लुजडाउनका ६ चरण, थप्ने–घट्ने अनेक कारण
सरकारले विद्यमान लकडाउनलाई केही खुकुलो (लुजडाउन) बनाउने योजना तयार पारेको छ ।
तर, काठमाडौंमा हुनेजस्तो लुजडाउन उपत्यकाबाहिरका शहरी भेगमा सम्भव छैन । त्यसकारण, प्रदेशपिच्छे फरक–फरक मोडालिटीको लुजडाउन प्रस्तावित भएको छ ।
कोभिड– १९ नियन्त्रण उच्चस्तरीय कार्यदलले काठमाडौंमा शुरुमा लुजडाउनतर्फ लैजाने मनस्थिति बनाएको छ ।
काठमाडौंका हकमा लागु गरिने लुजडाउनलाई ६ चरणमा तय गरिएको छ । त्यसमध्ये अन्तिममा चरणमा विद्यालय र सार्वजनिक सवारी साधन खुल्ने भएको छ । यदि, कोरोना संक्रमणको रफ्तार अहिले उपत्यका बाहिर बढेकै शैलीमा उपत्यकाभित्र पनि बढ्यो भने फेरि कडा लकडाउन वा स्वास्थ्य संकटकालमा जानुपर्ने अवधारणा उक्त कार्यदलले बनाएको छ । तर, संक्रमणको स्थिति अहिलेकै जस्तो भएमा उपत्यकाले लुजडाउनको छैठौं चरणमा पुग्न कम्तिमा साउन अन्तिम सातासम्म पर्खिनुपर्ने छ ।
पहिलो चरणको लुजडाउनमा दुईपांग्रे सवारी साधनमा एकजना, चारपांग्रेमा दुईजना सवार हुन पाउने व्यवस्था छ । जोर–विजोर प्रणालीमा सवारी साधन चलाउन पाइने छ ।
व्यवसायका प्रकारहरु तोकेर खोल्न दिइने व्यवसाय सञ्चालनको समयसीमा तोकिने भएको छ ।
तर, यस्तोखाले लुजडाउनलाई तोकिएबमोजिम नै कार्यान्वयन गराउने कुरा नेपाल प्रहरी र सशस्त्रबाट मात्रै सम्भव नहुने कारण त्यसका लागि सेनालाई परिचालन गराउने सरकारको अवधारणा छ ।
सामान्यतया, सहज अवस्थाको नागरिक जीवनलाई व्यवस्थापन गर्ने काममा सेना परिचालन गरिँदैन । अहिले सेनाले पनि सरकारसँग यही नै भनिरहेको छ कि, सकेसम्म हामीलाई यो काम नदिनुस् ।
टिप्पणीहरू