सेल्फ क्वारेन्टाइनमा स्वास्थ्यमन्त्री
‘मन्त्री नै क्वारेन्टाइनमा बसेन, हेलचेक्र्याई गर्यो भन्लान्, अनुशासित भएन भन्लान्, त्यसैले म त पाँच दिन क्वारेन्टाइनमा बसेँ ।’
सार्वजनिक भूमिकामा रहेका मानिसहरुले आफूलाई भन्दा निकटस्थलाई मध्यनजर गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने सन्देश दिएका छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ।
पाँच दिनसम्म पुल्चोकस्थित सरकारी निवासबाट कतै ननिस्किएका ढकाल आज मंगलबारबाट मात्रै नियमित काममा फर्किने भएका छन् ।
सेल्फ क्वारेन्टाइनमै बसेका कारण हिजो सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा पनि उनी उपस्थित भएनन् ।
जनआस्थाले फोन गर्दा सुनाए, ‘मन्त्री नै क्वारेन्टाइनमा बसेन,हेलचेक्र्याई गर्यो भन्लान्, अनुशासित भएन भन्लान्, त्यसैले म त पाँच दिन क्वारेन्टाइनमा बसेँ ।’
अब कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकार ठूलो र फरक किसिमको तयारीमा जुटेको उनले सुनाए ।
प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको नयाँ मोडालिटी आउने संकेत गर्नु र स्वास्थ्य मन्त्रीले ‘ठूलो र फरक किसिमको तयारी’ को कुरा गर्नुले बुझ्न सकिन्छ, पछिल्लो समय सरकार कोरोना संक्रमण रोक्ने मामिलामा झनै गम्भीर भएको छ ।
सोमबार साँझसम्म १ लाख ४६ हजारको आरडिटी र पिसिआर परीक्षण भइसकेको छ । पिसिआर परीक्षणमात्रै ५१ हजारको भइसकेको छ । शायद, सरकारले पिसिआर परीक्षणको रफ्तार बढाउँदैछ ।
टिप्पणीहरू