मरेपछि मात्रै कोरोना ?

मरेपछि मात्रै कोरोना ?

विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार, कोही मानिस अरु कारणले मरे पनि कोरोना पोजेटिभ देखियो भने कोरोनाकै कारणले मरेको भन्नुपर्ने छ ।

कोरोना संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै देशव्यापी लकडाउनलाई अब केही फरक मोडलमा लैजाने तयारीमा सरकार जुटेको छ । स्वास्थ्य मन्त्रालयस्रोतका अनुसार, देशबाहिरबाट ठूलो संख्यामा मान्छे आउने कारण तयारी पनि ठूलै गर्नुपरेको हो ।

अर्थात्,संक्रमणको सतर्कता र लकडाउनको फरक मोडालिटी अपनाउने तयारी थालिएको हो ।

‘यसका लागि स्वास्थ्य र सामाजिक क्षेत्रका विभिन्न अनुभव र अभ्यासलाई हेरेर योजना बन्छ’, स्रोतले भन्यो, ‘विदेशबाट आउनेलाई कसरी राख्ने, उपचार कसरी गर्ने, उपचारपछि घर कसरी पठाउने भन्ने कुरामा केन्द्रित भएर काम हुँदैछ ।’

नेपालमै रहेका मान्छेहरुलाई आ–आफ्ना काम वा गतिविधिमा जाने सहज वातावरण निर्माणका लागि अलग्गै प्रोटोकल बन्ने भएको छ ।

मरेपछिको कोरोना

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु भएको भनिएका पाँचै जनाको मृत्युसम्बन्धी समाचार प्रस्तुतिको आलोचना पनि भइरहेको छ, ‘मरेपछिमात्रै कोरोना देखिने ?’

यसमा नेपाल सरकारको होइन, विश्व स्वास्थ्य संगठनको प्रोटोकलले काम गरेको बताइन्छ ।

विकसित देशमा बिरामी भएर मर्न लागेपछि मात्रै अस्पताल लगिन्छ । तर, नेपालमा संक्रमण भएको चाल पाउनेबित्तिकै आइसोलेसन वार्डमा राखेर उपचार गरिन्छ । यसर्थ, त्यहाँको मृत्युदर शून्य छ । बरु, राखिएकाहरु निको भएर फर्किने क्रम चलिरहेको छ ।

तर, विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार, कोही मानिस अरु कारणले मरे पनि कोरोना पोजेटिभ देखियो भने कोरोनाकै कारणले मरेको भन्नुपर्ने छ ।

मन्त्रालयका उच्च अधिकारीका अनुसार, ‘ती मानिसहरुमा पहिल्यै कोरोना पुष्टि भइदिएको भए परिभाषित अस्पतालमै लगिन्थ्यो ।’ तर, अस्पतालमा उपचारका क्रममा मृत्यु हुने हरेक मृतकको कोरोना परीक्षण हुनुपर्ने र पोजेटिभ देखिएमा मृत्युको कारणमा पनि कोरोना नै उल्लेख गर्नुपर्ने प्रोटोकलले नेपालमा मृत्युदर बढी देखिएको ती अधिकारीको भनाइ छ ।

टिप्पणीहरू