लस्कर नेपाली भूमितिर लाग्यो । कारण थियो, कसैले पनि काठमाडौं छिर्न नपाउनु।

यो गृह मन्त्रालय,विपद् व्यवस्थापन महाशाखाको निर्णय हो । तर,३ गते कोभिड नियन्त्रण उच्चस्तरीय कार्यदलको सचिवालयले गृहलाई हैन-ती गाडी आउन देऊ । नेपाल प्रहरी गृहमातहतको निकाय हो । तर, कोभिड नियन्त्रण कार्यदल रक्षा मन्त्री नेतृत्वको छ । त्यसको सदस्य प्रहरी महानिरीक्षक पनि हुन् ।

विभागीय मन्त्रालयले नछोड भन्ने,कोभिड नियन्त्रण कार्यदलले ‘एकछिन पनि नरोक’ भन्ने । फलतः ती गाडीहरु नागढुंगा नाका हुँदै भित्रिए । प्रहरीस्रोतका अनुसार त्यस्तो आदेश आउनासाथ रातको समयमा ढुवानीका गाडी भित्रिएका छन् । तर,तिनको अभिलेख राखिएको छैन । अन्दाज छ, कम्तिमा पाँच हजार ।

उदाहरणका लागि, तरकारी ढुवानी गर्ने एउटा ट्रकमा कम्तिमा एक–एक जना चालक,सहचालक हुन्छन् । तरकारी ढुवानीकर्ता स्वयं वा तिनका प्रतिनिधि एकजना हुन्छन् । र, लोड–अनलोडका लागि एउटा गाडीमा कम्तिमा दुईजना मजदुर हुन्छन् । अर्थात्, भारतबाट आएको एउटा गाडी छिर्दा थोरैमा पनि पाँच जना भारतीय नागरिक सवार हुन्छन् । यदि, यसअवधिमा साँच्चै नै उपत्यकामा त्यस्ता पाँच हजार गाडी भित्रिएका हुन् भने २५ हजार भारतीय नागरिक काठमाडौंभित्र छन् ।

दुई सरोकारवाला मन्त्रालयबीचको क्षेत्राधिकार विवादले सिर्जना गरेको यो विसंगति अहिलेसम्म ढाकछोप त गरिएको छ । तर, कोरोना संक्रमणको सबभन्दा बढी खतराका रुपमा तरकारी तथा फलफूल बिक्री केन्द्रलाई तोकिएको भने यथार्थ हो ।

अर्थात्, गल्तीको शुरुवात कहाँबाट भयो ? त्यतातिर अध्ययन र विश्लेषण हुँदैन । गल्ती भइसकेपछि त्यसले पार्ने असरबाट कसरी जोगाउने भन्ने तातोचाहिँ लागेको छ ।

यसरी भारतबाट छिरेका तरकारी तथा फलफूलमा संक्रमणको जोखिम देखिएपछि राजधानीका अधिकांश तरकारी बजार सिल गरिएको छ । सर्वसाधारणले सहज रुपमा खरिद गर्न पाएका छैनन् ।

अर्कातिर, स्वदेशी वा स्थानीय तरकारी उत्पादकहरुले आफ्नो उत्पादनलाई बजारमा लैजान सकेका छैनन् । किनभने, खुलेआम बेच्न नपाइने व्यवस्था गरिएको छ ।

निश्चित ठाउँमा तरकारी तथा फलफूल बेच्न पाइने व्यवस्था त छ । तर, सयवटा पसल खोल्न दिँदा पाँच हजार उपभोक्ताले तरकारी किन्ने स्थितिलाई नियन्त्रण गरेर एउटा पसल वा बिक्री केन्द्रबाट किन्ने व्यवस्था गरिएपछि त्यहाँ लाग्ने मानिसको घुइँचो र त्यसले बढाउने जोखिमबारे सरोकारवालाले केही सोचेका छैनन् । बरु,भीड देख्नेबित्तिकै प्रहरी कुदाइन्छ, सर्वसाधारणको भागाभाग चल्छ ।

यो स्थितिले उपत्यकामा तरकारी तथा फलफूलको अभाव भएर होइन, माथिका दुई सरोकारवाला निकायका नीति बाझिँदा त्यसको मारमा सर्वसाधारण परेका छन् ।

टिप्पणीहरू