२० वर्षे युवकले लाखबढीको प्रतिबन्धित औषधि ओसारे
धनुषामा प्रतिबन्धित औषधि ओसारपसारको आरोपमा एक युवक पक्राउ परेका छन् । जनकपुर उपमहानगर ७, जिरो माइलबाट एक लाख २० हजारभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ पर्नेमा नगराइन नगरपालिका ३, बैरी फुलग निवासी २० वर्षीय पंकज साह हुन् । उनको साथबाट एक लाख २० हजार ८७६ रुपैयाँ बराबरको प्रतिबन्धित औषधि फेला परेको जिल्ला प्रहरी कार्यालय धुनषाले बताएको छ ।
प्रतिबन्धित औषधिमध्ये ९३ हजार २०६ रुपैयाँको रेजोस डिएसआर क्याप्सुल, २१ हजार ७१२ को पेन्टोग आइटी डिएसआर, चार हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि बरामद गरिएको छ । यसैगरी एक हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी पनि उनको साथबाट फेला परेको बताइएको छ ।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगञ्ज पठाइएको छ ।
टिप्पणीहरू