धादिङमा पक्राउ परेको सुन र डलर नक्कली, पेस्तोल भने स्वचालित

धादिङमा पक्राउ परेको सुन र डलर नक्कली, पेस्तोल भने स्वचालित

धादिङको खनियाबास गाउँपालिका–४ का बेगबहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि भएको छ ।

मंगलवार उत्तरी धादिङ्गको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेँलो धातु,५० रुपैयाँ र १०० को डलर नोट परीक्षणको क्रममा नक्कली पुष्टि भएको हो ।

मंगलबार ग १ ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेसी आउँदै गर्दा बेगे र उनकै गाउँका शोभा तामाङ पक्राउ परेका थिए । १ किलो सुन र नक्कली नोटसहित बेगे पक्राउ परेपछि बुधवार प्रहरीले घर खानतलासी गरेको थियो । बेगेको घरबाट ५ सय ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान पहेँलो धातु प्रहरीले बरामद गरेको थियो । बरामद भएको धातु नेपाल सुन,चाँदी कला व्यवसायी संघ धादिङ्गले नक्कली प्रमाणित गरिदिएको जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी निरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

बेगेको घरबाट प्रहरीले ३ वटा पेस्तोल र पेस्तोलमा लाग्ने गोलीहरु पनि बरामद गरेको छ । सुन ल्याउँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रञ्जन अवाले बताए ।

एउटै व्यक्तिको घरबाट ३ वटा पेस्तोल,ठूलो परिणाममा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ । पक्राउ परेको पेस्तोल माओवादी द्वन्द्वकालदेखि नै घरमा भएको बयानमा बताएको प्रहरीले जनाएको छ । सुन भनिएको धातु भने केही वर्षअघि अन्य व्यक्तिहरुबीच धादिङ्गबेसीमै कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको एसपी राकेश सिंहले बताए ।

पक्राउ परेका बेगे यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा पक्राउ परेका थिए । दुई वर्षअघि कारागारभित्रबाटै पनि काम गरिदिन्छु भन्दै व्यक्तिहरुसँग रकम असुलेको पीडितहरुले बताएका छन् ।

पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबार सन्बन्धी कसुरमा मुद्दा चलाएको छ । शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको छ ।

टिप्पणीहरू