प्रचण्डको क्षेत्रमा पूर्व पञ्चहरुबीच पेलपाल

प्रचण्डको क्षेत्रमा पूर्व पञ्चहरुबीच पेलपाल

एमालेको साथ लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराउन कस्सिएका राप्रपा उपाध्यक्ष विक्रम पाण्डे आफ्नै पार्टीभित्रै अप्ठेरोमा परेका छन् । टिकटको निम्ति भएको मारामारपछि राप्रपा चितवनमा उत्पन्न चरम विवाद बढ्दै जाँदा दुई पक्षबीच मुठभेडसम्मको अवस्था देखिएकाले कहलिएका ठेकेदार पाण्डे चरम संकटमा परेका हुन् ।

विधि, प्रक्रिया र पद्धति मिचेर एकलौटी रुपमा पार्टी सञ्चालन गरेको तथा आफ्नो कम्पनीमा कार्यरत कर्मचारी र निकटका व्यक्तिलाई काखी च्यापेको आरोप पाण्डेमाथि विगतदेखि नै लाग्दै आएको छ । आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिसको प्रक्रिया शुरु भएसँगै कलह थप चर्किएको हो । यतिबेला पाण्डे र इतर खेमाबीच चितवनमा दोहोरी चलिरहेको छ । दुवै पक्षले विज्ञप्ति मार्फत् एकले अर्कालाई अवैधानिक करार गरिरहेका छन् । जसका कारण पार्टीमा सर्वसम्मत बनेर केपी ओलीको समर्थनले माननीयको लोगो झुण्ड्याई छाड्ने पाण्डेको योजना भताभुङ्ग हुने अवस्था बनेको बताइन्छ ।

गत आमनिर्वाचनमा आफूनिकट कर्मचारी रिना गुरुङलाई प्रदेशसभाको समानुपातिकबाट सांसद सिफारिस गराएको आरोप लागेपछि ‘ठेकेदार नेता’ पाण्डे चर्को आलोचनाको केन्द्रमा परेका थिए । भर्खरै सम्पन्न स्थानीय निर्वाचनपछि भने उनी क्रमबद्ध रुपमा घेराबन्दीमा पर्न थालेका हुन् । परिणामतः निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने मिति नजिकिँदै जाँदासमेत चितवनको विवादकै कारण राप्रपाले यससम्बन्धी प्रक्रिया अगाडि बढाउन नसकेको स्रोतले बतायो ।

जसअनुसार पाण्डे आफ्नो जीउ, हजुरी नगर्नेलाई उम्मेदवार बन्न नदिन सबैतिरबाट बल लगाइरहेका देखिन्छन् । विरोधी खेमा पनि भएभरको शक्ति लगाएर पाण्डेलाई रोक्ने रणनीतिमा लागेको छ । विवादको चुरो पनि यहि हो भन्न थालिएको छ । प्रचण्डलाई पराजित गराउने एमालेको योजनासँगै एक पटक सांसदको लोगो लगाएर संसद भवन छिर्ने पाण्डेको चाहनाको बाधक राप्रपा स्वयम् बन्ने स्थिति बनेको चितवनको राजनीतिलाई नजिकबाट बुझ्नेहरू बताउँछन् ।

पर्सि १ गते चितवनबाट केन्द्रीय सदस्यसहित सय जना बिक्रम पाण्डेविरुद्ध नाराबाजी गर्न काठमाडौँ आउन लागेको राप्रपाका एक जिल्ला नेताले बताए ।

चितवनमा राप्रपाको आन्तरिक कलह कुन हदसम्म पुगेको छ भन्ने कुरा यसबीच सार्वजनिक केही प्रमाणले पनि स्वतः पुष्टि गरेको छ । एकले अर्कालाई रोक्न गरिएका वक्तव्यबाजी यसका प्रमाण हुन् । विरोधी खेमालाई रोक्ने सिलसिलामा पाण्डे निकटले पार्टी विधानविपरित उम्मेदवार सिफारिसको निर्णय गरेको अर्को पक्षको आरोप छ । तर, पटक–पटक चुनाव लडिसकेका, पार्टीको केन्द्रीय उपाध्यक्ष रहेका र आर्थिक हिसाबलेसमेत सम्पन्न पाण्डेलाई त्यस्ता आरोपले नछुने भएपछि उनको समूहसमेत पेलेरै जाने रणनीतिअनुरुप वक्तव्यबाजीमा लागेको हो ।

दुई पक्षीय कलह चितवन–३ मा मात्र होइन अरु दुई वटा क्षेत्रमा पनि उस्तै छ । चितवनको पूर्वी क्षेत्र– राप्ती, खैरहनी र रत्ननगर नगरपालिका समेटिएको १ नम्बर काँग्रेस र एमालेको पकड क्षेत्र मानिन्छ । त्यहाँ पाण्डेनिकट माधव भट्टराई राप्रपाको नेता कहलिएका छन् । त्यहाँबाट प्रतिनिधिसभामा उनको दाबी छ । आफ्नो ‘एस म्यान’ भएकाले पाण्डे पनि उनलाई नै टिकट दिलाउने प्रयासमा छन् ।

तर, उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय बैठकले भने पुराना नेता विजयेन्द्रराज पाठकको नाम एकल सिफारिस गरी माथिल्लो कमिटीमा पठाइएको बताइन्छ । सर्वसम्मत सिफारिस भएका र बौद्धिक नेताको रुपमा स्थानीयमाझ परिचित भनिएका पाठकलाई जसरी पनि रोक्ने योजनामा पाण्डे समूह लागेपछि त्यहाँ अन्तरकलह बढेको स्थानीय नेता–कार्यकर्ताको आरोप छ ।

सबैभन्दा बढी विवाद २ नम्बर २ क्षेत्रमा देखिएको छ । त्यहाँ दोहोरो मुठभेडसम्मको अवस्था बनेको बताइन्छ । राप्रपाको विधानबमोजिम प्रदेश निर्वाचन क्षेत्रीय समितिले प्रदेशसभा सदस्यका लागि र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले सिफारिस गरी क्षेत्रीय अध्यक्षमार्फत् पठाउने व्यवस्था छ । चितवन–२ मा केन्द्रीय सदस्य सीमा घतान विश्वकर्माको प्रभाव क्षेत्र भन्ने गरिन्छ । उनको दावी प्रदेशसभा ‘ख’ बाट समानुपातिकतर्फ थियो । तर, पाण्डेले आफू निकट उनै गुरुङकै अनुरोधमा घतानलाई रोक्नका लागि अनेक हतकण्डा अपनाएपछि विवाद बढेको स्रोत बताउँछ ।

घतानलाई रोक्न पाण्डेले आफ्नो क्षेत्रको प्रदेश सभा ‘ख’ को बैठक बस्नसमेत नदिएको आरोप लागेको छ । यी सबै कामका लागि पर्दा पछाडिबाट पाण्डेले जिल्ला अध्यक्ष रुद्र ढकाल र रिनालाई प्रयोग गरेको असन्तुष्टहरुको आरोप छ । पाण्डेको ठाडो निर्देशनमा क्षेत्रको भेला, बैठक नै नबसी एकलौटी रुपमा नामावली प्रकाशित गरेको र घतानको नाम काटिएको बताइन्छ । असन्तुष्ट पक्षले भने चलानी नम्बर र पत्र संख्या उल्लेख नगरी अवैधानिक छाप प्रयोग गरेर नाम सार्वजनिक गरिएको भन्दै त्यसलाई स्वीकार नगर्ने चेतावनी दिएका छन् ।

‘गलत छाप, अवैधानिक पत्र र अनधिकृत व्यक्तिको नामलाई मान्दैनौं’ भन्दै उक्त क्षेत्रका अध्यक्ष तिलक गुरुङले सम्पूर्ण कागजातसहित पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उजुरीसमेत हालेका छन् । त्यस्तै, अवैधानिक पत्र काटेको भन्दै संगीता थापा मगर र आशबहादुर (थर नखुलेको) को नाममा २४ घण्टे स्पष्टीकरण सोधिएको छ । आधिकारिक स्रोतका अनुसार समयमा जवाफ नआएपछि उनीहरुलाई कीर्ते कागजको मुद्दा लगाउनेसम्मको तयारी भइरहेको छ ।

यता, उम्मेदवार दाबी गरेका जेनिश कर्माचार्य, गीता विश्वकर्मा र लोकमाया न्यौपानेले पनि उक्त पत्र अवैधानिक रहेको वक्तव्यमा बताएका छन् । उनीहरुको उजुरी केन्द्र र प्रदेश कार्यालयसम्म पुगेको जानकारी दिइएको छ । राप्रपा बाग्मती प्रदेश कार्यसमितिका एक सदस्यका अनुसार उक्त व्यहोरामा दाखिला रहेको सबै पत्र र उजुरीहरु दर्ता भएको छ । केन्द्रीय सदस्य विश्वकर्माले पनि पार्टीमा एकलौटी गरेको भन्दै पाण्डे र रिनाविरुद्ध केन्द्रीय सचिवालयमा उजुरी पेश गरिसकेका छन् ।

यहि विवादका कारण क्षेत्र नम्बर २ मा पाण्डे र इतर गुटबाट छुट्टाछुट्टै उम्मेदवारी सिफारिस भएको बताइन्छ । दुबै पक्ष आफ्नो सिफारिस नै आधिकारिक भएको दाबीमा अडिग छन् ।

पाण्डेको आफ्नै निर्वाचन क्षेत्रमासमेत एकलौटी उम्मेदवार सिफारिस गरिएको आरोप छ । आवश्यक प्रक्रिया पूरा नगरी पाण्डेले आफ्नो निवासमा निश्चित व्यक्तिलाई राखेर मनोमानी ढंगले उम्मेदवारको नाम सिफारिस गरेको असन्तुष्टहरुले आरोप लगाउँदै आएका छन् ।

सामाजिक सञ्जालमा दोहोरो पत्र बाहिरिएसँगै थप जानकारी लिन खोज्दा पाण्डेनिकट दिपक थापा र पाण्डेविरुद्ध संघर्ष गरिरहेकी सीमा घतान विश्वकर्मासँग सम्पर्क हुन सकेन ।

स्मरणरहोस्, राप्रपामा चितवन–२ केन्द्रीय सदस्य सीमा घतान विश्वकर्माको प्रभाव क्षेत्र मान्छि । उनको दाबी प्रदेशसभा ‘ख’ बाट समानुपातिकतर्फ थियो । तर, पाण्डेले आफू निकट रिनाकै अनुरोधमा घतानलाई रोक्न अनेक हतकण्डा अपनाएपछि विवाद बढेको बताइन्छ ।

टिप्पणीहरू