तीन पेस्तोल र ५ किलो सुनसहित धादिङका ‘बेगे’पक्राउ
धादिङको खनियाबास गाउँपालिका-४ का बेगबहादुर तामाङ ‘बेगे’ सुनसहित पक्राउ परेका छन् । मंगलबार लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेसंगै शोभा तामाङ पनि पक्राउ परेका छन् ।
‘बेगे’ को घरबाट बुधवार ३ थान पेस्तोल र ५ किलो सुन बरामद भएको धादिङका एसपी राकेश सिंहले बताए । ‘पक्राउको क्रममा बेगे र शोभाको साथमा एक थान पेस्तोल,एक किलो सुन र डलर फेला परेको थियो’,एसपी सिंहले भने-‘घर खानतलासी गर्दा २ थान पेस्तोल, १ किलो फाइण्ड गोल्ड लेखिएको बिस्कुट आकारको सुन जस्तो देखिने ४ वटा पहेलो धातु र पेस्तोलमा लाग्ने गोली बरामद गरिएको छ ।’
ग १ ज ६७५३ नम्बरको मुस्ताङ फोर्स गाडीमा धादिङबेसीतर्फ आउँदै गर्दा ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो । सुन ल्याउँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।
पक्राउपछि बयानको क्रममा थप शंकास्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान चाइनिज पेस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको हो ।
पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरी निरीक्षक थापाले बताए । पक्राउ परेको सुन परिक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।
टिप्पणीहरू