नबिलमा रंगिला डेपुटी सिईओ !

नबिलमा रंगिला डेपुटी सिईओ !

नबिल बैंकको आज दिउँसो बस्ने सञ्चालक समिति बैठकले सम्भवतः डेपुटी सिईओको नियुक्ती गर्दैछ । बैंकमा केही समयअघि सञ्चालकसमेत रहिसकेका उदयकृष्ण उपाध्यायलाई ‘ट्यालेण्ट हण्ट’ को जामा भिराएर डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्तीको तयारी रहेको उच्चस्रोतले बताएको छ ।

उपाध्याय २०७१ फागुनमा कुमारी बैंकको सिईओमा बहाल रहेकै अवस्थामा कोटेश्वरस्थित एउटा होटलबाट दिउँसै रंगेहात पक्राउ परेका थिए । कुमारीले हटाएपछि उनलाई नबिलले गतवर्ष सञ्चालकमा नियुक्त गरेको थियो । जनआस्था साप्ताहिकले उपाध्यायको नियुक्ती बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया), २०७३ मा तोकिएको सञ्चालकको आचरण र नैतिकता विपरित रहेको समाचार निरन्तर प्रकाशित गरेपछि उनलाई हटाउन नबिल बैंक बाध्य भएको थियो ।

अब डेपुटीको नियुक्ती लिन तम्सिएका उपाध्याय एकातिर कुमारीमा सिईओ र नबिलमा सञ्चालक रहिसकेका व्यक्ति हुन् ।

अर्कोतर्फ, खराब चरित्र र अनुशासनहीन गतिबिधिमा मुछिएको प्रमाणित भइसकेका छन् । तरपनि नबिल बैंकले ‘ट्यालेण्ट हण्ट’ को जामा भिराएर उनैलाई डेपुटी सीईओमा नियुक्त गर्न खोज्नु थप रहस्यमय देखिन्छ । सीईओ अनिलकेशरी शाहलाई पदमुक्त गर्न खोजिएको चर्चासँगै उपाध्यायको नियुक्ती तयारीले थप आशंका बढाएको बैंकका एकजना वरिष्ठ अधिकृतले बताएका छन् । राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी एकीकृत निर्देशन, २०७६ को संस्थागत सुशासन अन्तर्गत बुँदा नं. १७ को ‘इजाजतपत्रप्राप्त संस्थाहरूले उत्कृष्ट कर्मचारी छनौट (ट्यालेण्ट हण्ट) प्रक्रियाबाट कर्मचारी भर्ना गर्नुपर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुनेगरी अलग्गै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्ने व्यवस्था गर्नुपर्ने’ व्यवस्थामा टेकेर उपाध्यायको नियुक्ती हुन लागेको बताइएको छ ।

समकालीन बैंकरहरू उपाध्यायसँग ‘महिलाप्रतिको आशक्ति’ बाहेक खासै विशेषज्ञता र दक्षता नरहेको बताउँछन् । तरपनि बैंकका प्रमुख लगानीकर्ता तथा चौधरी ग्रुपका मालिक विनोद चौधरीको ठाडो आदेशमा नै यसअघि सञ्चालकमा झैं अहिले डेपुटी सीईओमा नियुक्ती हुन लागेको स्रोतको दाबी छ ।

महिला सञ्चालकमा दौड

बाफिया विपरितको क्रियाकलापमा संलग्न भएको आरोपमा ईला शर्माले राजिनामा दिएपछि रिक्त रहेको बैंक सञ्चालकमा नियुक्तीको लागि इच्छुकहरूले लबिङ्ग शुरु गरेका छन् । ईलाको राजीनामा लगत्तै महिला सञ्चालकको निम्ति चाहना राख्नेहरूले सीईओ शाहदेखि मालिक चौधरीलाई समेत गुहार्न थालेका छन् । त्यसअघि ईला संवैधानिक निर्वाचन आयोगकी सदस्य थिइन् ।

टिप्पणीहरू