चाँदीको कचौरा छिराउन खोज्ने साहिल कुमार वीरगञ्जमा समातिए
चाँदीका कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-६ का १८ वर्षीय साहिल कुमार साह भारतबाट अवैधरुपमा नेपाल भित्र्याएको चाँदीको कचौरा र मूर्तिसहित समातिएका हुन् ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज-१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा साहलाई पक्राउ गरेको हो ।
रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एएस २१६२ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्ति ११०६ ग्राम ४०० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।
पक्राउ परेका उनलाई गरगहनासहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
टिप्पणीहरू