सप्तरीमा विपद्का घटना बढ्दो, आत्महत्या गर्नेको पारो चढ्दो

सप्तरीमा विपद्का घटना बढ्दो, आत्महत्या गर्नेको पारो चढ्दो

केही वर्षयता मनसुनजन्यसहित अन्य विपद्का घटना बढ्दो छ । वर्षेनी विपद्का कारण धेरै धनजनको क्षति हुने गरेको छ । मधेश प्रदेशको सप्तरीमा आर्थिक वर्ष २०७८/७९ मा दुई सय ७५ विपद्का घटना घटेका छन् ।

एक वर्षको अवधिमा तीन करोड ८० लाख १३ हजार नौ सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । सबैभन्दा धेरै क्षति आगलागीका कारण भएको हो । एक सय ७७ वटा आगलागीका घटना घटेका छन् भने तीन महिला, एक–एक पुरुष र बालबालिकाको ज्यान गएको छ ।

आगलागीमा परेर ३८ चौपायाको मृत्यु तथा १७ घाइते भएको प्रहरीले दिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, ६ वटा पक्की र एक सय १५ कच्ची घर ध्वस्त भएका छन् । आगलागी नियन्त्रण गर्नका लागि १४ सय बढी प्रहरी परिचालन गरिएको थियो । त्यस्तै, बाढीका १० घटनामा परी एक पुरुषको ज्यान गएको छ ।

बाढीले गर्दा १३ वटा घरमा क्षति पुगेको छ भने उध्दार कार्यका लागि दुई सय १४ प्रहरी खटाइएको छ । त्यस्तैगरी हावाहुरीका चार र चट्याङका तीन घटना भएको प्रहरीले बताएको छ ।

हावा हुरीले गर्दा १२ घरमा क्षति भएको छ भने कसैको मृत्यु भएको छैन । चट्याङ् लाग्दा दुई पुरुषको ज्यान गएको छ । करेन्ट लागेर चार महिला, ६ पुरुष र दुई बालबालिका गरी १० जना बितेका छन् । तीन चौपायाको पनि मृत्यु भएको छ ।

सर्पले डस्दा सात जनाको निधन भएको छ । पोखरीमा डुबेर २२ बालबालिकाको ज्यान गएको प्रहरीको भनाइ छ । त्यस्तै, एक पुरुष र नौ महिलाको पनि ज्यान गएको छ ।

आत्महत्या बढ्दो

प्रहरीका अनुसार पछिल्लो समय सप्तरीमा आत्महत्या गर्नेको संख्या बढेको छ । एक वर्षको अवधिमा चार सय ९४ आत्महत्याका घटना घटेका छन् । प्राय:जसोले झुन्डिएर वा विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ५७ महिला, ६४ पुरुष र ३० बालबालिकालाई आत्महत्या गरेको अवस्थामा भेटेको थियो । आत्महत्या गर्न खोजेकामध्ये दुई सय दुई महिला, एक सय १९ पुरुष र ६९ बालबालिकालाई बचाउन प्रहरी टोली सफल भएको छ ।

आत्महत्यासम्बन्धी जनचेतना फैलाउन र नियन्त्रणका लागि २६ सय ५२ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जानकारी दिएको छ ।

टिप्पणीहरू