मीटरब्याजी पीडितको वेदना ‘हामी सुकुम्बासी भयौँ’
व्यस्त सडक,चर्को घाम, बर्खाको समय त्यसमाथि छिनछिनमा आकाशबाट पानी बर्सनु अहिले राजधानीका सडकमा एकथरिको निम्ति नियति बनेको छ । उनीहरु वषौँदेखिका पीडा बोकेर काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । नवलपरासीका मीटरब्याजी पीडित किसान मजदुरहरुको दैनिकी यस्तै छ ।
यसअघि १४ दिन माइतीघरमा अनशन र धर्ना बसेर सरकारको आश्वासनपछि घर फर्किएका उनीहरु फेरि त्यही पीडा मनभरि बोकेर काठमाडौँ आएका हुन् ।
रामग्राम,बर्दघाट नगरपालिका र सुस्ता, प्रतापपुर गाउँपालिकाका ८६ जनाभन्दा बढी मीटरब्याज पीडित किसानले गत बुधवारदेखि माइतीघरमा आफ्नो दैनिकी शुरु गरेका हुन् । सबैको पीडा एउटै र उस्तै प्रकृतिको छ । तिनीहरु अहिले साहुको चर्को ब्याजका कारण घरबारविहीन भएका छन् ।
साहुको अत्याचारविरुद्ध वषौँपछि नवलपरासीका पीडित किसानहरु अहिले एकजुट भएर काठमाडौँ आएका हुन् । ती सबै दिनभर माइतीघरमा धर्ना बसेर साँझ गौशालास्थित कटेरामा बास बस्न जान्छन् । त्यहाँ जसोतसो रात बिताएर फेरि बिहानको खानपिन सकेपछि पीडित किसानहरु सँधैको बिसौनी माइतीघरतिरै लाग्ने गरेका छन् । सरकार र न्यायिक प्रशासनले बेवास्ता गरे पनि माइतीघरको सडकछेउ सँधै आफूहरुको मन बिसाउने चौतारी भएको उनीहरु बताउँछन् ।
पीडितको एक स्वर, ‘सरकार न्याय दे‘
सुदखोर साहुबाट सयौँ भूमिहीन बनेकामध्ये पीडित खुश्बुनसा पनि एक हुन् । साहुको चर्को ब्याजका कारण मानसिक तनाव सहन नसकेर श्रीमान गुमाएकी खुश्बुन एकल महिला पनि हुन् । तथापि, उनका श्रीमान जस्तै साहुको यातना सहन नसकेर धेरै किसानले ज्यान गुमाएका छन् ।
छोरीको बिहे गर्न सात वर्षअघि खुश्बुनका श्रीमानले गाउँकै जगदीश बानियाँसँग छ लाख ऋण लिएर २२ लाख नगद बुझाए । तर पनि उनले राखेको बन्धकी जग्गा साहुले फुकुवा गर्न मानेनन् । उल्टै उनलाई २९ लाख रुपैयाँ तिर्न बाँकी रहेको सुनाए । त्यसपछि घर गएर उनी केही दिनसम्म टोलाउने, घरपरिवारसँग नबोल्ने जस्ता व्यवहार देखाउन थाले ।
केही दिनपछि उनी सिकिस्त बिरामी नै भए । उनलाई प्रतापपुर अस्पतालबाट बुटवल पठाइयो । बुटवलमा आईसीयूमा उपचार गरिरहेको बेलामा उनको मृत्यु भयो । अस्पतालले मानसिक तनावका कारण उनको मृत्यु भएको कुरा खुश्बुनलाई सुनायो । तर, त्यो पछाडीको लुकेको कुरा उनको जेठा छोराबाहेक परिवारलाई थाहा थिएन । जब उनी बिते तब छोराले आमालाई साहुले दिएको यातना सुनाए ।
एक लाख खर्च गरेर पनि श्रीमानलाई बचाउन नसकेको भन्दै आँखाभरी आँशु पार्दै खुश्बुनले भनिन्, ‘श्रीमानले १५ कठ्ठा जमिन बन्धक राखेर ऋण लिनुभएको थियो । तर २२ लाख बुझाइसक्दा पनि साहुले जमिन फिर्ता नदिएर अझै २९ लाख रुपैयाँ तिर्न ताकेता गरिरहेको छ । आधा जमिन छिनुवा पास गरेको छ । सँधै मेरो घर हो निस्केर जा भनेर मानसिक यातना दिन्छ । के गर्नु सहनै नसकेर यहाँ आएकी छु ।’
उनले थपिन्, ‘अब साहुले हामीबाट बढी असुलेको पैसा फिर्ता दिएर जमिन फुकुवा गर्नुपर्छ । मेरो पैसा र जमिन फिर्ता नभएसम्म काठमाडौंमै मर्छु, तर घर जान्न । साहुको यातना पनि सहन्न ।’
माइतीघरमा धर्ना बसेका हरेकको पीडा एउटै छ । उनीहरु मनका वेदना पोख्न आतुर देखिन्छन् । न्याय माग्दै सरकारलाई गुहारिरहेका छन् । त्यसैले एक स्वरमा भन्छन् ‘मिटरब्याजीले घरबारविहीन बनाएका छन् । सरकारले हामीलाई न्याय नदिए सडकमै भीख मागेर बस्छौँ । के गर्नु घर गए पनि मागेरै खानुपर्ने छ । बस्ने खाने घर र जमिन छैन । साहुले हरेकको टाउकोमा ऋणको भारी बोकाएको छ ।’
यता, पूर्वगाविस सचिव नै मिटरब्याजीको फन्दामा परेर भूमिहीन भएका छन् । अन्य पीडित कै जस्तो पीडा बोकेका पूर्वगाविस सचिव रामग्राम नगरपालिका–११ का धनीराम चौधरी अर्का एक हुन् । २०७३ असार २० गते उनले व्यावसाय गर्ने भन्दै साहु वीरेन्द्र तेलीबाट जग्गा दृष्टिबन्धक गरेर १४ लाख ८० हजार रुपैयाँ ऋण लिए । तर, साहुले २० लाख रुपैयाँ ऋण लिएको कागज बनाएको उनले बताए ।
साहुले बारम्बार तनाव दिन थालेपछि उनले साँवा ब्याज गरी ४० लाख रुपैयाँ बुझाइसकेको सुनाए । तर, अहिलेसम्म उनको जमिन फुकुवा भएको छैन । उल्टै साहुले उनीमाथि ८० लाख ऋणको भार थुपारेको छ । यति मात्र होइन् अन्य तीन चार जना मिटरब्याजीबाट पनि उनी ठगीएको बताइन्छ ।
उनले भने, ‘म त डुबेको छु । साहुहरुले म सोझो मान्छेलाई झुक्काएर फर्जी कागज बनाउँदै जमिन कब्जा गरेका छन् । अहिले सुकुम्बासी भएको छु । त्यही तनावका कारण रातदिन सुत्न सकेको छैन ।’
यस्तै, मिटरब्याजीले गर्दा भूमिहीन भएका नवलपरासी प्रतापपुर–५ का ७० वर्षीय रामकवल चमारले २०६७ सालमा छोरालाई विदेश पठाउन भन्दै साहु जगदिश बानियाँबाट ८० हजार ऋण लिएका थिए । ऋण लिएको केही वर्षपछि पटक पटक गरी साढे नौ लाख रुपैयाँ साहुलाई बुझाइसकेको उनी सुनाउँछन् । तर, साहु बानियाँले अझै एक लाख ७३ हजार बाँकी रहेको भन्दै उनको जग्गा फुकुवा गर्न मानेनन् । उनी यसअघि असारमा पनि १४ दिन धर्ना बसेर जमिन फिर्ता हुने आशमा घर फर्किएका थिए । तर, त्यो पूरा नभएपछि फेरी उनलाई उही पुरानो गन्तव्यमा पुर्याएको छ ।
छ कठ्ठा जग्गामा चार कठ्ठा आठ धुर बानियाँले बन्धकमा राखेको भन्दै उनले भने, ‘म बुढो भइसकेको छु । मेरो कारणले भोलि परिवारले दुःख नपाउन भनेर न्याय माग्दै यहाँ आएको हुँ ।‘
मलिन स्वरमा भने, ‘त्यो साहुले मेरो र घर परिवारको बिचल्ली बनाएको छ । घरबारविहीन भएका छौँ । सरकार अब हामीलाई थोरै भए पनि न्याय दे १’
उल्टै पीडितमाथि मुद्दा
थोरै ब्याजदर भनेर साहुबाट घर खर्च चलाउन लिएको ऋणलाई अहिले पीडित किसानले दोब्बर तेब्बरसम्म तिर्नु परेको छ । सुदखोर साहुले फर्जी कागज बनाएर उनीहरुबाट साँवा ब्याजभन्दा तेब्बर रकम असुलेका हुन् ।
तर, अहिलेसम्म साहुले उनीहरुको घर जग्गा दृष्टिबन्धक फुकुवा गरेका छ्रैनन् । उल्टै पैसा नदिएको भन्दै उनीहरुको जग्गासमेत कब्जा गरेर नामसारी गर्न भ्यायका छन् । कतिपय किसानलाई मिटरब्याजीले अदालतमा मुद्दासमेत हालेका छन् । केहीले मुद्दा जिते पनि कतिपयले तारेख खेपिरहेका छन् ।
यसमध्ये दिलमाया धरिका तारेख खेपिरहेकी छन् । श्रीमानलाई विदेश पठाउन एक लाख २० हजार लिएकी उनले १२ लाख रुपैयाँको फर्जी कागजका कारण जिल्ला अदालतमा मुद्दा खेप्नुपरेको छ ।
सावाँ ब्याज गरेर आफूले लिएको पैसा फिर्ता गरिरहेको भन्दै दिलमायाले भनिन्, ‘मेरो जग्गा जमिन अदालतले रोकेको छ । साहुले १२ लाख ऋण लिएको फर्जी कागज बनाएर २५ लाख ब्याज मागेको छ, कसरी तिर्नु यत्रो पैसा ? अहिले उल्टै साहुले मेरो सम्पती कब्जा गर्न अदालतमा मुद्दा हालेको छ ।‘
उनले अघि भनिन्, ‘मैले उल्टै मुद्दा खेप्नु परेको छ । अहिले आफूसँग न जमिन न घर छ । हामी भूमिहीन भएका छौँ । हाम्रो कुरा कसैले सुन्दैन । हामीलाई मर्नु न बाँच्नु भएको छ । अरु केही चाहेका छैनौँ, हाम्रो जमिन फिर्ता हुनुपर्छ ।’
मिटरब्याजीले उनीहरुकै किर्ते औँठा छाप र हस्ताक्षर गरेर लिएको कर्जाभन्दा कैयौ गुणा बढीको कागज गरेर ठगी गर्ने गरेको किसान मजदुर संघर्ष समितिका सचिव अवधेश कुशवाहाले सुनाए । उनका अनुसार नवलपरासीका मात्र सयभन्दा बढी मिटरब्याजी पीडितहरु सम्पर्कमा आएका छन् । अन्य पीडितहरु आउने क्रम बढेको उनको भनाइ छ ।
मिटरब्याज पीडित किसान मजदुरहरुको आन्दोलन एउटा नवलपरासीको मात्र समस्या नभएको भन्दै सचिव कुशवाहाले भने, ‘यो समस्यालाई राज्यले विशेष ध्यान दिनुपर्छ । होइन भने किसान मजदुरको घर जमिन सुदखोर साहुको कब्जामा जान्छ ।’
यी हुन् माग
देशैभरका मिटरब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्दारका लागि सरकारद्वारा अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने र पीडित किसानको जमिनको दृष्टिबन्धक खोली तमसुक च्यात्नुपर्ने आफूहरुको माग रहेको संघर्ष समितिका सचिव उनै कुशवाहले बताए । राज्यले कानुन विपरीत अनुचित ब्याज लिएका कसकैको पनि ऋण तिर्न नपर्ने घोषणा गर्नुपर्ने उनको भनाइ छ ।
दृष्टिबन्धक भन्दै झुक्याएर नामसारी गरेका जमिन फिर्ता गर्नुपर्ने, सम्पूर्ण साहुको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा अनुसन्धान गर्नुपर्ने र साहुको मानसिक प्रताडनाको कारण मृत्यु भएका किसानको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।
वषौँपछि पीडित किसानहरुले यसरी आवाज उठाए
राम सुरत गुप्ताले साहु जगदीश बानियाँसँग चार लाख रुपैयाँ लिए । तर, उनले जग्गा दृष्टिबन्धकमा आठ लाख लिएको कागज बनाइदिए । त्यो कुरा साहु बानियाँलाई जानकारी गराउँदा उनले नियम नै यस्तो भएको जानकारी दिएको गुप्ता बताउँछन् ।
उनले भने, ‘मैले साहुसँग चार लाख ऋण लिएँ । त्यो पनि जग्गा दृष्टिबन्धकमा राखेर । उनले त्यसै बेला मलाई आठ लाख ऋण लिएको कागज बनाए । मैले यस्तो किन ? भाई भनेर प्रश्न पनि गरँे । उनले कानुनमै यस्तो छ भने । मैले पनि विश्वास गरेँ, तर अहिले यस्तो अवस्थामा पुगियो ।‘
उनले थपे, ‘केही वर्षपछि साँवा र ब्याज गरेर १५ लाख १५ हजार रुपैयाँ बुझाए पनि उसले जग्गा फुकुवा गरेन । उल्टै ३२ लाख माग्यो । त्यसपछि आफू ठगिएको थाहा पाएँ । र, मैले आवाज उठाएँ ।‘
किसान मजदुर संघर्ष समितिका अध्यक्षसमेत रहेका गुप्ताले आफू जस्तै ४५ जना पीडित किसानलाई लिएर गत जेठ २९ गते काठमाडौँमा जगदीश बानियाँ, सुनिल बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ दाजुभाइविरुद्ध अनशन थालेको बताए ।
संघर्षको १४ औँ दिनमा गृह मन्त्रालयले साहुहरूमाथि छानबिन गर्ने आश्वासन दिएर घर फर्किएको भन्दै उनले भने, ‘हामीहरू आफ्नो जमिन फिर्ता पाउने आशामा घर फर्किएका थियौँ । तर, त्यहाँ पुगेपछि जिल्ला प्रशासन र प्रहरीले हामीलाई सहयोग गर्नुको साटो साहुसँग मिलापत्र गर्न दबाब दिन थाल्यो । त्यस पछि थप पीडितसहित हामी काठमाडौँ आएका हौँ । अब हाम्रो जमिन फिर्ता नभएसम्म गाउँ फर्किने छैनौँ ।’
टिप्पणीहरू