संसदीय अंकगणित सरकारको साथमा : संविधान संशोधनलाई अब कसैले रोक्न सक्दैन

संसदीय अंकगणित सरकारको साथमा : संविधान संशोधनलाई अब कसैले रोक्न सक्दैन

यस्तो प्रचारबाजीमार्फत भारतीय जनतामा यस्तो छाप पार्न लागिदैछ मानौँ  कि नेपाली कांग्रेसको निर्णय शेरबहादुर देउवा,रामचन्द्र पौडेलहरुले हैन, भारतीय टेलिभिजनहरुले नै गर्ने हो ।

अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा संशोधन गरेर राख्न नेपालमा जे–जे भइरहेको छ,त्यसको ठीक उल्टो–उल्टो मिडियाबाजी चल्दैछ,भारतीय सञ्चारमाध्यमबाट ।

तर,नेपालको वास्तविक स्थिति नपढी-नबुझी हल्ला गर्नेलाई के थाहा !  अहिले संविधान संशोधन गर्न चाहिने दुई तिहाई बहुमतका लागि सत्तारुढ नेकपासँग नपुग्दो संख्या भनेको जम्मा ३ मात्रै हो । त्यसमा पनि नेपाली कांग्रेसले यथास्थितिमै संशोधनप्रति तयार हुने संकेत दिइसकेको अवस्थामा यो कुनै समस्याको विषय नै हैन ।

तर,भारतीय सञ्चारमाध्यमहरुको प्रस्तुति हेर्दा-सुन्दा यस्तो लाग्छ मानौं, ‘नेपाल सरकार यस मामिलामा असफल भइसक्यो । कांग्रेसले  साथ दिन पूर्णतः अस्वीकार गरिसक्यो ।’

यस्तो प्रचारबाजीमार्फत भारतीय जनतामा यस्तो छाप पार्न लागिदैछ मानौँ कि नेपाली कांग्रेसको निर्णय शेरबहादुर देउवा,रामचन्द्र पौडेलहरुले हैन, भारतीय टेलिभिजनहरुले नै गर्ने हो ।

नेपालको प्रतिनिधिसभामा बहाल रहेका २ सय ७५ सांसदमध्ये सत्तारुढ नेकपासँग १ सय ७४ (पूर्वएमाले १ सय २१, पूर्वमाओवादी ५३) छन् । नेकपालाई नै समर्थन गर्ने साना वाम घटकका बाँकी तीन (प्रेस सुवाल, दुर्गा पौडेल, राजेन्द्र लिङ्गदेन ) गर्दा नेकपा एक्लैसँग १ सय ७७ सांसद पुग्छन् । १ सय ८० भए दुई तिहाई हुन्छ । नपुग्दो संख्या हो,३ को ।

यसमध्ये नेपाली कांग्रेससँग ६३ सांसद छन् । फौजदारी अभियोगमा कारागार चलान भएका मोहम्मद अफ्ताव आलमबाहेक कांग्रेसका ६२ सांसद मतदान गर्नसक्ने अवस्थाका छन् । यदि गगन थापाहरुले भनेजस्तो अद्यावधिक नक्सा अनुमोदन गर्न कांग्रेस सांसदहरु साँच्चै नै आतुर भएका हुन् भने यो स्थितिमा २ सय ३९ मतले संशोधन प्रस्ताव पारित हुन्छ । यो भनेको तीन तिहाई हो । मधेसले अन्तिममा खुट्टा छाड्यो भने विरोधमा जम्मा ३३ जना हुनेछ ! मधेसका रेशम चौधरी( हाल डिल्लीबजार कारागार)लाई कटाएर !

यही विषयमा बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीको दुःख पनि हेरिहालौँ । अहिलेको संशोधन दल वा व्यक्ति केन्द्रित नभै मुलुकको भौगोलिक अखण्डतासँग जोडिएको विषय हो ।

हिमालदेखि तराईसम्मको साझा राजनीति गर्ने भनेर उक्त दल एक भएको छ । उनीहरुसँग ३३ सांसद छन् ।

अहिले आमजनता अद्यावधिक नक्सा छिटोभन्दा छिटो संशोधन भएर संविधानको अनुसूचीमा उल्लेख होस् भन्ने चाहन्छन् । तर, भारत त्यस्तो चाहँदैन । यो प्रक्रिया जसरी पनि अवरुद्ध होस् भन्ने उसको अभ्यास जारी छ । त्यसका लागि जनता समाजवादीभित्रका पनि पूर्वमधेसवादी दललाई उनीहरुले पहिल्यैदेखि उठाएका संशोधनका विषयलाई एउटै प्याकेजमा राखेर जानुपर्ने भनेर उभ्याइएको छ ।

यो स्थितिमा मधेसी नेताहरुले अरुले भनेको मान्छन् कि हिमाल,पहाडकासमेत  बहुसंख्यक जनता,अझ आफ्नै मतदाताहरुले चाहना गरिरहेको विषयमा मतदान गर्छन् ? प्रश्न जटिल छ ।

सत्तारुढ नेकपासँग १ सय ७४ (पूर्वएमाले १ सय २१, पूर्वमाओवादी ५३) छन् । नेकपालाई नै समर्थन गर्ने साना वाम घटकका बाँकी तीन (प्रेस सुवाल, दुर्गा पौडेल, राजेन्द्र लिङ्गदेन) गर्दा नेकपा एक्लैसँग १ सय ७७ सांसद पुग्छन् । १ सय ८० भए दुई तिहाई हुन्छ । नपुग्दो संख्या हो, ३ को ।

टिप्पणीहरू