गणतन्त्र मनाउन देशै गरिब : सरकारी सूचना पनि सित्तैमा
सरकारको ढुकुटी रित्तिएरै होला गणतन्त्र मनाउन पनि सित्तैँमा आह्वान गर्नुपरेको छ ।
आज जेठ १५ गते गणतन्त्र दिवस । नयाँ संविधान जारी भएपछि यहि दिन संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।
कोरोना संक्रमणको कारण दुई महिनादेखि मुलुकभर लकडाउन छ । उता,लिम्पियाधुरासम्मको क्षेत्र समेटिएको नयाँ नक्साले छुट्टै तरङ्ग ल्याएको छ । एकातिर कोरोनाको त्रास र अर्कोतिर अतिक्रमित भूमि पाइने आसले आमनागरिकले जेठ १५ गते गणतन्त्र दिवस पनि भुलेका पो हुन् कि ?
सरकारको ढुकुटी रित्तिएरै होला गणतन्त्र मनाउन पनि सित्तैँमा आह्वान गर्नुपरेको छ । सूचना तथा प्रविधि मन्त्रालयको हिजो जेठ १४ गतेको पत्रमा सित्तैंमा गणतन्त्रसम्बन्धी बिज्ञापन सामग्री प्रकाशन र प्रशारण गर्न भनिएको छ । गोर्खापत्र प्रकाशनसम्बध्द श्रोतका अनुसार गृह मन्त्रालयले तयार गरेको सूचना निःशुल्क प्रकाशन र प्रशारण गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सबै सरकारी सञ्चारमाध्यमलाई पत्रमार्फत् हिजो निर्देशन आएको हो।
दुई महिनादेखिको ठप्प आर्थिक गतिबिधिले सरकारको आम्दानी स्वाट्टै घटेको छ । स्वास्थ्य र सुरक्षामा नसोचेको ढंगले खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यति हुँदाहुँदै पनि अर्को वर्षको लागि आवश्यक खर्चको जोहो गर्नुपर्ने बाध्यतामा अर्थ मन्त्रालय छ ।
मुलुकमा कोरोना संक्रमितको संख्या बढेर एक हजार पुग्न लागेको छ भने पाँच जनाको मृत्यु भइसकेको छ । सीमा जोडिएका २ नं. र ५ नंं. प्रदेशमा भारतबाट भित्रिनेको लर्को बढेको बढ्यै छ । ती प्रदेशमा परीक्षण, क्वारेण्टिन र आइसोलेशन व्यवस्थापन अस्तव्यस्त देखिएको छ । तरपनि हामी सित्तैँमा प्रकाशन र प्रशारण गरिएको सूचनाको आधारमा उल्लासरहित गणतन्त्र मनाउन र हिजो,आज र भोलि तीन दिनलाई स्वस्फूर्तिबिनाको दीपावली गर्नुपर्ने अवस्थामा पुगेका छौं ।
टिप्पणीहरू