महामारीमा झन् चर्को ‘द्रब्यमोह’ : विध्यार्थीको मासिक शुल्क पैंतालिस हजार

महामारीमा  झन् चर्को ‘द्रब्यमोह’ : विध्यार्थीको मासिक शुल्क पैंतालिस हजार

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा अध्यक्ष रहेको उक्त स्कुलले भर्चुअल विधि (भिडियो कन्फरेन्स) बाट अध्यापन गरेको नाममा विभिन्न शीर्षकको रकमसमेत उठाएको देखिन्छ ।

युलेन्स स्कुलले लकडाउन र कोरोना महामारीमा पनि अभिभावकको ढाड सेक्ने काम गरेको छ । सरकारले लकडाउनमा विद्यालय खोल्न नपाइने र अभिभावकसँग कुनैपनि बहानामा सो अवधिको शुल्कसमेत उठाउन नपाइने बताएको छ । तर, अमेरिकी बैंक स्ट्रिट स्कुल अफ एजुकेशनको सहकार्यमा सन् २००६ देखि खुमलटारमा सञ्चालित युलेन्सले यातायात खर्चबाहेक बैशाख महिनाको बीलमा विभिन्न शीर्षकअन्तर्गत ४५ हजार रूपैयाँ उल्लेख गरेको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा अध्यक्ष रहेको उक्त स्कुलले भर्चुअल विधि (भिडियो कन्फरेन्स) बाट अध्यापन गरेको नाममा विभिन्न शीर्षकको रकमसमेत उठाएको देखिन्छ । प्राप्त बीलमा ट्युसन शुल्क छ हजार पाँच सय, सूचना प्रविधि तीन हजार पाँच सय र श्रव्यदृश्य तीन हजार पाँच सय रूपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी, प्रशिक्षण सामाग्रीवापत चार हजार, स्टेशनरी चार हजार, थिएटर तीन हजार, वातानुकूलित (एसी) तीन हजार पाँच सय, फिल्ड ट्रिप्स तीन हजार, खाना दश हजार र रचनात्मक क्रियाकलाप (CAS) चार हजार गरी ४५ हजार रूपैयाँको बील बनाएर पठाएको देखिन्छ ।

‘स्कुलले महामारीको समयमा भर्चुअल विधिबाट पठनपाठन गरेपनि ट्युशन शुल्क र सूचना प्रविधि तथा श्रव्यदृश्य शीर्षक बाहेकका शीर्षकमा रकम उल्लेख गर्नु द्रब्यमोहको पराकास्ठा’ रहेको एकजना अभिभावकले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिमा देउवाबाहेक ललितपुर महानगरपालिकाको शिक्षा विभागकी प्रतिनिधि सरिता पौडेल र वार्ड नं. १५ का प्रतिनिधि सुदर्शन मिश्र बसेका छन् । युलेन्स एजुकेशन फाउण्डेशनको बोर्डमा अर्थशास्त्री डा. विश्व पौडेलसमेत छन् ।

टिप्पणीहरू