बालुवाटारमा एमसिसीको ब्यथा

बालुवाटारमा एमसिसीको ब्यथा

देशका लागि गर्नुपर्ने चिन्ताहरु थुप्रै छन् तर बालुवाटारलाई सबभन्दा ठूलो पीर छ, विवादास्पद अमेरिकी परियोजना एमसिसीको ।

अचम्म के छ भने, प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको समूहका सांसदसहित नेपाली कांग्रेसमा यो परियोजना अनुमोदन गर्ने कुरामा कुनै मतभिन्नता छैन । तर, समस्या परेको छ, पूर्वमाओवादी र पूर्वएमालेको माधव समूहलाई मनाउनमा । अहिले बालुवाटारमा दिनमा दुई–तीन चरणका भेला, छलफल चल्दैछ, एमसिसीबारे ।

पार्टीको स्थायी कमिटी बैठक छल्दै संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको आक्रोशमै रहेका पूर्वमाओावदी र पूर्वएमालेको माधव समूहका सांसदलाई पालैपालो बोलाएर छलफल गर्नमा बालुवाटार व्यस्त बनेको हो ।

नीति तथा कार्यक्रमबाट कुरा शुरु गरेर ‘एमसिसी के गर्ने हो त’ भन्दै छलफललाई त्यतातिर मोड्ने र फकाइफुल्याईको शैलीमा अनुमोदन गर्न आग्रह गर्ने काम चलिरहेको छलफलमा सहभागी नेकपा सांसदहरुले जनआस्थालाई बताए । ‘हो, हामीलाई बोलाइयो र त्यही कुरा भनियो’, पूर्वमाओवादी समूहकी सांसद रेखा शर्माले जनाआस्थालाई बताउनुभयो ।

एकचोटिमा आठदेखि १० जनामात्रै बोलाउने । अरु–अरु कुरा पनि गर्ने, तर अन्तिममा ‘एमसिसी पास गर्नमा सहयोग गर्नुस् है’ भनेर पठाउने क्रम चलेको छ । ‘यत्रो पैसा आउने कुरा, त्यसै खेर जान दिनुहुँदैन’ भन्दै अहिलेसम्म असहमत समूहका करिव ७० सांसदसँग बालुवाटारमा छलफल चलिसकेको बताइन्छ ।

उनीहरुलाई घर–घरमै गाडी पठाएर बालुवाटार लाने गरिएको छ । त्यहाँ छलफल सकिएपछि खाजा खुवाएर बिदा गरिन्छ ।

टिप्पणीहरू