शिक्षामन्त्रीलाई पदमा बस्न लाज लाग्दैन ?
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लाखौं नेपाली विद्यार्थीको भविष्य बर्बाद र डाँमाडोल पारेका छन् । मन्त्री पोखरेलको अदुरदर्शी, अव्यावहारिक, अवैज्ञानिक, अपरिपक्व तथा गाईजात्रे निर्णयले समग्र शिक्षा क्षेत्र नै तहस–नहस र धराशयी बन्दै छ । ०७६ साल चैत ६ गतेदेखि शुरु हुने एसईई बीचैमा रोकिएको छ । घट्टमा घान हालिसकेको खाद्यान्न पिन्न रोकेजस्तो गरी एसईई राकियो ।
कोरोनाको सन्त्रास भन्दै परीक्षा रोकेर विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय मात्र होइन समग्र शैक्षिक क्षेत्र र जगत् नै ध्वस्त बनाउने काम भयो । प्रश्नपत्र केन्द्रमा पुगिसकेको, सुरक्षाकर्मी तोकिएर गइसकेको र सम्पूर्ण तयारी भइसकेको अवस्थामा आवश्यक सामान्य सुरक्षा अपनाएर परीक्षा सञ्चालन गर्दा त्यतिबेला कुनै बाधा थिएन । तर, राज्य र सरकारले जनतालाई के–केन गरेको देखाउन शिक्षामन्त्रीले परीक्षा रोके । त्यस्तो अवस्थामा सरकारले कुनै हालतमा परीक्षा रोक्नै हुन्थेन । प्रधानमन्त्री र मन्त्रिपरिषद्मा उनको प्रस्ताव पास नभई परीक्षा हुने अवस्था बन्न नसकेको भए उनले नैतिकताको आधारमा त्यतिवेलै राजीनामा दिने साहस देखाउन सक्नुपथ्र्याे ।
होइन भने यसको सम्पूर्ण जिम्मेवारी शिक्षामन्त्रीले लिनु पर्दैन ? लकडाउनकै अवस्थामा ०७७ वैशाख ८ गतेदेखि हुने तय भएको कक्षा १२ को अन्तिम परीक्षा पनि रोकिएकै छ । कक्षा ११ को परीक्षाको त तालिका नै सार्वजनिक भएको छैन । तालिका नै सार्वजनिक नभएको हकमा धेरै भन्नु परेन । तर, मूल सवाल भनेको करिब ५ लाख विद्यार्थी सहभागी हुने तथा राष्ट्रिय हिसाबले पनि धेरै महत्व तथा चासो दिइँदै आएको एसईईको परीक्षा रोक्नुपर्ने कारण त्यतिबेला थिएन । यसमा सरकार र शिक्षामन्त्री आज पनि अन्योलग्रस्त मानसिकतामा रही आएको देखिन्छ ।
अनेकथरी वक्तव्य र हावादारी सूचना
लाखौं विद्यार्थाी, अभिभावक, विद्यालय र समग्र शिक्षा क्षेत्रको प्रत्यक्ष चासो र सरोकार भएको एसईई को सम्बन्धमा शिक्षामन्त्रीले ०७६ चैत ११ गतेदेखि शुरु भएको लकडाउनको अवधिमै पटक–पटक हावादारी र अन्योलग्रस्त वक्तव्य दिएर सबैलाई भ्रमपूर्ण र त्रस्त बनाए र अझै बनाउँदै छन् । कहिले ०७७ वैशाख पहिलो साताबाट एसईई शुरु हुँदै छ, तयारी गरी बस्नु भनिदिने । कहिले वैशाख अन्तिम साताबाट परीक्षा सञ्चालन हँुँदै छ भनिदिने । कहिले परीक्षा नै नलिने हो कि भन्नेबारे पनि छलफल गरिँदै छ भन्ने । कहिले होइन कानुनबमोजिम पनि परीक्षा लिनुपर्छ, परीक्षा हुन्छ भन्ने ।
कहिले बजारमा आएका भ्रममा नपरौं अब छिट्टै परीक्षा सञ्चालन गर्छाैं भन्दै वक्तव्य प्रकाशन गरिदिने । यो वाहियात तरिका भयो । शिक्षा क्षेत्रलाई खेलाँची गर्ने ? लाज लाग्दैन ? के ठानेको ? मानिसले र नेपाली नागरिकले शहर बजारमा होस वा गाउँमा खाएर वा नखाएर आफ्नो गाँस काटेर बालबालिकालाई स्कुल पठाएका हुन्छन् । एसईईसम्म पुग्न लगभग १५ वर्षको शैक्षिक लगानी भएको हुन्छ । अभिभावक, विद्यार्थी र शिक्षकले यसमा कत्रो लगानी र त्याग गरेका हुन्छन् । विशेष गरी अभिभावकले बालबालिकाको शिक्षाको अवस्था जान्ने भनेको एसईईमै हो । पहिले–पहिले एसएलसी भन्ने हुँदा पनि मानिसले कत्रो महत्व दिन्थे यसलाई । लाखौं मानिसको प्रत्यक्ष सरोकार रहेको यस्तो गम्भीर विषयमा खेलाँची गरिरहने ? कुनै हीनताबोध र सरम छैन शिक्षामन्त्रीज्यूलाई ? एउटा जिल्ला शिक्षा अधिकारीको जति पनि गम्भीरता शिक्षामन्त्रीमा देखिएन । एसईईको मात्र होइन समग्र शिक्षाको अवस्था कस्तो भइरहेको छ ? सोच्नुभएको छ ? आफ्नो पद, राजनीतिक हैसियत, निजी स्वार्थ मात्र हेर्ने हो ? कुनै सरम छैन तपाईं शिक्षामन्त्रीज्यू ? तपाईं र तपाईंको समूहको अकर्मण्यताको कारण आज शिक्षा क्षेत्र ध्वस्त र धराशयी बन्दै छ । के कोरोनालाई दोष दिएर उम्कन पाउनुहुन्छ ? अझै आफ्नो कन्दनी फुस्कँदा पनि वक्तव्यवाजी गरेर मात्रै बस्ने ?
शैक्षिक क्षेत्रको अस्तव्यस्ततालाई कोरोनाले ढाक्न खोज्ने ?
एसईईको अन्योलता छँदै छ । मन्त्रीको गैरजिम्मेवारी वक्तव्य आइरहन्छ । यस लेखकसँगको टेलिफोन सम्पर्कमा गत वैशाखमा मन्त्रीले परीक्षाको तालिका छिट्टै प्रकाशन हुने र शैक्षिक क्षेत्रको अन्योलता हटाउँदै जाने भनेका थिए । उलले त्यस यता पनि विभिन्न प्रकारका वक्तव्यवाजी गरिरहे र गरिरहेका छन् । अहिले पनि परीक्षा र पढाइ (कक्षा सञ्चालन) सम्बन्धमा विभिन्न विकल्पमा छलफल भइरहेको भन्दै आएका छन् । कहिले भर्चुअल कक्षा सञ्चालन गर्नु भन्ने । कहिले विद्यालयलाई भर्ना गर्न शुरु गर्नु भन्ने । कहिले अहिले भर्ना नगर्नु भन्ने । के हो यो ? त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयस्तरका विभिन्न पढाइको हालत त्योभन्दा गम्भीर छ । सेमेस्टर स्नातकोत्तर र सोभन्दा माथिका कक्षामा अनलाइनबाट कक्षा सञ्चालन भए पनि स्कुल र ११–१२ को तहमा त्यो सम्भावना देखिन्न । स्कुलको हकमा त त्यो सम्भावना नै देखिन्न ।
कक्षा कार्य गरेन भनेर बेन्चमाथि उभ्याएर लौरी लगाउनुपर्ने हाम्रो पढाइको संस्कृतिमा त्यसरी कसरी मूल्यांकन गर्न सकिएला सोचनीय विषय छ । सरकारी स्कुलको हकमा बेन्ची, कापी, कलम, किताब नै नभएका गाउँका कतिपय स्कुलमा अनलाइन कक्षा सञ्चालन गर्ने भन्ने कुरा आफैँमा हास्यास्पद होइन ? एफएमबाट कक्षा सञ्चालन भन्ने कुरा पनि सहज छैन । कोरोनाको बाध्यकारी अवस्था हो । सबैलाई थाहा छ, कोरोना मन्त्री वा सरकारले ल्याएको पनि होइन । त्यो हो तर नीति, योजना र कानुन कार्यान्वयन गर्ने अख्तियारी लिएर निर्णय गर्ने अधिकार बोकेर बसेका मन्त्री र मन्त्रालय आफैँ अन्योलग्रस्त, दुविधाग्रस्त र गैरजिम्मेवार बन्ने कुरा लाजमर्दाे हो ।
अब के गर्ने ?
कोरोना सधैँ रहने हुरा होइन । तर, कोरोना छिट्टै निर्मूल हुने पनि देखिएन । यस्तो अवस्थामा हामीले कोरोनाकै बीचमा वा कोरोनाको पनि सामना गर्ने र आफ्ना आवश्यकताका कुरा पनि गर्दै जानेनै हो । लकडाउनकै कुरामा पनि सरकारले वाहियात तरिकाले लकडाउन गरिरहेको छ । देशैभरि सोलोडोलो लकडाउन आवश्यक नै छैन र हुन्न । जिल्ला विशेष, स्थान विशेष, क्षेत्र विशेष, अवस्था र समय विशेष, अपरिहार्यता र घटना विशेष, पेशा र क्षेत्र विशेष आदिको आधारमा लकडाउन गर्नुपर्ने अवस्था छ । सबै ठाउँमा लकडाउन भनिदिने र आफू सिंहदरबार र पुल्चोकको मन्त्री निवासमा झण्डा हल्लाएर चुपचाप बसिदिने तरिका सोह्रैआना गलतै हो । यो तरिकाले कुनै पनि क्षेत्र चल्दैन । शिक्षा क्षेत्र र शैक्षिक क्षेत्रलाई खेलाँची मान्नु भएन । शिक्षा क्षेत्रलाई मन्त्रीले खेलाँची गर्ने र हप्तापिच्छे मनलागी सूचना, निर्देशन र वक्तव्य दिने गर्दा त्यसले झन् अन्योल ल्याइरहेको छ । यो खेलाँची गर्ने क्षेत्र होइन मन्त्रीज्यू । कोरोनाकै बीचमा पनि एसईई, कक्षा १२ लगायतको परीक्षा सञ्चालन गर्न सकिने गरी तयारी सहितको ठोस योजना चाहियो । आवश्यक स्वास्थ्य सुरक्षा र तयारी गर्ने प्रमुख कार्य कसको हो मन्त्रीज्यू ?
जनताले केका लागि कर तिरेका हुन् मन्त्रीज्यू ? केही समयअघि लकडाउनकै समयमा करदातालाई कुन मुखले कर तिर्नु नत्र जरिवाना हुन्छ भन्ने सूचना जारी गरेको थियो सरकारले मन्त्रीज्यू ? हो यसो भएकाले तोकिएका परीक्षाका लागि के कति स्वस्थ्य सुरक्षा चाहिने हो ? स्कुलले के–के गर्नुपर्ने हो ? अभिभावकले के–के सर्त पूरा गर्नुपर्ने हो भन्नुप¥यो । हामी अभिभावक गर्न तयार छौँ । तपाईंका सर्त मान्न तयार छौं । तर, परीक्षा सञ्चालन गर्नुको विकल्प छैन । परीक्षा नै नगरी ‘पास’ गरिदिने मोडेलमा तपाईंका योजना भए नेपालको शैक्षिक इतिहासमा यो भन्दा घटिया मन्त्री कोही हुनेछैन मन्त्रीज्यू । यस्तो हुन्न । परीक्षा लिनुको विकल्प छैन । कोरोनाको न्यूनीकरण, स्वास्थ्य चेकजाँच गर्ने, सुरक्षा अपनाउने, दूरी कायम राख्ने, उपचार पनि गर्ने र विस्तारै जनजीवन पनि सञ्चालन गर्दै अघि बढ्ने मोडेलबाट जानुपर्छ । जहाँसम्म एसईईजस्ता मुखैमा आएर रोकिएका परीक्षाको विषय छ, त्यो आवश्यक तयारी र सुरक्षा अपनाएर सञ्चालनको मिति तुरून्त तोक्नुपर्छ । होइन भने यस्ता निकम्मा र गैरजिम्मेवार मन्त्रीलाई हामीले तिरेको पैसाले पदमा पालिरहनुपर्ने कुनै कारण छैन । मुलुकको सिंगो शैक्षिक क्षेत्र र जगत्लाई तहस–नहस र ध्वस्त बनाएर पदमा बस्न कत्ति पनि लाज लाग्दैन मन्त्रिज्यू ?
टिप्पणीहरू