शर्माहरूले बिर्सिएकै हुन् मानवीय धर्म ?
रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले मंगलबार संसदमा भन्नुसम्म भने, ‘नवराजसहित १८ जना युवा वडाध्यक्ष वीरबहादुर मल्लको घर आएको देखेपछि लकडाउनमा आए भनेर वडाध्यक्षद्वारा प्रहरीलाई फोन गरियो र प्रहरी आयो । युवाहरू भाग्दै गर्दा ११ जनाले नदीमा हाम फाले, ५ जना उत्रेर बाँच्न सफल भए । ६ जनामध्ये ३ जनाको शव भेटियो । अरू ३ जना बेपत्ता छन् । घटना भएको यही हो ।’ उहाँले अगाडि थप्नुभयो, ‘त्यहाँ कुनै राजनीति दबाब हुनै सक्दैन, स्थानीय सरकार, जाजरकोट र रुकुमको प्रहरीले राम्रोसँग अनुसन्धान गरिरहेको छ ।’
यत्ति बोल्नासाथ उहाँको भनाइप्रति विरोध भयो, होहल्ला भयो । जनार्दनले सकी सभामुखतिर सकी उनको अभिव्यक्तिको विरोध गरिरहेका सांसदतिर हेर्दै आफूले बोल्न नपाउने ? त्यहाँको निर्वाचित सांसदलाई घटनाबारे भन्न नदिने ? कुन कानुनले बोल्न दिँदैन भन्दै कड्किनुभयो । उनीहरूको भन्दा चर्को स्वरमा बोलेर संसद्मा आफूले मजाले बोल्न पाउने हक खोजिरहनुभएका उहाँले यो बिर्सिदिनुभयो कि उहाँकै निर्वाचन क्षेत्रमा केही मान्छेले बाँच्न पाएनन्, प्राणको भीख माग्दामाग्दै भेरीमा हालिए !
पूर्वगृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले रुकुममा भएको घटना मंगलबार संसद्मा राख्ने क्रममा अन्य केही सांसदले विरोध गरेको घटना केवल संयोग मात्रै छैन । जनार्दनले घटनाको व्याख्या गर्ने क्रममा घटनालाई भवितव्यतर्फ मोड्न खोजेको भन्दै विरोध भएको थियो ।
वडाध्यक्ष, मेयर, प्रदेश सांसद र संघीय सांसद एउटै पार्टी लाइनका छन् । यो देशको सरकार पनि त्यही पार्टीको छ । स्थानीय प्रशासन, प्रहरी, सरकारले बनाएका समितिले काम गर्दै छन्, अनुसन्धान हुँदै छ, वास्तविकता आउनेछ, दोषी जो–कोही उम्कन पाउनुहुन्न भनेर घटना अनुसन्धानमा सघाउनुको साटो यी चारै तह दावाका साथ एउटै निष्कर्षमा पुगेझँै भनिरहेका छन्, ‘लकडाउनको बेला आएको, गाउँलेले सोधपुछ गर्न खोज्दा भागाभाग भएर भेरीमा हाम फालेको ।’ उनीहरूको यही अभिव्यक्तिपछि केन्द्र र तल्लो तहका कार्यकर्ता पनि घटनामा सामान्य कुटपिट भएको तर ६ जनाले जानीजानी ठूली भेरीमा हामफालेको भनेर व्याख्या गर्न थालेका छन् ।
घटनालाई अर्कै रूप दिन केन्द्रमा जनार्दन शर्मा, प्रदेशस्तरमा सांसद गोपाल शर्मा, नगरपालिकामा विशाल शर्मा र गाउँमा वडाध्यक्ष लागेको भन्दै आलोचना बढेको छ । जनार्दनले घटना सत्यतथ्य आउनुपर्ने र आफूले हरेक सहयोग गर्ने बताएकै छन्, दोषीलाई कारबाहीको माग राखेकै छन् । तैपनि, यिनीहरूलाई किन यसरी घटनालाई परिवर्तन चाहेको आरोप खेप्नुपरेको होला ?
घटनाको वास्तविकता खुल्ने नै छ तर माथि उल्लेख्य चारै स्तरका सरकार रहेका व्यक्तिमा नजिकको पारिवारिक सम्बन्ध छ । आपराधिक घटना सावित भइसकेपछि यथार्थ त आउला नै तर बाहिर–बाहिर उनीहरूको नाता सम्बन्धलाई कोट्याएर घटना मोड्न खोजेको गम्भीर आरोप लाग्ने गरेको छ ।
समाचार स्रोतका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिसँग यी पात्रको गहिरो पारिवारिक सम्बन्ध यस्तो छ :
अनिल शर्मा नेकपाको बागमती प्रदेश सदस्य र प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ का पार्टी इञ्चार्ज हुन् । अनिल जनार्दन शर्माका सहोदर कान्छा भाइ हुन् र अनिलको ससुराली गाउँ हो घटना घटेको सोतीगाउँ । घटनामा संलग्न आरोपमा पक्राउ परेका सन्तोष मल्ल अनिल शर्माका साला हुन् । सन्तोषकी माइली दिदी वसन्ता मल्ल अनिलकी श्रीमती हुन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल वसन्ताका काका हुन् । घटनामा संलग्न भनेर मृतकका परिवारले किटानी जाहेरी दिएका र प्रहरीले पक्राउ गरेका धेरैजसो मल्ल थरका छन् । उनीहरू सबै पारिवारिक नाताका हुन् ।
घटनाको नेतृत्व गरेका भनिएका चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्मरबहादुर मल्ल र चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा काका–भतिज हुन् । विशालकी श्रीमती र मल्लकी आमा घरकै दुई बहिनी हुन् । यस्तै, प्रदेश सांसद गोपाल शर्मा (अनल) विशालका सहोदर कान्छा भाइ हुन् । घटनामा संलग्न वडा नम्बर ८ का अन्य धेरै मल्ल थरका व्यक्ति जनार्दनका नातेदार हुन् । काका–भतिज, भाइसालो, दाइजेठानकै साइनोमा गाँसिएका छन् उनीहरू । एउटै घटनामा यसरी ठूलो परिवार संख्या मुछिनु सायद परिवारजनका लागि समेत अकल्पनीय छ ।
आपराधिक क्रियाकलापमा संलग्न हँुदै प्रहरीको फरार सूचीमा रहेका र उक्त घटनाको कारण पक्राउ परेका डिल्ली मल्ल पनि अनिल र विशालका नातेदार हुन् । सल्यानमा केही वर्षअगाडि बसमा लुटपाट र हत्यामा सल्यान जिल्ला अदालतले दोषी ठहर गरे पनि डिल्ली नेताहरूकै संरक्षणमा खुलेआम हिँड्ने गर्थे । यस्ता धेरै पक्राउ परेका पात्रहरू संघीय सांसद जनार्दन र प्रदेश सांसद गोपाल दुवैका आफ्नै भाइका आफन्त भएपछि घटना तोडमोड गर्नुपर्ने बाध्यताजस्तै बनेको छ ।
साथै, घटनालाई अर्कै रूप दिन हतारमा प्रदेश सांसद गोपाल शर्माले नेकपा रुकुमको तर्फबाट सहयोगको नाममा छुट्टै छानबिन समिति गठन गरेको विज्ञप्तिसमेत निकाले । उनी नेकपा पश्चिम रुकुमको अध्यक्षसमेत हुन् । उनले गठन गरेको उक्त समितिको उनकै पार्टीका एक सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रिय सभामा आलोचना गरेका थिए । घटनाको सन्दर्भमा अहिले फरक–फरक व्याख्यासमेत हुने गरेको छ । उक्त घटनामा कमजोर पक्षलाई फसाउने र आफ्नालाई जोगाउने खेल शुरु भयो भनेर रुकुमका केही जनप्रतिनिधिको व्यापक आलोचना भइरहेको छ ।
कतिपय पत्रकारलाई समेत समाचारको विषयमा जनार्दन शर्माले थर्काएको भन्ने अपुष्ट आरोपसमेत छ । कोहलपुरका पत्रकार टेकेन्द्र बस्यालले पत्रकारलाई जनार्दनले थर्काएर घटना अन्तै मोड्न भूमिका खेल्न थालेको जनाएका छन् ।
यस घटनाबारे नेकपा निकट दलित अधिकारकर्मी र दलित नेताहरू खासै चासोको साथ उभिएको देखिँदैन । पार्टी निकट जिल्लाका दलित अधिकारकर्मीसमेत चुपचाप छन् । जनार्दन शर्माले सामाजिक सञ्जाल र संसद्मा समेत घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
टिप्पणीहरू